अमेरिकाका नेपाली : को डेमोक्रेट्स, को रिपब्लिकन अनि को ट्रम्पकन ?

बाइडन-ह्यारिस क्याम्पेनर नेपाली मूलका अमेरिकी स्टेट डेलिगेट ह्यारी भण्डारी
बाइडन-ह्यारिस क्याम्पेनर नेपाली मूलका अमेरिकी स्टेट डेलिगेट ह्यारी भण्डारी

अमेरिकामा रहेका नेपाली पनि क्रमश: अमेरिकी हुदैछन्। यहाँ अमेरिकी हुनुको अर्थ बहुआयामिक छ। यद्यपि, यसको मूल आयाम भनेको अमेरिकी नागरिकता लिएर त्यसबाट प्राप्त अधिकार र कर्तव्यको पालना गर्नु नै हो। 

अमेरिकी नागरिकको सपथ खाएर फर्कदा नागरिकताको प्रमाणपत्रसँगै एउटा खाम पनि दिइन्छ। त्यसमा नयाँ अमेरिकी नागरिकका लागि सर्वथा महत्वपूर्ण ठानिएका चार सामग्री राखिएका हुन्छन्। पहिलो, 'स्टार्स एण्ड स्ट्राइप्स' भनिने अमेरिकी झण्डा, दोस्रो अमेरिकी नागरिकका रूपमा राष्ट्रपति हस्ताक्षरित स्वागतपत्र, तेस्रो, मतदाता नामावली दर्ता फाराम र चौथो  राहदानी आवेदन फाराम। त्यसमा राखिएका चारवटै सामग्रीको आआफ्नो अर्थ र महत्व हुन्छ। त्यसमा पनि मतदाता नामावली दर्ता फारामको विशेष अर्थ हुने मानिन्छ। त्यसको अर्थ हो, अमेरिकी नागरिक भएपछि मतदाताका रूपमा दर्ता भएर त्यसको संवैधानिक अभ्यास गर्नु। 

मतदाताको सबैभन्दा ठूलो अधिकार र कर्तव्य आवधिक निर्वाचनमा आफूलाई मन परेको दल र उम्मेद्वारलाई मतदान गरेर लोकतान्त्रिक राज्य व्यवस्थाको हिस्सेदारी लिनु हो। अमेरिकामा हरेक वर्ष केही न केही पदका लागि निर्वाचन भैरहे पनि हरेक चार वर्षमा हुने राष्ट्रपतिको निर्वाचन सर्वाधिक महत्वको हुन्छ। 

सन् २०१९ अमेरिकाका लागि एउटा त्यस्तै वर्ष हो। यो वर्ष नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन हुदैछ। यही दिन सिनेटर, कंग्रेसम्यान, गभर्नर, स्टेट डेलिगेटलगायतक थुप्रै सार्वजनिक पदको लागि पनि निर्वाचन हुन्छ। अमेरिकामा हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो सोमबारपछि आउने मंगलबार यो निर्वाचन हुने हो। यो वर्ष त्यो मंगलबार नोभेम्बर ३ मा परेको छ।

यो निर्वाचनमा हजारौको संख्यामा नेपाली मूलका अमेरिकीले पनि मतदान गर्दैछन्। यति नै संख्यामा अमेरिकी नेपाली मतदाता छन् र मतदान गर्नको संख्या यति छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन। तर, यति चाँहि भन्न सकिन्छ कि त्यो संख्या हजारौमा छ।

नेपालमा रहदा जे जसरी बाँडिए पनि अमेरिकी भएका नेपाली भने मुलत: दुई कित्तामा बाँडिएका छन्। या त उनीहरू डेमोक्रेट्स छन् या त रिपब्लिकन। यस बाहेक केही ग्रिन, लिबरल र लिबर्टियन पनि होलान्। अपवाद होला तर अमेरिकामै आएर पढेको बढेको पुस्ता भने राजनीतिको परिधि बाहिरै छ। 

संख्यामा कति कुन दलको समर्थक होलान्? यो प्रश्नको उत्तर अनुमानमै मात्र सिमीत छ। तर, अमेरिकामा देखिएको गतिविधिलाई हेर्दा कम्तिमा पनि त्यो अनुपात ४:१ होला जस्तो देखिन्छ। अर्थात् हरेक पाँच जना नेपालीमा चारजना डेमोक्रेट्स छन् भने एकजना रिपब्लिकन होला।

अब प्रश्न उठ्छ अमेरिकाका नेपालीको राजनीतिक ध्रुवीकरणको आधार के हो ? अर्थात् को डेमोक्रेट्स हुन्छ को रिपब्लिकन? अपवादलाई छोड्ने हो भने यसलाई भने लगभग सूत्रवद्ध गर्न सकिन्छ। 

को हुन्छ डेमोक्रेट्स?

अमेरिकाका सन्दर्भमा डेमोक्रेट भनेको प्रगतिशील पार्टी हो। यथास्थितिको विरोधी भएको अर्थमा सुधारवादी पार्टी अर्थात् वामपन्थी चरित्रको पार्टी हो पनि भन्न  सकिन्छ। मुद्दाको कुरा गर्दा यो पार्टी आप्रवासीमैत्री हुन्छ। वर्गीय कोणबाट हेर्दा यो मूलत: कामदार वर्गको पार्टी हो। यसले सामाजिक न्यायको मुद्दालाई सर्वथा महत्व दिन्छ। अमेरिकी राजनीतिका दुई अश्त्र गड र गनमा तुलनात्मक रूपमा कम विश्वास गर्छ। 

यिनै चरित्रका आधारमा नेपालबाट आएका अधिकांश नेपाली यही पार्टीका समर्थक हुन्छन्। अपवादलाई छोडेर वामपन्थी पृष्ठभूमिका नेपाली अमेरिकामा स्वत: डेमोक्रेट्स हुन्छन्। नेपालमा डेमोक्रेट्स भन्नाले कांग्रेस बुझिने भएकाले त्यही नामकै आधारमा कंग्रेस समर्थक पनि डेमोक्रेट्स भएका छन्। आप्रवासीमैत्री साझा मुद्दाका कारण अरू कुरा गौढ बनाएर पनि धेरै नेपाली डेमोक्रेट्स हुने हो ।

को हुन्छ रिपब्लिकन?

अमेरिकाको सन्दर्भमा रिपब्लिकन भनेको रूढीवादी पार्टी हो। यथास्थितिवादी चरित्रको यो पार्टी 'गड' र 'गन'मा विश्वास गर्छ। आप्रवासीविरोधी चरित्रको पार्टीमा श्वेत रङका मानिसको वाहुल्य हुन्छ। वर्गीय कोणबाट तुलनात्मक रूपमा धनी मानिस, काम लगाउने बर्गका मानिस यो पार्टी हो यो। 

कुनै समय अमेरिकामा रिपब्लिकन नेपाली भेटाउन गाह्रो थियो। तर, पछिल्ला केही वर्ष भने 'म रिपब्लिकन हुँ' भन्ने नेपाली गतिलै संख्यामा भेटिन थालिएको छ। सामान्यत: नेपालमा रहदा धार्मिक, रूढीवादी चरित्र बोकेका जो मूलत: एकदलीय तानाशाही व्यवस्थाका समर्थक थिए,  राजावादी थिए,  राजा भएको कांग्रेसको वकालत गर्थे,  कम्युनिष्टविरोधी थिए उनीहरू नै रिपब्लिकन भएका छन्। त्यसमा पनि अमेरिकी नागरिक भैसकेका, कामदारबाट आफू पनि काम गर्दै अरूलाई पनि काम लगाउने हैसियतमा उक्लिएका र आफू अमेरिकी भैसकियो अब अरू आप्रवासी नआउन् भन्ने सोच भएका नेपाली नै रिपब्लिकन कित्तामा पुगेका छन्। 

अमेरिकामा रहेका अधिकांश नेपाली अझैपनि डेमोक्रेट्स  नै छन्। तर, केही समययता रिपब्लिकन अझ त्यसमा पनि ट्रम्पकन नेपाली पनि भेटिन थालेका छन्। जसले नेपाललाई निपोल (स्तनको टुप्पा) भन्छ, उसकै समर्थन गर्नु कसरी 'सामान्य' होला र ?

नेपालीलाई रिपब्लिकन बनाउन वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको पनि अहम् भूमिका छ। उनको खासगरी आप्रवासीविरोधी अमेरिका फस्ट सोचले सिंगो अमेरिकालाई ठाडो चिरामा चिरेको छ। पछिल्लो समयमा यही मुद्दाका कारण पनि अमेरिकामा रहेका नेपाली रातो कित्तामा पुगेका छन्। त्यो रातो कित्ता भन्दा पनि ट्रम्पवादी कित्ता हो।

को भएको छ ट्रम्पकन ? 

नेपाली रिपब्लिकन हुने सामान्य कारण भेटिन्छ। तर, ट्रम्पवादी अर्थात् ट्रम्पकन हुनुको सामान्य कारण चाँहि भेट्न गाह्रो छ। उनको जुन चरित्र छ, त्यसलाई हेर्दा एउटा सामान्य नेपालीले उनको समर्थन गर्न सक्दैन। जस्तो कि, उनको आप्रवासीवविरोधी अडान, उनी आप्रवासीलाई चरम घृणा गर्छन्, जब नेपाली आफैंमा आप्रवासी हुन् भने उनीहरू कसरी यति आप्रवासीविरोधी मानिसको समर्थन गर्न सक्छन्। यसैगरी ट्रम्प नेपाल भन्न पनि चाहदैनन्, उनी नेपाललाई निपोल (स्तनको टुप्पा) भन्छन्, जब कुनै व्यक्तिले आफ्नो जन्मदेशको नाम पनि गलत उच्चारण गर्छ भने उसको समर्थन कसरी गर्न सकिन्छ?  उनमा अरूप्रति सम्मान गर्ने सभ्यता र संस्कार पटक्कै छैन । यस्तो चरित्र आम नेपाली चरित्र हैन। जब त्यो चरित्र नै नेपाली हैन भने सामान्य नेपालीले उनको समर्थन गर्ने कुरै हैन। 

यसैगरी उनी श्वेतप्रभुतावादी हुन्, अरू रङका मानिसलाई घृणा गर्छन् जबकि नेपालीको रङ सेतो हुदैन। यसको अर्थ नेपालीको छालाको रङ उनको लागि अमेरिकी रङ हैन। जब आफ्नो रङ नै उनको लागि अमेरिकी हुदैन भने एउटा सामान्य नेपाली कसरी ट्रम्पवादी हुन सक्छ?

तैपनि केही नेपाली ट्रम्पवादी अर्थात् ट्रम्पकन देखिएका छन्। उनीहरू ट्रम्पले जस्तै उनका विरोधमा आएका कुरालाई फेक भन्छन् र ट्रम्पलाई राष्ट्रपति हुन ईश्वरले पठाएको ठान्छन्। यस्तो ठान्नेहरू सिधै भन्छन्, ट्रम्पले अब आप्रवासी आउन दिदैनन्। हामी आइहाल्यौै, अब अरूलाई किन आउन दिने? यो सोचका नेपाली ट्रम्पकन नेपाली हुन्, उनीहरू ट्रम्पको समर्थन गर्छन्। अर्कोथरि नेपालमा रहदा उग्र कम्युनिष्टविरोधी रहेका पनि ट्रम्पकन भएका छन्। केही नेपाली कोभिड महामारीका बेला पाइएको स्टिमुलस चेक, बेरोजगार भत्तालागयतका सुविधा ट्रम्पले दिएको भनेर पनि उनको समर्थक बनेका छन्। 

मूलत: यिनै कारण हुन् ट्रम्पकन हुनुका। अपवादका रूपमा ट्रम्पकन हुनुका अरू केही थप कारण पनि होलान्। तर, २१औं शताव्दीमा कुनै विचारको पछि लाग्नु सामान्य हो तर व्यक्तिको पछि लाग्नु सामान्य कुरा हैन। यो पंक्तिकार वैचारिक हिसाबले अनि मुद्दाको आधारमा कोही नेपाली रिपब्लिकन हुनु सामान्य ठान्छ र त्यस्तो रोजाइको उच्च सम्मान पनि गर्छ। तर, विचार र मुद्दालाई गौढ ठानेर व्यक्तिको पछि लाग्ने सोचलाई सामान्य ठान्न सक्दैन। प्रश्न ट्रम्पमेनिया या ट्रम्पफोवियाको हैन।

अमेरिकामा रहेका नेपालीको वैचारिक कित्ताकाट स्वभाविक हो  र हुनु पनि पर्छ। अमेरिकी नागरिक भैसकेपछि सबै कोणबाट अमेरिकी हुने दिशामै लाग्नुपर्छ। यहाँ बसेर नेपालको राजनितिक कुवामा डुब्नुभन्दा अमेरिकाको राजनीतिक पोखरीमै पौडने अभ्यास गर्नु श्रेयस्कर हुन्छ। एउटा भनाइ छ, रोम पुगेपछि रोमन जस्तै गर्नुपर्छ। यसलाई अमेरिकी सन्दर्भमा भन्दा अमेरिकी भएपछि अमेरिकी जस्तै हुनुपर्छ। 

आगे यहाँहरूकै मर्जी ।

प्रकाशित मिति: : 2020-10-22 00:12:00
# अमेरिकामा राष्ट्रपति निर्वाचन

ट्रेन्डिङ