शनिबार, १४ नोभेम्बर २०२६

मधेसले मालिक होइन, सेवक खोजेको छः रवि लामिछाने

बिएल संवाददाता

बिएल संवाददाता

जनकपुरधाम
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन्।

छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरूलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए। सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन्।

उनले सांसदहरूको जीवनशैलीमा परिवर्तन नभइ आफ्नो अमूल्य मत दिएका मतदाताहरूको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदहरुलाई सुझाव दिए। जनताको अपेक्षाअनुसार काम नगरे अर्को चुनावमा यही जनताले तह लगाउन बेर नलगाउने सभापति लामिछानेले बताए।

सभापति लामिछानेले चुनाव नजिकिएसंगै मधेस प्रदेशमा रास्वपाको टिकटका लागि अग्रिम उम्मेदवारी घोषणा गर्नेहरूको चर्चा हुन थालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

उनले कतिपय स्थानहरूबाट टिकट पक्का गराइदिने भन्दै आर्थिक लेनदेन समेत हुन थालेको भन्ने सुनेको बताए। सभापति लामिछानेले ती सबै टिकटको लोभ गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नेहरूको सपना साकार नहुने बताए।

उनले कसैलाई पनि टिकटको लागि पैसा लेनदेन नगर्न आग्रह गरे। कसैले टिकट दिने नाममा आर्थिक चलखेल गरेको सूचना पाए नजिकको प्रहरी चौकीमा गएर उजुरी दिन साभापति लामिछानेले आग्रह गरे। साथै उनले त्यस्तो जानकारी दिनेसमेतलाई रास्वपाले पुरस्कार दिने उद्घोष गरे।

सभापति लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरूमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरूको रास्वपाले सम्मान गर्ने र उनीहरूले खोजेको हक अधिकार रास्वपाले मधेसलाई दिने प्रतिबद्धता जाहेर गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!