अक्करमा ओली : न बहुमतकाे निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

शुरोजंग पाण्डे

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम लिएको छ । स्थायी कमिटीमा जानुअघि निर्णायक बैठकमा ओलीलाई पनि सहभागी गराउने प्रयासस्वरूप धैर्य गरिएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ । 

सचिवालयको बुधबारको बैठकमा ओली पक्षका मानिने महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पनि सहभागी थिए । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमै भएको बैठकमा ओली उपस्थित भएनन् । अब तीन दिनपछि बस्ने बैठकमा पनि उनी उपस्थित हुने–नहुने निश्चित छैन । 

वरिष्ठ नेता झलनाथ खनालले ओलीसँगै सम्बन्धित विषयमा छलफल गर्नुपर्ने भएका कारण उनकै उपस्थितिमा छलफल गर्नका लागि २० मंसिरमा सचिवालय र २१ मंसिरमा स्थायी कमिटी बैठक गर्ने निर्णय भएको जानकारी दिए । उनले ओली सहभागी नभए पनि निर्णय गर्न सकिन्छ भन्ने सन्देश बुधबारको बैठकमार्फत दिइएको बताए । ‘केपी ओलीले प्रस्तुत गरेको ३८ पेजको दस्ताबेज छ, अर्को १० पेजको चिठीसहित ४८ पेजको त उहाँकै कुरा छ । अरू पनि दस्ताबेज र चिठीपत्र छन् । सबै कुरा उहाँसँगै सम्बन्धित रहेकाले छलफल गर्न उहाँको उपस्थिति अनिवार्यजस्तै भयो । त्यसकारण उहाँ उपस्थित भएर नै बहस र छलफललाई अगाडि लानु राम्रो हुन्छ भन्ने हामी सबै निष्कर्षमा पुग्यौँ,’ खनालले नयाँ पत्रिकासँग भने, ‘जे–जे कारणले उपस्थित नभए पनि उहाँलाई उपस्थित गराउन कोसिस गरौँ, आउँदै आउनुभएन भने बेग्लै कुरा हो । त्यसका लागि २० गते १ बजे सचिवालय र २१ गते १ बजे स्थायी कमिटी बैठक गर्ने सर्वसम्मत निर्णय भएको हो ।’

ओलीले बैठकमा उपस्थित नहुने सन्देश दिएपछि के गर्ने भन्ने विषयमा प्रचण्ड–नेपाल समूहका नेताहरूले बुधबार बिहान खुमलटारमा अनौपचारिक छलफल गरेका थिए । बैठकमा प्रस्तुत भइसकेको प्रस्ताव फिर्ता नहुने विषयमा उनीहरूबीच मतैक्य छ । बरु, ओली र प्रचण्डको प्रस्तावको किनारा बैठकबाटै गर्ने उनीहरूको योजना छ । पार्टी अध्यक्ष ओली आफूसँग असहमतहरूको सरोकार सम्बोधन गर्ने मनोविज्ञानमा छैनन्, आफ्नो प्रस्ताव पारित गराउने सुविधामा छैनन् । त्यसैले नेकपा विवाद झन्झन् पेचिलो भएको छ । 

प्रकाशित मिति: : 2020-12-03 07:13:00

प्रतिकृया दिनुहोस्