क्लब छाड्ने असफल प्रयासकाे प्रभाव खेलमा पर्‍याे, अब ला लिगा जित्न चाहन्छु: मेसी

बिएल संवाददाता

काठमाडाै‌ं
Photo: Getty Images
Photo: Getty Images

बार्सिलोनाका कप्तान लियोनल मेसीले कल्ब छोड्ने आफ्नो असफल प्रयासले अहिलेको सिजन प्रदर्शनमा प्रभाव परेको दावी गरेका छन्।

मार्कासँगको अन्तर्वार्तामा उनले गएको अगस्टमा क्लब छोड्न चाहेपनि बाध्य भएर बस्नु परेकाेले त्यसकाे असर खेलमा परेकाे बताए। 

तर अहिले आफू ठीक अवस्था रहेपनि समरमा भने निकै खराब समय बिताएको उल्लेख गरेका छन्।

मेसीले यो सिजन बार्सिलोनाका लागि १७ खेलमा ९ गोल गरेका छन्। 

मेसीले यस सिजन गरेका सम्झनलायक गोलमध्ये ओसासुनाविरुद्ध गरेको गोल थियो। ४-० को जित हात पार्दा मेस्सीले चौथो गोल गरे र केही दिनअघि निधन भएका डिएगो अर्मान्डो म्याराडोना प्रति ट्रिबुट प्रदान गरे। 

मेसीले मैदानमा जर्सी फुकालेर म्याराडेना नेवेल्स ओल्ड ब्वाइजमा हुँदा लगाएको जर्सी देखाएका थिए।

‘यो धेरै विशेष दिन थियो मैले उनलाई सानो सम्मान व्यक्त गर्न पाएँ जुन मैले तयारी गरेको थिँए,’ मेस्सीले उक्त सेलेब्रेसनबारे भने, ‘त्यो दिन गोल गर्नु एकदमै राम्रो मेमोरी रह्यो र यो धेरै विशेष दिन बन्यो किनकि डिएगो अब हामीमाझ थिएनन्।’

उनले बिस्तारै कल्ब पुरानाे लयमा फर्किएकाे समेत बताएका छन्।

‘हामीले विस्तारै राम्रो गरिरहेका छौँ। हामीले लिगमा सुरुमा संघर्ष गर्‍यौँ। न त हामी त्यो सबै अंक गुमाउन लायक नै थियौँ। हामीले त्यसमध्ये धेरै खेल जित्न सक्थ्यौँ जस्तै अलाभेज गेटाफे र रियल मड्रिड…,’ मेसीले भने।

उनी यो सिजनको अन्त्यसँगै बार्सिलोना छोड्न स्वतन्त्र हुने छन्।

ला लिगा जित्न चाहन्छु

सर्वाधिक पीचीची अवार्ड जितेका मेसीले ला लिगा उपाधि जित्नेमै ध्यान केन्द्रीत रहेकाे बताएका छन्।  

टेल्मो जारालाई पछि पारदै मेसीले पीचीची अवार्ड कीर्तिमानी ७ पटक जितेका छन्। जाराले भने  यो अवार्ड ६ पटक जितेका छन्।

‘आठौं पीचीची मलाई थाहा छैन, न म यो सोचिरहेको छु,’ मेसीले अवार्ड प्राप्त गरेपछि मार्कासँग भने,‘म पीचीची अवार्ड पाउनभन्दा ला लिगा जित्न चाहन्छु। हामी त्यसैका लागि लडिरहेका छौँ।’

यस्तै मेसीले मैदान फ्यानविना खेल्नु राम्रो कुरा नभएको पनि बताए। उनले फ्यानविना जोसँग खेले पनि जित्न कठिन हुने बताए।

कोरोना महामारीले गर्दा फुटबलमा धेरै परिवर्तन भएको समेत उनले बताए।

प्रकाशित मिति: : 2020-12-22 12:19:00

प्रतिकृया दिनुहोस्