पोथी गोर्खा

एक दिन म कलकता सहरको एउटा नाइट क्लबमा क्याब्रे डान्स हेर्न भनेर छिरेको थिँए। त्यहाँ अग्रिम बुकिङ्गद्वारा सुरक्षित गरिएको सिटमा पुगेर बसेको मात्र थिएँ, बत्ति अचानक अन्धकारजझैँ भयो र पश्चिमे संगीतको धुनमा एउटी केटी नाच्न थालि। 

उसलाई रंगीबिरंगी एक चहकिलो प्रकाशले छोपेको थियो। ऊ (डान्सर) नाच्दै जताजता पुग्थी उतैउतै पछ्याउथ्यो। 

यसरि झिलिमिली बतीको प्रकाशमा डुबेकी त्यो डान्सर नाइट क्लबको रोमान्चकारी वातावरणमा, सम्पूर्ण आकाश मण्डलमा चम्किरहेको पूर्ण चन्द्रझैँ राम्रोई देखिन्थी। 

आफ्नो देशमा विरलै देख्न पाइनेत्यस्तो डान्स देखेर म मक्ख परिरहेको थिएँ। आफू र आफ्नो देशलाई मात्र होइन, रात्भ्रिका लागि विश्राम गर्न आएका शहर, बास बसेको होटेल र भोलि बिहान घर फर्कनुपर्छ भन्ने कुरा पनि सबैले भुलेको थिएँ। 

यसरी एक चित्त भई तनमन उनलाई दिएर लट्ठ परिरहेको बेला त्यो डान्सर नाच्दैनाच्दै मेरो अगाडी आइपुगी। मेरो शिरको नेपाली टोपी झिकेर आफूले लगाई। त्यसपछि बान्की परेका अङ्गप्रत्यङ्गहरू हल्लाउदै मडारिदै मेरो अगाडी नाच्न थाली। 

रोमान्सवद्द युवायुवतीहरूले खचाखच भएको त्यस नाइट क्लबको महफिलमा डान्सरले यसरी महत्व दिई कदर गरिदिएकोले म मनमनै आफूलाई एक विशिष्ट व्यक्ति ठानेर हर्षले गजक्क फुलेको मात्र के थिएँ, त्यस त्यस डान्सरले मेरो टाउकोको टोपी लिएर अगाडी बढी र अलि परको टेबलमा पुगेर त्यहि भएकी एउटी अत्यन्त राम्री युवतीको शिरमा लगाइदिइ। 

युवती जन्ड खालकी रहिछे। डान्सरले शिरमा टोपी राखिदिनेबितिक्कै रिसले चुर भई। हतपत शिरको टोपी झिकी। भुइँमा पछारी र जुत्ताले कुल्चेर राखी। टोपीको त्यस्तो अवहेलना गरेको त्यो दृश्य देख्नेबितिक्कै मेरो रिसको पारो चढ्न थाल्यो।

जुरुक्क उठेर त्यो साँइदुवा केटीको जगलता समातेर लछारपछार पार्न के तम्सिएको मात्र थिँए-मेरो मनमा 'पोथी गोर्खा' को सम्झना एक्कासी उब्जिन पुग्यो। कतै त्यो केटी उही 'पोथी गोर्खा' त होइन? भन्ने लाग्यो र एकपछि अर्को पेग घुटक्याउदै डान्स खत्तम भएपछी बत्ति चहकिलो हुने दाउमा बसे।

पोथी गोर्खा यो जङ्गली जनावर वा पन्छी होइन, छिमेकी राष्ट्रको कुनै एउटा रन्डीकोठीको बन्धनमा परेकी केटी हो। रूपरङ र अङ्ग सबै अति राम्रो भएकी त्यो केटी (पोथी गोर्खा ) हिजोआज रन्डीकोठीबाट उम्केर ठूलाठूला नाइट क्लब र होटेलहरूमा देखा पर्न थालेकी छे रे। 

उसका अगाडी मै हूँ भन्ने गुन्डाहरू पनि नेपाली टोपी लगाएर सामुन्ने पर्ने हिम्मत गर्न सक्दैनन् रे। मानमिजासदेखि पैसा र टठले समेत काबुमा ल्याउन नसकिने त्यो केटी रिसाएको बखत जस्तै मर्द हूँ भन्नेलाई समेत नामर्द तुल्याईदिन्छे रे। 

हाउभाउ कटाक्षले हैन बल र दाउले समेत चित्त बनाईदिन्छे रे। आफ्नो मनोरथ नपुगेसम्म झम्टीझम्टी जाइलागिकन सामुन्ने पर्ने नेपाली टोपी खोसेर च्यातच्युत पारी फालेपछि मात्र शान्त हुन्छ रे।

नेपाली टोपीको अनादर गर्ने र राष्ट्रियतामा समेत आँच आउने खालको उसको त्यस्तो अनुचित एवं अपराधपूर्ण दुष्कार्यबारे काठमाडौँमा मेरा एक जना मित्रले सुनाएदेखि नै त्यस पाखण्डीनीलाई भेटेर राष्ट्रियताको पाठ राम्रोसंग पढाउने- सिकाउने मेरो मनको धोको थियो, प्रतिज्ञा नै थियो। 

त्यसैले आइपर्ने जस्तोसुकै आपत्तिको पनि सामना गर्ने दृढसंल्प गरी, डान्स खत्तम हुनेबितिक्कै जब बती चहकिलो भएको थियो, आफ्नो टोपी लिन म त्यस युवतीको अगाडी पुगेर उभिए। युवती त मलाई देखेर छक्क परि र मेरो अनुहारलाई धेरैबेरसम्म नियालेर हेर्न थाली। त्यसपछि उसले जुत्तमुनीबाट टोपी हातमा लिई। 

धूलो टकटकाई। मेचबाट उठी र आफ्नै हातले मेरो शिरमा टोपी लगाईदिंदै शुद्द नेपाली भाषामा भनी,-क्या हो तामदाने हाजुर ! चिन्यों मलाई ? म तिम्रो निधारको यो खतभित्र हराएको आफ्नै बगैचाको एक फूललाई ?'उसका शब्दहरू प्रश्नहरू वाक्य भनू वा बोली- त्यो मेरो कानमा पर्ने बितिक्कै अङ्गका नसानसामा रगतका छालहरू उर्लेर सम्झनाको दैलो घचघच्याउन थाले। 

हृदयमा एउटा पुरानो घटनाको नौलो र मिठो छिरेर तुरन्त हामी दुवैलाई कलिलो उमेरका बनाएर काठमाडौंको आफ्नो घरमा पुर्याइदियो। 

त्यस दिन घरमा केहि अरू केहि थिएन। कोठामा बिछयौना खालि छदाछदै पनि हामी चाही थोत्र मालसामानले भरिएका बुइगलमा पुगेका थियौं। त्यस दिन त्यहि झुन्ड्याईराखेको तामदानको खुट्टामा ठोक्किएर मेरो निधारमा ठुलो घाउ भएको थियो। 

त्यस घटनालाई ढाकछोप गरी हामी दुवैले गोप्य राख्न सफल भएका थियौं। कहिलेकाही गिज्जिएको बखत जिस्काउनुपर्दा मात्र अरू कसैले नसुन्ने गरी मलाई 'तामदाने हजुर' भन्ने गर्थी र आफै लाजले भुतुक्क हुन्थी। 

आज यतिका वर्षपछी त्यहि गोप्य सम्बोधन सुन्नेबितिक्कै आफ्नो बगैचेकी छोरी सिर्जनालाई मैले चिनिहाले। अनि वातावरणको ख्यालै नगरी उही बुइगलमा जस्तै उसलाई अङ्गकमालभित्र लुकाईहाले। 

यसरी कतिन्जेल हामीले समय बितायौं- थाहै भएन। 'लौ हेर, यो मोरी लाज नभएकी पोथी गोर्खा त अब टोपीको जालमा परी' भनेर कसैले भनेको सुनेपछि बल्ल हामी वास्तविकतातिर झर्यौं। 

अघि डान्स देखाउने केटी सिर्जनाकी साथी रहिछ। ऊ हाम्रो चाला देखेर छक्क परेर हास्दै थिई। सिर्जनाले ऊसंग मेरो परिचय गराएपछि हामी संगै बसेर गफ गर्न थाल्यौं। केहिबेर घरायसी कुराहरू गरेपछि कुरैकुराको सिलसिलमा कसरी उसको नाम 'पोथी गोर्खा' भयो औं किन ऊ नेपाली टोपीको त्यस्ती बैरी हुन पुगी भन्ने कुरा कोट्याउदा उसले अभिव्यत गरी -हेर, जब म रन्डीकोठीको बन्धनमा थिँए-सधै कल्पना गर्थे- एक न एक दिन आफ्नो देशको कुनै दाजुभाइ वा दिदीबैनी आएर, मलाई मात्र हैन, म जस्तो बन्धनमा परेका अरू धेरै अभागिनीहरूलाई समेत यस बन्धनबाट मुक्ति दिलाउनेछन्, छुटाएर घर फर्काउनेछन्।

 यहि विश्वास लिई त्यो दिन कुर्दाकुर्दै हैरान भएपछी मेरो मष्तिकबाट बीर नेपालीका बीर रूपहरू धमाधम लोप हुन थालेछन्। नेपाली नारीको नेपाली भनेर प्रष्ट पारिदिने कुनै खास वस्त्र नभएकोले र नेपाल र नेपाली भनेर जनाउने नेपाली टोपीचाही सदा आँखैमा टासिएर ब्रह्माण्ड खलबलाउन थाल्यो। 

त्यसपछि किन हो किन टोपी देख्यो की ज्यानको बाजी लगाएर भएपनि त्यसलाई खोसेर च्यातच्युत पारि फालिदिने मेरो आदत भयो-बानी भयो। मेरो यस कारबाहीलाई तिमी राष्ट्र र राष्ट्रियताको अवहेलना गरेको भन्ने ठानौला, त्यसो होइन। 

म एक अशिक्षित अबला भए पनि मलाई आफ्नो राष्ट्र, राष्ट्रियता र राष्ट्रिय विभूतिहरूको माया छ। माया गर्ने हक छ, अधिकार छ। हो, यसैकारण नै मेरो मस्तिष्कमा टोपी खोस्ने कुराको बिजारोपण भएको हो मलाई -बुझ्यौं ? त्यहाँ नेपालमा टोपीभित्र लुकाईराख्ने राष्ट्रियता होइन। 

यहाँ विदेशमा नेपाल र नेपालीको इज्जत र गौरव बढाउने, टोपीबाहेकै पनि प्रष्ट देखिने खालको राष्ट्रियता चाहिएको छ। खै त्यो कहाँ छ ?कोसँग छ ? मैले आजसम्म भेटेको देखेको छैन्।

हेर, टोपी भनेको मर्दले लगाउने चिज हो। उनीहरूको माथमा परेपछि राष्ट्रियता खुल्छ, सुहाउछ पनि।

आफ्नो देशको नागरिक दिदीबैनीहरूलाई जालमा जालमा फसाएर विदेशका रन्डीकोठीमा थुपार्ने वा थुपारेको जानेर पनि बुझेर पनि बुझ पचाई बस्नेहरू चाहे ती विद्यार्थी होऊन, नेता, युवक वा बूढापाकाहरू होऊन, ती मार्द होइन् -नामर्द हुन्।

त्यस्ता नामर्दहरूले त्यहाँ नेपालमा टोपी ढल्काउदैमा-यहाँ विदेशमा जनावरझैँ खुल्लमखुल्ला बिक्रि भैरहेको नेपाली महिलाहरूको घुइचो छोपिन्न। देशको यस्तो बेइज्जती भ्येक्को लुक्दैन। म सदा त्यस्ता व्यक्तिहरूले पहिरेको टोपीको मात्र बैरी बन्छु जसको शिरमा टोपी ढल्किएको त हुन्छ तर व्यवहारमा राष्ट्रियता हुँदैन।

हेर, तिमि नेपालमा बस्नेहरू अति भाग्यमानी छौं। दिलमा जतिसुकै कालो मैलो भए पनि टोपी वा दौरासुरुवाल लगाएर रस्त्रिय्ताको प्रदर्शन गर्न सक्छौं राष्ट्रवादी देखिन सक्छौं। यो कुनै ठूलो कुरा होइन। लुगबता राष्ट्रियता देखाउन अति सजिलो हुन्छ। 

तर काम र कर्तव्यबाट त्यो देखाउन मुस्किल हुन्छ। हेर हामीलाई यहाँ विदेशमा खुलेको हिमालझैँ छर्लङ्ग भएर ग्राहकलाई रिझाएर पल्काउनुपर्ने हुन्छ। अनेक यातना खेपेर्प्नी मिठो बोलीबचन, सभ्य व्यवहार इमान्दारीपनाका साथै मुहारमा मुस्कान ल्याउन सक्ने क्षमता इत्यादी कुराहरूको प्रयोगद्वारा हामी आफ्नो राष्ट्रियताको परिचय दिंदै रन्डीकोठीमै भए पनि नेपालको गौरव बढाउने काम गर्न पछि परेका छैनौं , पर्दैनौं पनि। 

विदेशीहरूको मुठीभित्र परेकाले हामी आफैलाई रूचि नभए पनि हाम्रो यस्तो स्वभाव हाम्रा ग्राहकहरू भने झन् पराउछन् -'फिमेल गोर्खा ' भनेर माया गर्छन्। 

इज्जत गर्छन्। देशभक्त नेपालीहरू कसैलाई पनि मन नपर्ने, उनीहरूका लागि एक कलङ्गकित घृणित पेसा जबर्जस्ती लिनुपर्ने, आफ्नो कमाईले आफू वा आफ्नो देशलाई होइन विदेशीलाई पोस्नुपर्ने र बन्द कोठाको सिमानाभित्र आफ्नो शरीर पराईलाई सुम्पेर आत्मा नेपाललाई चढाउनुपर्नेले आफूलाई 'फिमेल गोर्खा' भनेर तर्फ गरेको सुन्दा त्यो तारिफ नभई एउटा तल्लो तःक्को निच गालीमा अनुवाद भएको बुझ्दाबुझ्दै पनि, जान्दाजान्दै पनि मुख खोलेर म विरोध गर्न सक्दिन। यसैले मुहारमा हाँसो ल्याए पनि मनमा म पिरोलिन्छु-विवशताको ज्वालाले पिल्सिएर। 

तामदाने हजुर !फुसत छ भने रुक यहाँ केहि दिन। म डुलाउछु यस देशका रन्डीकोठीहरू। सुनिदेऊ उनीहरूका आत्मकहानीहरू। बुझिदेऊ उनीहरूको दर्दमय व्यथाहरू। बनू अनेकौं पुस्तकहरू। तर कोकशास्त्रको होइन तमाम देशभक्तहरूका लागि शोकशास्त्रका अनेकौं अनेकौं किताबहरू बन्नेछन्। 

यस्ता पुस्तकहरूले त्यहाँ  नेपालमा एक विशाल पुस्तकालय टम्म भरिए पनि देशका नेताहरूको आँखामा  भने त्यो पर्देन होला। उनीहरूको हृदय छुने कुरा त पर्रे जावस। ठिक छ। नेपालका मर्दहरू त हाम्रो लागि नामर्दै साबित भए। 

खै महिलाहरूका सुसंगठित सङ्गठनहरू ! चन्द्रमाको वरपर ताराहरूझैँ ठूलाबडाको वरिपरि झुम्मिएर गरिब तथा अशिक्षित गाउँले महिलाहरूको प्रतिनिधित्व गर्न खोज्नेहरूले नेताहरूले झैँ अन्धा भएका, मौन भएका, कुजो बनेका किन ? किन ? किन ?

किन उनीहरू हाम्रो बारे आफ्नो सरकारलाई दबाब दिई यहाँको सरकारलाई अनुरोध गरी हामीलाई स्वतन्त्रता दिलाएर यस घृणित अमानवीय कार्यलाई निर्मूल पार्न नतम्सेको ? रन्डीकोठीको बन्धनबाट उम्केपछि मलाई यिनै कुराहरूको पिरले समाएर मानसिक कारागारमा फालिदिएको छु। जतिजति यस नारकीय बन्धनबाट उम्किने विचार गर्छु, उतिउति मानसिक पीडाले घाइते हुन्छु। 

यसले गर्दा मन सधै मरेको हुन्छ। तर कहिलेकाही बिउझिन्छु म जब नामर्दका शिरमा मर्दले लगाउने नेपाली टोपी देखा पर्छ। अब त बुझ्यौं होला प्रष्ट भयो होला। कसरी र किन मेरो नाम पोथी गोर्खा भयो र म टोपीको बैरी हुन् पुगे भन्ने कुरा। हेर ! 

जबसम्म हाम्रो र यस देशको बीच खुला सिमाना रहन्छ, हामी गरिब तथा अशिक्षित महिलाहरू यस खुला सिमानाको बन्धनमा पर्छौंपर्छौं। तामदाने हजुर ! 

तिमि राष्ट्रवादी हौं भने तोड खुल्ला सिमानाको बन्धन। यति काम गर्यौं भने- गर्ने कोसिस मात्र गर्यौं भने पनि तिम्रो शिरमा यो टोपी खुल्दछ। शोभा दिन्छ। अङ्गमा झुत्रो कछाड भए पनि मुहारमा राष्ट्रियता झल्कन्छ।

यति कुरा भनिसकेपछि अर्को नाइट क्लबमा पनि डान्स देखाउनुपर्ने भएकोले मलाई खुला सिमानाको चक्करमा फसाएर आफू बिदा भई -बेपत्ता भई।

आज उनीहरूसँग छुटिएर घर फर्केको पनि धेरै दिन भैसक्यो। जैले पनि टोपी लगाएर ऐनामा हेर्छु। मेरो शिरमाथि टोपी हैन कसैले कालो झन्डा तेस्याईदिएझैँ देख्छु। 

म एकाएक झस्कन पुग्दछु र झट्ट ऐनाबाट मुख हटाउछु। यो प्रकृया, ऐनमा कालो झन्डा देखिने कुरा अब रोगझैँ भैसक्यो। ज्यान भएसम्म सदा मलाई सताईरहला जस्तो छ। कारण, मैले खुला सिमानाको बन्धन तोड्ने कामको सुरुवात पनि अझै गर्न सकेको छैन्। सायद त्यसैले होला मेरो मुहारमा राष्ट्रियता नाझाल्केको, सधै कालो झन्डा मात्र ढल्केको।

प्रकाशित मिति: : 2020-12-05 15:12:00

प्रतिकृया दिनुहोस्