बागेश्वरीको आइसोलेशन खाली

सांकेतिक तस्बिर

भरतपुर महानगरपालिका–१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कोरोना आइसोलेशन खाली भएको छ। 

कोरोना सङ्क्रमितको सङ्ख्या घटेपछि आइसोलेशन खाली भएको हो। 

 चिकित्सालयका कार्यकारी निर्देशक डा हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेशन रहेकाले थोरै सङ्ख्यामा सङ्क्रमित बस्न डराउछन्।

यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेशनमा बस्न गएसँगै चिकित्सालयको आइसोलेशन खाली भएको हो। उनले भने, 'आइसोलेशन बन्द गरेका छैनौं। खाली भएको हो।' 

गत भदौ १४ गतेबाट शुरु गरिएको आइसोलेशनमा हालसम्म ४१२ जनाले सेवा लिइसकेका छन्। एकै साथ ठूलो सङ्ख्यामा सङ्क्रमित आएमा राख्न मिल्ने गरी तयारी अवस्थामा आइसोलेशन राखिएको छ। हाल देखिएका सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेशन र होम आइसोलेसनमा बस्दै आएका छन्। जिल्लामा सङ्क्रमित थपिने दर पनि निकै कम भएको छ। 

भरतपुर महानगरपालिकाले चिकित्सालयसँग सहकार्य गरेर  आइसोलेशन सञ्चालन गरेको हो। आइसोलेशनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो भने व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ।  नब्बे जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेशनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनुपर्ने अवस्था आएको थियो। निर्देशक डा कोइरालाका अनुसार सङ्क्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो। 

यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ । यसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस् पदार्थ खान दिइएको थिइएन। यस्तै नियमित ब्यायम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो। सो आइसोलेशनमा ८ महिनादेखि ८५ वर्ष सम्मका सङ्क्रमितले सेवा लिएका थिए। आइसोलेशनमा आएका सङ्क्रमित ७ दिनदेखि २१ दिनसम्म उपचारका लागि बस्ने गरेका जनाइएको छ।  सामान्य लक्षण देखिएकालाई समेत आइसोलेशनमा राखेर उपचार गरिएको थियो। जिल्लामा हालसम्म ६ हजार ३१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए।

 जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाब परीक्षण, १०१  को मृत्यु र पाँच हजार ९२० निको भएका छन्। हाल २९१ जना सक्रिय सङ्क्रमित रहेका छन्। ती मध्ये २६४ जना होम आइसोलेशन तथा २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये  महानगरका २३५ जना छन्। रासस 


 

प्रकाशित मिति: : 2020-12-27 13:07:00

प्रतिकृया दिनुहोस्