नयाँ सरकार गठन गर्ने प्रचण्डको अभिव्यक्तिमा कति दम, आधार के ?

लोकान्तर

काठमाडाैं

विघटित प्रतिनिधि सभाका सांसदको भेलाबाट आफूलाई नेकपा (प्रचण्ड–नेपाल पक्ष) को संसदीय दलको नेता चुनिएपछि अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले अलि अस्वाभाविक जस्तो अभिव्यक्ति दिए–राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर नयाँ चुनावको मिति घोषणा गरिसकेको चार दिनपछि नयाँ सरकार

गठनको पहल गर्ने प्रचण्डको यस्तो अभिव्यक्ति आयो, जुन दिन संसद विघटन विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न समेत अस्वीकार गरेको थियो ।
‘सबै राष्ट्रिय राजनीतिक दलहरु जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, ती सबैलाई एकता गर्नु इमान्दारीता पूर्वक सहकार्य गर्नु । त्यो एकताको बलमा प्रतिनिधि सभालाई जिवित तुल्याउनु र राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ,’ संसदीय दलको नेता चयन भएपछि प्रचण्डले भने ।प्रचण्डको अभिव्यक्तिप्रति स्वयम् उनी पक्षीय कार्यकर्ता अलमलमा परेका छन् भने केपी शर्मा ओली पक्षीय कार्यकर्ताले सामाजिक सञ्जालमा व्यंग्य शुरु गरेका छन् ।

ओली पक्षीय केन्द्रीय सदस्य महेश बस्नेतले २०६४ साल अगाडिको भित्ते राष्ट्रपति जस्तो फेसबुके प्रधानमन्त्री भएकोमा बधाई भनेर लेखेका छन् । सरसर्ती हेर्दा अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने कुनै आधार र संकेत देखिँदैन । तर दुइपटक देशको प्रधानमन्त्री बनिसकेको र कयौँ जनालाई प्रधानमन्त्री बनाएको दावी गर्ने प्रचण्डले किन यस्तो आधारहीन कुरा गरे ?

प्रकाशित मिति: : 2020-12-24 08:44:00

प्रतिकृया दिनुहोस्