 
                                            
                                        
                                     
                                ईश्वरी राई (इशु)
 
                                मञ्जु श्रेष्ठ, १८। हालै उनले उच्च माध्यमिक तहको परीक्षा दिइन।
उनको उमेर समूहका प्रायः युवा–युवतीहरू यतिबेला परीक्षा दिएर आरामले घर बसेका छन्। तर, उनी बिहान एघार बजे काममा हिँड्छिन र बेलुका ४ बजे घर फर्किन्छिन्।
हाल उनी काठमाडौंको ‘माकलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ मा कार्यरत छिन्। उनले यहाँ भर्खरै होइन, २ वर्षदेखि काम गरिरहेकी छिन्।
शहरीया किशोर–किशोरीहरू १० कक्षाको अध्ययन पुरा गरेपछि बा–आमासँग मोटरसाइकलदेखि मोबाइलसम्मको माग गरिरहेका हुन्छन्। तर, उनले यति बेलादेखि नै आफ्नो खुट्टामा उभिने अभियान सुरु गरिसकेकी थिइन्।
अहिले उनी आफूलाई निर्भिक, स्वतन्त्र र आफ्नो कमाईंले परिवारलाई केही भरथेक गर्न सकेकोमा खुसी व्यक्त गर्छिन।
मञ्जुको घर गोकर्ण पार्कबाट २० मिनेट हिँडेपछि देशे गाउँमा पर्छ। यो नेवार गाउँ हो। बुवा धनबहादुर श्रेष्ठ र आमा रत्नदेवीको ४ सन्तानमध्ये उनी कान्छि छोरी हुन्। कान्छी छोरी त्यसै पनि घरपरिवारमा पुल्पुलिएका हुन्छन्। घरमा उनलाई खान, लगाउनको कुनै समस्या थिएन।
उनको काम खाली पढ्ने मात्र हो। २०७४ सालको चैत महिनामा स्थानीय सहयोगी उच्च माध्यमिक विधालयमा ‘सी’ को परीक्षा दिँएपछि उनको पनि कामगर्ने कुनै योजना थिएन।
तर, उनकी दिदी अस्मिताले एकपल्ट घरमा त्यति कै बसेको देखेर उनलाई खुब हपारिछिन्। अस्मिता आफैँ जागिरे। उनलाई कोही पनि खाली बसेको मन नपर्ने।
तर, दिदीको कुरा सुनेर पहिले त मञ्जु खुब हाँस्थिन्। १६ वर्षको उमेरमा कति नै बुद्धि हुन्छ र! उनी दिदीलाई भन्ने गर्थिन, ‘काम त ठूलो मान्छेले गर्ने होइन र? म आफूलाई निकै सानो सोच्थे।’
तर, केही दिनपछि गाउँका महिलाले पनि त्यति कै घरमा किन बसेको? अहिलेदेखि नै केही सीप सिक्नुपर्छ।
काम गर्नुपर्छ भन्न थालेपछि मञ्जुको धारणा पनि परिवर्तन हुन थाल्यो। उनले गाउँकै एउटा दिदीलाई भनेकी रहेछिन्–मैले केही गर्नसक्ने काम भए मिलाइदिनु ल! म आफ्नै खुट्टामा उभिन चाहन्छु।
‘नभन्दै ती दिदीले काम मिलाइदिनु भयो। चैतमा ‘सी’ को परीक्षा दिएको थिए। बैशाखमा काम लाग्यो,’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘मेरो काम सहकारीमा थियो। पैसा उठाउने।’
यसअघि कहिल्यै काम नगरेकी मञ्जुलाई पैसा उठाउन निकै गाह्रो भयो। फेरि उनको अरु जस्तै धेरै बोल्ने बानी थिएन।
सुरुमा त उनलाई काम गर्न सक्दिन कि भन्ने लागेको थियो। तर, अफिसमा पनि सबैभन्दा कान्छी भएको कारण उनले सिनियर कर्मचारीबाट खुब हौसला पाइन।
अफिसमा उनलाई स्नेह गर्नेको पनि कमि थिएन। यसले उनीभित्र काम गर्ने जोश बढ्दै गयो। बिस्तारै काम गर्ने शैली सिकिन्। पहिले बोल्न धक मान्ने मञ्जु अहिले गफ गर्न जान्ने भइन्। ‘मेरो महिनाको तलब ६ हजार थियो।
१५ दिनको तलब ३ हजार पाउँदा संसार जिते जस्तो लाग्यो,’ उनले फुरुङ्ग हुँदै भनिन्। अहिले उनी अध्ययनका साथै आफ्नो काममा परिपक्व भइसकेकी छिन्। उनको तलब पनि बढेर १० हजार पुगिसकेको छ। पछिल्लो समय उनले तलबबाट एक लाखभन्दा बढी रकम बचत गरिसकेकी छिन्।
उनी दिदीले दुई वर्षअघि दिएको सुझावका कारण आफ्नो सोचमा परिवर्तन आएको बताउँछिन्। उनले काम गरेको देखेर यतिबेला गाउँका अन्य महिला पनि उत्प्रेरित भएका छन्। देशे गाउँमा अहिले उनी धेरै घरको प्रेरणाको श्रोत भइसकेकी छिन्।
गाउँका घरपरिवारले बेरोजगार आफ्नो छोराछोरीलाई अर्ति उपदेश दिनुपर्यो भने उनको उपमा दिँदै भन्ने गर्छन, ‘हेर त मञ्जुलाई। काम पनि गर्छे। पढ्दै पनि छे।’
उनी समयमै रोजगारीमा लागेकोमा दंग छिन्। र, अरूलाई पनि समयमै सानोतिनो भएपनि काम गर्न सुझाव दिन्छिन्। उनले भविष्यमा के बन्ने अझैं निक्यौंल गर्न सकेकी छैनन्। तर, भन्छिन्, ‘बेरोजगार चै बस्नु नपरोस्।’
 
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया