प्रकृतिलाई जोगाउन नसके विश्व महामारी युगतर्फ धकेलिने खतरा !

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

कोरोनाभाइरस संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको बेला यसको रोकथाम तथा नियन्त्रणका उपाय र खोप–औषधिहरुको खोजी तीब्र रुपमा भइरहेका छन् । त्यति मात्र हैन, जनावरबाट मानिसमा सर्न सक्ने भाइरसहरुका खतरा र त्यसले भविष्यमा निम्त्याउन सक्ने भयानक महामारीका सम्भावनाहरुका बारेमा पनि चिन्तन विमर्शहरु भइरहेका छन् । यसै मेसोमा जैविक विविधतामा मानिसले पुर्याएको क्षतिले कसरी विश्वलाई महामारी–युगको चपेटातिर धकेल्दैछ भन्नेबारे मन्थन गरी राष्ट्रसंघीय निकायले तयार पारेको यो रिपोर्ट पठनीय मात्र हैन, गहन रुपमा मननीय पनि छ ।

जैविक विविधतामा मानिसले पुर्‍याएको क्षतिले हामीलाई महामारी युगमा धकेलिरहेको छ । जस्तो, कोभिड १९ को संक्रमण गराउने भाइरस चमेरामा पाइने यस्तै भाइरसहरुसँग सम्बन्धित छ । सालक वा अन्य जीवप्रजातीमार्फत यो मानिसमा सरेको हुनसक्छ ।

वनजंगल फडानी, जलवायु परिवर्तन, तीव्र खेती र वन्यजन्तु व्यापारजस्ता वातावरणीय विनाशले मानिसलाई वन्यजन्तुसँग नजिकको सम्पर्कमा पुर्‍याइरहेको छ । वन्यजन्तुले जीवाणुहरु बोकेका हुन्छन् र उनीहरुको सम्पर्कमा पुग्दा मानिसमा यस्ता जीवाणु सर्नसक्छ ।

संयुक्त राष्ट्रसंघको इन्टरगभर्मेन्टल साइन्स–पोलिसी प्लेटफर्म अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेज (आईपिबीईएस) ले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार अहिलेसम्म पहिचानमा आइनसकेका अधिकतम ८ लाख ५० हजारसम्म भाइरसहरु स्तनधारी जीव र चराबाट मानिसमा सर्नसक्ने अनुमान गरिएको छ ।

आईपिबिईएसको सो रिपोर्ट अनुसार भविष्यमा निम्तनसक्ने महामारी रोक्नका लागि मानव समुदायले तत्कालै वातावरणसँगको आफ्नो सम्बन्धलाई रुपान्तरण गर्न जरुरी छ ।

प्रकाशित मिति: : 2020-11-02 09:06:00

प्रतिकृया दिनुहोस्