बालिका हत्या प्रकरण: घाइते सञ्जय न्याैपानेकाे मृत्यु भएपछि बर्दिवासमा निषेधाज्ञा

बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोधमा स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। 

मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने (सञ्जय)को मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो।

बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए।

बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको उनले बताए।

निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन्। तर पूर्व-पश्चिम राजमार्ग भने सुचारू रहने छ।

गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको थियो। 

घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो।

बालिकाको शव बर्दिवास १४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको थियो। 

बर्दिवास १४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको थियो।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको थियो। पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरीको भनाइ छ।

बालिका हत्यापछि अक्रोशित स्थानीयहरुले साहको घरमा आगजनीसमेत गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा बर्दिवास नगरपालिका १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका थिए। 

कम्मर मुनी गोली लागेर गम्भीर भएका न्यौपानेलाई बर्दिवासस्थित पिनाकल अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडौं ल्याइएको थियो।

उनको काठमाडौंस्थित ग्राण्डि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

उनको मृत्युले स्थानीयलाई थप आक्रोशित बनाएको छ। गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बिहानै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन्।

प्रकाशित मिति: : 2020-11-25 11:30:00

प्रतिकृया दिनुहोस्