‘महिलाले कमाण्ड सम्हाल्न सक्दैनन् भन्नेलाई सम्हालेर देखाउँछु’

सेतोपाटी

काठमाडाैं

दाङका तीन वटा प्रहरी चौकीमा महिला प्रहरी नेतृत्वमा पुगेका छन्।

दाङका प्रहरी चौकी नर्ती, सतबरिया र सर्रामा महिला प्रहरीलाई नेतृत्वमा खटाइएको हो।

नर्ती र सतबरियामा महिला नेतृत्वलाई ‘पब्लिक रेस्पोन्स’ राम्रो मिलेपछि सर्रा प्रहरी चौकीमा पनि महिला प्रहरीलाई नै नेतृत्व गर्न पठाइयो।

जिल्ला प्रहरी प्रमुख तथा एसपी गणेश चन्दले प्रहरीमा पनि महिला सशक्तिकरण गर्न भन्दै महिलालाई नेतृत्व प्रदान गर्ने नीति लिएको बताए।

‘अवसर पाए महिलाले नेतृत्व दिन सक्छन् भन्ने सन्देश दिन हामी चाहन्छौं,’ उनले भने, ‘महिला कमजोर छैनन् भन्न र उनीहरूको सशक्तिकारण गर्न आवश्यक छ।’

नर्तीमा ३५ वर्षीया शोभा गिरी र सतबरियामा ४० वर्षीया लक्ष्मी क्षत्रीले कमाण्ड गरिरहेका छन्। उनीहरू दुबै जना असई  हुन्।

जिल्लामा सबैभन्दा कान्छो उमेरकी महिलाले प्रहरी चौकीको नेतृत्व सम्हाल्ने अवसर भने सपना खड्काले पाएकी हुन्। उनी हप्ता दिनअघि सर्रा प्रहरी चौकीको नेतृत्व सम्हाल्न आइन्।

अचेल मोटरसाइकल चलाउन सिकिरहेकी छन्। सहर-बजारका कार्यालयमा भ्यान हुन्थे। उनले भ्यान चलाउन जानेकी छन्। गाउँघरका कच्ची सडकमा भने मोटरसाइकल बढी चल्छन्।

२४ वर्षीया खड्कालाई अब सर्रा प्रहरी पोष्टको क्षेत्राधिकारभित्र रहेका गाउँ टोलका सुरक्षा गर्नुछ। घोराहीको १६, ४, ५ र ७ नम्बर वडा सर्रा प्रहरीको मातहतमा छन्।

यी चार वडामध्ये अधिकांश गाउँ घरमा पर्छन्। सबै ठाउँमा मोटरबाटो छैन। चार पाङ्ग्रे पुग्न नसक्ने ठाउँमा दुई पाङ्ग्रेमात्रै चलाउन मिल्छ। प्रहरीलाई रात-दिन जतिबेला पनि त्यस्ता गाउँबस्तीमा गस्ती जानुपर्छ। त्यसैले, मोटरसाइकल सिकिरहेको उनले बताइन्।

प्रकाशित मिति: : 2020-11-11 16:58:00

प्रतिकृया दिनुहोस्