तिर्खाएको गाउँ: छिमेकी झगडा गर्छन्, अरु रमिते बन्छन्

कार्तिक १० गते दसैंको दिन टिकाको साइत आउनै लाग्दा तातोपानी गाउँपालिका २ जर्मी गाउँको धारामा हात हालाहालको स्थिति बन्यो। 

पानी भर्नेको लाइन लामो थियो। तर गाउँमा पानीको हाहाकार थियो। तिर्खाले सिंगो गाउँ काकाकुल थियो। 

प्यास मेटाउन सकेसम्म बलमिच्याई गर्न कोही पछि पर्दैनन् थियो। त्यही बीचमा कसैले पालो मिच्यो अनि सुरु भयो झगडा। हात हालाहाल।

खुसी बाँड्ने र हर्सउल्लासका साथ चाडबाड मनाउने दिन एक गाग्रो पानीका लागि विवाद भएपछि महिला–पुरुष एक अर्कोविरुद्ध झडपमा उत्रे। 

पानी भर्नेभन्दा झगडा हेर्ने रमितेहरु दोब्बर भए। आफ्नै छिमेकीहरु एकअर्काविरुद्ध खनिदा दसैंको लागि पाकेका मिठा परिकार पनि खल्ला भए। हौसिएका मनहरु खिन्न भए। 

गाउँमा पानी अभाव भएको हुँदा जर्मीमा हरेक दिनजसो एक–दुई जनाबीच भनाभन र हानाहान हुन्छ। 

दसैंको टीका सुक्न नपाउँदै कात्तिक १२ गते धारामा पानी भर्नकै लागि दुईजना बालबालिकाबीच झडप भयो। 

‘गाउँलेहरु पालो पुगाएर भनाभन गर्छन्। केही हानाहान गर्छन्। केही रमिते बन्छन्। तर तिर्खा मेटिन्जेल पानी पिउन पाउँदैनन्। पानी अभावले यो चक्र घुमाइरहेको छ,’ एक स्थानीयले बिएल नेपाली सेवासँग दुखेसो पोखे। 

बिहान बेलुका गरी दिनमा चार घन्टा मात्र धारामा पानी आउछ। धारो सानो आउने र त्यसको उपभोक्ता धेरै भएको हुनाले पानी भर्न आउनेहरु आलोपालो गर्छन्। अघिपछि आएको भन्दै पालोमा कुरा नमिल्दा झगडा हुन्छ। 

दसैंको दिन होस् कि अरु दिन गाउँलेलाई पानी चाहिन्छ। सकेसम्म चाँडो। जसले पानी होइन घरघरमा झगडा निम्त्याउँछ।

पानीका लागि झडप हात हालाहाल महिनाको ४–५ पटक भए पनि सामान्य भनाभन, गालीगलौज, तँतँ, मम भने हरेक दिनजसो हुने गरेको स्थानीय वीर बुढाले बिएल नेपाली सेवालाई बताए। 

‘घर नजिक सरकार आयो। गाउँकै मान्छे सरकार चलाउने भैगए। हाम्रा समस्या देखेपनि नदेखेजस्तो भयो,’ उनले भने, ‘अन्त गाउँमा घरघरमा धारा पुगे भन्ने सुन्दाछौं। तर हाम्रो गाउँमा हरेक दिन पानीका लागि लडाइँ हुन्छ भनी अरुलाई सुनाउनु पड्न्या भयो।’ 

‘ताबाडा, दमाईंबाडा र लर (लोहार, सुनार) बाडामा गरी एक धारो छ। एक गाग्रो पानी भरिन तीनदेखि पाँच मिनेट लाग्छ। एकैघरका ४–५ भाँडा (गाग्री) हुन्छन्। म अघि आएको, मअघि आएको भन्दै विवाद गर्दै हानाहानको स्थिति सृजना हुन्छ,’ स्थानीय दत्त बुढाले भने। 

करिब एक सय ६० भन्दा बढी घरधुरी रहेको जर्मी गाउँमा चारवटा मात्रै पानीका धारा छन्। हालकै पानीलाई छुट्याएर अर्को धारा निर्माण गर्ने र सीमित समयमा पानी छोड्नुको विकल्प नरहेको उनको भनाइ छ।

एक घर, एक धारा निर्माण गर्न नसके पनि वडा सरकारले जर्मी गाउँमा रहेका ६ वटा टोलमा ६ वटा धारा मात्रै निर्माण गरे पनि तत्कालका लागि समस्या समाधान हुने स्थानीयको सुझाव छ। तर स्थानीय सरकार भने केही गर्न सकिरहेको छैन।

स्थानीय सरकार खानेपानी, सडक, सञ्चार, विद्युत लगायतका क्षेत्रमा बढी ध्यान दिइरहेको उदाहरण प्रशस्तै हुँदा पनि जर्मी गाउँका लागि स्थानीय जनप्रतिनिधिका मुखमा हिउँदमा पानी जमेर बरफ बनेजस्तै भएको गाउँलेहरुको दुखेसो छ। 

तर, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने चालू आर्थिक वर्षभित्रै जर्मी गाउँलगायत २ नम्बर वडाका सबै घरमा पानी पुऱ्याउन लागिरहेको बताउँछन्।

‘स्थानीय सरकारको पहिलो वर्षमै एक करोड विनियोजन गरी घरघरमा धारा पुऱ्याउने लक्ष्य थियो,’ उनले भने ‘धौलिघाट बृहत् खानेपानी आयोजनाको पानी आएपछि डुब्लिकेसन हुन सक्ने भन्दै रोक्यौं। पानीको समस्या चुलिँदै गएपछि प्रदेश सरकारलाई माग गरेका छौं।’

चालू आर्थिक वर्षभित्रै जर्मी गाउँलगायत २ नम्बर वडामा एक घर एक धाराका लागि ३० लाख पहिलो चरणको बजेट आएको उनले थपे।

‘धेरै पटकको पहल पश्चात् प्रदेशबाट क्रमागत खानेपानी योजना परेको छ। चालू आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्न वडा सरकारसँग समन्वय गरी अघि बढ्ने छौं,’ उनले भने।

नेपालको संविधान २०७२ को धारा ३५ को स्वास्थ्य सम्बन्धि हकको उपधारा ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँको हक हुनेछ’ भनी लेखेको छ। तर, संविधानमा जेसुकै लेखिएको भए पनि जर्मीबासीहरु एक गाग्रो पानी नपाए बिरख्तिएका छन्। छिनछिनमा झगाडिएका छन्।

प्रकाशित मिति: : 2020-11-02 12:28:00

प्रतिकृया दिनुहोस्