उहाँहरुको जुलुसका नारा सुन्नुभएको होला- गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन (प्रधानमन्त्री केपी शर्मा ओलीको प्रज्ञाभवनको भाषण)

नेपालको कम्युनिष्ट आन्दोलनको ७२ वर्ष चलिरहेको इतिहासमा एउटा नयाँ महान शुद्धीकरण अभियान, महान शुद्धीकरण अभियान सफलताका साथ चलाइने छ । त्रिशुली नदीमा तपाईंले कुनै फोहोर चिज परेको देख्नुभयो भने त्यसका छालहरुले बिस्तारै बिस्तारै किनारतिर फ्याक्छन् ।

किनारतिर गएपछि पनि  छालले त्यो फोहोर मैलालाई फेरि अर्को छाल आएर पानीभन्दा अलिक बाहिर फ्याँक्छ । नेपालको कम्युनिष्ट आन्दोलनले त्यसैगरी फोहोर तत्त्वहरुलाई किनारामा गरेर पनि अलिक बाहिरपट्टि फ्याक्छ । 

नेपालको कम्युनिष्ट आन्दोलनको एउटा महान शुद्धीकरण अभियान र शुद्धीकरणको कार्य सफतापूर्वक अगाडि बढाउने छ । एउटा माइलस्टोन हुनेछ । नेपालको लोकतान्त्रिक आन्दोलनलाई हाक्नका लागि स्पष्ट गन्तव्य भएको र गन्तव्यतर्फ पुग्न सही नीति, सही बाटा, कार्यक्रम र योजनाहरु भएको त्यस्तो पार्टी । सही विचारमा संगठित भएको । संगठन भनेको के ? सही विचारमा संगठित भएको ।

अस्ति हाम्रो पार्टीको बैठकमा उपस्थित नभएर हराएका केही मान्छेहरुले एउटा सभा गरेछन् । त्यहाँ एकथरीले एउटा नारा लगाए, अर्का थरीले एउटा नारा लगाए । त्यही ठ्याकठुक पर्न थाल्यो । दुईवटा दर्शनढुंगा ठोक्किएको जस्तो झल्याकझुलुक हुन थाल्यो त्यहाँ । अहिले नै यस्तो छ उहाँहरुको । एउटा भनाइ छ, अहिले भर्खर सुरु हुँदैछ उहाँहरुको हालत, झुलो चकमक ठोकिएको जस्तो छ । 

माथिका नेताहरुको ध्यान जम्माजम्मी पदमा छ, कुर्सीमा छ । पद चाहिएको थियो भने त बैठकमा आउनु पर्दथ्यो, यता लाग्नु पर्दथ्यो । पाउने ठाउँमा लाग्नु पर्दथ्यो । सुन्तला खानुपर्छ भने सुन्तला घारीतिर पो जानुपर्छ । सल्लाघारीतिर जाने ? अनि पद चाहिएको छ उहाँहरुलाई ठूलोठूलो, लाग्नुभएको छ खडेरी परेका ठाउँतिर । 

इतिहासमा एउटा उल्लेख्य ट्रनिङ पोइन्टको रुपमा, एउटा बहुतै महत्वपूर्ण मोडको रुपमा, एउटा ज्यादै महत्वको घुम्तीको रुपमा त्यस रुपमा यो वर्ष अंकित हुनेछ । हाम्रा उद्देश्यहरु संर्कीण उद्देश्यहरु, व्यक्तिगत उद्देश्यहरु, पारिवारिक उद्देश्यहरु होइनन् । हामी छोरा–बुहारी, भाइभतिजा, छोरीका लागि लडिरहेका छैनौं । यो देशका जनताका लागि लडिरहेका छौं । 

देशका जनताका बाबुआमाका लागि, भाइबहिनीका लागि, दिदीबहिनीका लागि, दिदीभाइका लागि, छोराछोरीका लागि, देशका सन्तानका लागि, देशको भविष्यका लागि हामी लडिरहेका छौं । एउटा भन्छ, कसको धन्दा कतातिर कसको धन्दा कतातिर । कसैको धन्दा खानतिर । अचम्म लाग्छ, तर साथीहरुलाई म भन्न चाहन्छु, तपाईंहरुले हामीले पार्टी एकता, एकीकरण त गर्‍यौं । तीन महिनामा पूरा गर्ने एकीकरणको काम तीन वर्षमा पूरा गर्न दिएनन्, पूरा हुन सकेन । एकता एकीकरण गर्‍यौं । 

तपाईंहरुलाई थाहा छ, पार्टीले यस्तो सभागर्न पाएको थियो ? पार्टीका कमिटी कमिटी झैँ थिए ? कमिटीका बैठक बैठक जस्ता थिए ? एउटा कमिटी तीनवटा गुट, दुईवटा गुटको एउटा समीकरण, सधैको झमेला । पार्टी, पार्टी रहेन । त्यो स्थितिमा उहाँहरुले पुर्‍याउनुभयो । गएका तीन वर्ष पार्टी पार्टीले देशलाई अगाडि बढाउनका लागि महत्वपूर्ण काम गर्नुपर्दथ्यो । महत्वपूर्ण काम गर्नका लागि, देश बनाउनका लागि, जनता सचेत बनाउनका लागि, जनतालाई संगठित गर्नका लागि पार्टीले कार्यकर्ता परिचालन गर्नुपर्दथ्यो । तर, कार्यकर्तालाई अल्मलमा राखियो । असंगठित राखियो ।

कार्यकर्तालाई काम गर्न दिइएन । हाम्रो पार्टीका जस्ता तेजतर्रार कार्यकर्ताहरु बलिदानको पृष्ठभूमिबाट आएका कार्यकर्ताहरु, सङ्घर्षको पृष्ठभूमिबाट आएका कार्यकर्ताहरु आज समाजका पछौटेपनहरुलाई हटाएर, अशिक्षालाई हटाएर, समाजलाई सचेत बनाउँदै संगठित गर्दै विकास निर्माणको काममा अगाडि बढाउन नेतृत्व गर्नुपर्ने कार्यकर्ताहरु हल न चल भएर, काम गर्न नपाएर शिथिलतामा तीन वर्ष खेर फाल्नु पर्‍यो, त्यो तपाईंहरुलाई थाहा छ ।

अहिले समस्या कहाँनिर रहेछ ? जाम कहाँ भएको रहेछ ? खिया कहाँ लागेको रहेछ ?दुईवटा नट बल्टु फेर्दाखेरि गाडीअगाडि..। हामीले फेरेको पनि होइन, आफैँ फुक्लिए नट बल्टुहरु । खिया लागेका  दुईवटा नट बल्टुहरु फुक्लिएको थियो, पार्टी गतिसाथ अगाडि गयो ।

अहिले उहाँहरु पार्टी फुट्यो भनेर कराइरहनु भएको छ ।निर्वाचन आयोगबाट हिजो मैले एउटा पत्र प्राप्त गरेँ । उहाँहरुले एउटा निवेदन हाल्नु भएको रहेछ । असली हामी हौं भनेर । यो बरमजीयाको बुढाको पेडा पसल हो असली र नक्कली ?असली बुढो मै हुँ । असली बुढाको पेडा पसल भनेर टाँगेर । 

अहिले  पेरिस डाँडामा उहाँहरु १२/१५ जना पत्रकार सम्मेलन गर्नुभएको छ, असली बुढाको पेडा पसल भनेर..।पेडा पसल हो यो असली ?हामी असली हौं । पार्टी हाम्रो हो । हामी नै असली हौं, सूर्य चिन्ह हामीलाई दिनुहोला निवेदन हाल्नु भएको छ । 

निर्वाचन आयोगले मलाई हिजो जानकारी दियो । यस्तो यस्तो निवेदन हालेका छन् भनेर । जसको घर हो ऊ निवेदन हाल्न जान्छ, मेरो घर हो भनेर ? जसको जमिन हो, ऊ मेरो जमिन हो भनेर जान्छ ? जसको गाडी हो उसले यो मेरो गाडी हो भनेर निवेदन हाल्नु जानुपर्छ? हामीले बनाएको पार्टी । त्यसकारण हामी निवेदन हाल्न गइरहन पर्ने आवश्यकता छैन । हामी विधिसम्मत ढंगले, लोकतान्त्रिक ढंगले, संविधानसम्मत ढंगले, पार्टीको विधान अनुसार, पार्टीको नियमावलीअनुसार, देशको कानून अनुसार पार्टी संचालन गरिरहेका छौं । 

अब भेट्नु कुहिएर झरेका दुईवटा फलहरुले रुख नै मै हुँ भनेर दावी गर्ने ?हामीले उहाँहरुलाई बैठकमा आउनुस् भनेका छौं । आउनुस् बैठकमा । निमन्त्रणा गरेका छौं । म कमरेडहरुलाई भन्न चाहन्छु, पुष्पकमल दाहाल प्रचण्डलाई अहिले पनि हामीले अध्यक्षमा राखिराखेका छौं । माधव नेपाल, झलनाथ खनाललाई वरिष्ठ नेतामा राखिराखेका छौं । अरु पनि केही साथीहरु आउनु भएको छैन अहिलेसम्म बैठकमा । कारणहरु होलान ।आउनु होला । हामी कुनै हतारो गरिरहेका छैनौं । हामी अहिले पनि सम्झाउन खोजिरहेका छौं  ।

पेरिस डाँडाँमा पत्रकार सम्मेलन चल्दैछ अहिले । यति गते यहाँ जाने, यति गते यहाँ भेलागर्ने, सर्वदलीय भेला, सर्वदलीय भेटघाट सर्वदलीय बैठक, प्रदेशस्तरीय भेला । अलिअलि यति मान्छे त (औलाको चुम्कीभित्र संकेत गर्दै) सिसीमा औषधि बेच्ने, त्यसले पनि रत्नपार्कमा जम्मा गर्छ । उहाँहरुको हालत अब त्योभन्दा बढी हुने छैन । रत्नपार्कमा सीसीमा औषधि बेच्ने । टाउको दुखेको, पेट दुखेको, कम्मर दुखेको, गानोगोला भएको, जुकामखासी, पिनाश परेको, गलेका खसखस सबैको औषधि अब उहाँहरु रत्नपार्कमा मान्छे जम्मा पार्ने ..। उहाँहरुको हालत त्यही हो । किन उहाँहरुसँग राजनीति छैन । 

उहाँहरुको एजेण्डा देश होइन । उहाँहरुको एजेण्डा जनता होइन । उहाँहरुको एजेण्ड लोकतन्त्र होइन । उहाँहरुको एजेण्डा संविधान संशोधन होइन । उहाँहरुको ऐजेण्डा संविधानको रक्षा पनि होइन । यी सबै भन्ने कुरा हुन् । सविधान संशोधन गरेबापत उहाँहरुलाई कत्रो पीडा छ । 

नक्सा देशको छापेबापत कत्रो पीडा छ । देशमा विकास हुँदा उहाँहरुलाई कत्रो छट्पटी छ । उहाँहरुको एजेण्डा यो होइन । उहाँहरुको एजेण्डा, सपना फेरि कत्रो देखेको ! अचम्म लाग्छ । कार्की ब्याङ्क्वेटमा जानु भएछ । खानपिन यसो गर्नुभएको होला । केपी ओलीलाई निकाल्दियौँ भनेर घोषणा गर्नुभएछ ... ! केपी  ओलीलाई निकाल्दिए रे पार्टीबाट ! निकाल्दियौं भनेर घोषणा गरेछन् । 

निर्वाचन आयोगमा पनि पत्र पठाएछन् केपी  ओलीलाई निकाल्दियौं । निर्वाचन आयोगका आयुक्तज्यू कति दिन हास्नुभयो मलाई थाहा छैन । केपी  ओलीलाई निकाल्दिए रे पार्टीबाट ! जसको कटेरो उसको पुच्छर बाहिर भनेको जस्तो ।

किन हामीले प्रतिनिधि सभा विघटन गर्नुपर्‍यो ? प्रतिनिधि सभामा जति काम गर्न सकिन्थ्यो प्रतिनिधि सभाबाट, गर्न दिइएन सबैलाई थाहा छ । सरकारले जति काम गर्न सक्थ्यो, गर्न दिइएन । सरकारले जे काम गरेको थियो, त्यो प्रचारित हुन पाएन । कतिसम्म भनेको तपाईंहरुले सुनिहाल्नुभयो । 

धरहरा बनाएको केपी  ओलीले होइन, इञ्जिनीयरले हो भनेछन् । इञ्जिनियरले धरहरा बनाउँदैन डकर्मीले बनाउँछ । फेरि मैले सम्झाइदिए अस्ती । यो धर्ती बनाउने श्रमजीवि जनता हुन् । धरहरा पनि श्रमजिवी जनताले बनाएका हुन्, रानीपोखरी पनि श्रमजीवि जनताले बनाएका हुन् तर अगुवाई कसैले गरेको हुन्छ । होइन भने शिलान्यास गरेर, ढुंगा राखेर छोडेको रानीपोखरी इँटामा लेउ लागिराखेको थियो, फेरि म फर्किएर आउँदा । लिडरसीप नभए डकर्मीले मात्र बनाउन पाउने भए त बनाउन्थे होलान् नि ! तर बनाउन लिड त गर्न पर्‍यो कसैले । म आएपछि त रानीपोखरी बन्यो । यहाँहरुले देख्नु भएको छ । 

अस्ति धरहराको २२औं तलाबाट काठमाडौं यस्तो देखिन्छ भनेर अखवारमा मैले यसो फोटो हेरेको थिएँ, २२औं तलाबाट यस्तोे देखिन्छ । धरहरा २२औं तलाबाट खिचेको फोटो पुरानो हो र ? पुरानो धरहरा त २२ तला थिएन । अहिले धरहरा त २२ तला बनिसकेछ होइन र ? २२ तला त बनिसकेछ । जहाँ पत्रकार गएर फोटो खिचें काठमाडौंको । अर्थात्, उहाँहरुलाई गरेको काम पनि भएको काम पनि भयो भन्न नसक्ने । 

देख्दा छातीको साइज उत्रै छ । चित्त भित्र(औलाको चिम्टीले देखाउँदै), मान्छे हेर्दा साइज सानो छैन तर चित्त...। राम्रो काम भयो भन्न पनि नसक्ने । राम्रो कामको प्रचार हुन पाएन ।जनताले थाहा पाउन पाएन । यस बीचमा असाधरण प्र्रगति भएको छ । दुनियाँ आश्चर्यचकित हुनेगरी ठूलो आर्थिक वृद्धिदर विश्वका दशवटा देशहरु जसले तीब्र आर्थिक वृद्धिदर गरें । त्यसमा नेपाल पर्‍यो, दशवटा मध्ये । मानव विकास सूचाकाङ्कमा तीब्रताका साथ अगाडि बढ्ने देशमा नेपाल गनिएको छ । 

आज विश्वमा नेपाल कहाँ छ ? कसैले नेपाल सुनेका थिएनन्, नेपाल कहाँ छ ? नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा पनि हुँदैनथ्यो । अहिले  भारतकोे हरेक मान्छेलाई सोध्नुभयो भने नेपालको प्रधानमन्त्री को छ भन्यो भने ! हरेकलाई कण्ठै छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा हामी चिनिन थालेका छौं, सुनिन थालेका छौं ।हाम्रा दृष्टिकोणहरु सुनिन थालेको छ । 

हाम्रा दृष्टिकोणहरुको सराहनीय गर्न थालिएको छ ।तपाईंहरुलाई थाहा छ, भारतका प्रधानमन्त्री मोदीजी आउनु भयो । मोदीजीले समृद्ध नेपाल सुखी नेपालीको तपाईंहरुको राष्ट्रिय आकाङ्क्षा विल्कूल सही छ । यो सफल होस्, त्यसका लागि हामी मद्दत गछौं भन्नुभयो । भारतका प्रधानमन्त्रीलाई नेपालको राष्ट्रिय आकाङ्क्षा, नेपालले पुग्न खोजेको गन्तव्य थाहा छ । चिनियाँ राष्ट्रपति आउनु भयो, उहाँले भन्नुभयो, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी पनि मद्दत गछौं ।

एकदम सही आकाङ्क्षा हो तपाईंहरुको । सही गन्तव्य हो । तर, प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरुलाई यो राष्ट्रिय आकाङ्क्षा थाहा भएको कहिले बोलेको सुन्नु भएको छ तपाईंहरुले ? योे राष्ट्रिय आकाङ्क्षासँग उहाँहरुको वैरभाव किन ?यो हरेक नेपालीले बोल्नु  पर्ने कुरा होइन ? तर बरु अरुले बोल्लान्, एउटा भनाइ छ नि ढुंगो बोल्ला ऊ बोलेन भनेर । ढुंगो बोल्ला उहाँहरु बोल्नु हुन्न । किनभने उहाँहरुलाई चित्त दुख्छ । यसको जस, यसको श्रेय कसैलाई जान्छ कि भनेर । 

हामी श्रेयका लागि काम गर्दैनौं, जसका लागि काम गदैनौं । मलाई जस, श्रेय केही चाहिएको छैन तर देशमा काम हुनुपर्‍यो विकास हुनु पर्‍यो । मेरो आकाङ्क्षा त्यो हो । नेपाली जनताले पाइरहेको दुख अन्त्य हुनु पर्‍यो । नेपाली जनता भोकै, प्यासै बस्न पर्ने स्थितिको अन्त्य गर्नु पर्‍यो । हामी गर्न सक्छौं । यो एक वर्ष कोभिड–१९ ले दुख दियो । 

हाम्रो अर्थतन्त्र, विकासका प्रयासमा, हाम्रा शिक्षाका क्षेत्रमा, हाम्रा स्वास्थ्यका क्षेत्रमा हामीले कठीनाइको सामना गर्नु पर्‍यो । विकास निर्माणको कामलाई गतिसाथ अगाडि बढाइरहेको ठाउँमा कोभिड–१९ ले हामीलाई धक्का दियो । तर, हामी फेरि पनि हामी यसलाई नियन्त्रण गर्छाैं । मैैले भने यसै वर्ष नियन्त्रण गरेर अगाडि बढ्छौं । हामी अहिले तपाईंहरु अनुमान गर्न सक्नु हुन्छ, कम्बोडियाले प्लेन चार्टड गरेर हामीलाई औषधि सहयोग गर्दैछ । हामीले मागेर होइन, उहाँहरुले आफ्नै तर्फबाट नमागिकन सहयोग गर्दै हुनुहुन्छ । अथवा हाम्रोे अन्तर्राष्ट्रिय स्तरको मित्रता यसप्रकारको छ । 

हाम्रो चीनसँग, भारतसँग सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ । तीनदिन अगाडि मात्रै हाम्रो ऊर्जा सचिवको नेतृत्वमा टोली भारत गयो र त्यहाँ अगाडिदेखि, अगाडि नै सम्झौता भएको एउटा त शारदा ब्यारेज बनेको, शारदा नहर चलेको १९२८ देखि अथवा ९२ वर्षदेखि चाँदनी दोधाराको सिरानबाट शारदा क्यानल बगेको थियो । चाँदनी दोधाराले पानी पाएको थिएन ।

 अत्यन्तै विरोध गरिएको सन्धी एकीकृत महाकाली सन्धी त्यसमा शारदा नहरबाट चाँदनी दोधारालाई क्युमेक्स पानी दिइने सहमति गरिएको थियो । तर, अहिलेसम्म सरकारहरु २५ वर्षे सरकारहरु चल्दा कुनै सरकारले त्यो सम्झौता पल्टाएर यो पानी चाहियो भनेर भन्ने हिम्मत गरेका थिएनन् । अस्तिका दिन, अब छ महिनाभित्र शारदा क्यानलबाट हेर्डवर्क बनाउन थालिने र काम अगाडि बढाइने, अब चाँदनी दोधाराले सिचाइँ पाउने सहमति भएको छ । 

अब हाम नहर बनाउँछौं, चलाउँछौं । विकास निर्माणका लागि हामीले आइसीपी तपाईंले सुन्नुभएको छ इन्टिग्रेटेड चेकपोष्टहरु । हामीले विराटनगर, विरगञ्ज, भैरहवा विभिन्न ठाउँमा चलाएका छौं, नेपालगञ्जमा चलाएका छौं र चाँदनी दोधारामा पनि चलाएका छौं । 

रक्सौलबाट काठमाडौं रेल आउने तपाईंहरुले सुन्नु भएको छ ।सर्वे भइसकेको छ । केरुङबाट काठमाडौं रेल आउने, त्यो पनि तपाईंले सुन्नु भएको छ । देश सुरुङ मार्गमा प्रवेश गरेको छ । सुरुङ खनिन थालेको छ । अब सुरुङ कस्तो हुन्छ भनेर हेर्न मन लाग्यो भने, पिकनिक जान मन लाग्यो भने, घुम्दै जाउँ न मोटरबाइकमा सुरुङ कस्तो हुँदोरहेछ भने थानकोट जानु भए हुन्छ । अब हामी सुरुङ हेर्न विदेश जानु पर्दैन । यही थानकोटमा हेर्न सकिन्छ । 

अब टोखा–छहरे सुरुङ मार्ग निर्माण हुनेवाला छ । वेत्रावतीबाट स्यापु्रmबेसीसम्म सुरुङ मार्ग निर्माण हुनेवाला छ । यस्ता थुप्रै काम भएका छन् । तपाईंका सिँचाइको लागि सुनकोशी–मरिन डाइभर्सन, त्यसको अब ठेक्का लाग्ने अवस्थामा पुगेको छ । टनेलबनाएर पानी लाने, बिजुली निकाल्ने । 

हुलाकी राजमार्गकोे चर्चा धेरैले गरे ।बनाउन हामी नै चाहियो । हामीले हुलाकी राजमार्ग बनायौं । अरुका समयमा तराई डुवानमा पर्‍यो । हामीले वार्ता गरेर डुवान खोल्यौं । हाइवेबाट तराइका सदरमुकाम जान पर्‍यो भने २० किलोमिरको बाटो दुई घन्टा, अडाइ घन्टा लाग्थ्यो बाटो बिग्र्रिएर । अहिले ढल्केवरबाट जनकपुर जाने साथीहरु बाटो त सम्झना होला । 

पथलैयाबाट वीरगञ्ज जाने साथीहरु बाटो त सम्झना होला । यहाँ बुटवलबाट भैरहवा जाने बाटो साथीहरुलाई सम्झना होला । भैरहवाबाट लुम्बिनी जाने बाटो, तौलिहवा जाने बाटो चार लेनको बन्दैछ । त्यो पनि थाहा होला साथीहरुलाई । 

सरकारले सिन्को भाँचेन भनेर उफ्रिदैँ हिड्ने नेताहरु सुदूरपश्चिमका पनि अत्तरियाबाट धनगढी १५ मिनेटको बाटो, ६ लेनको अहिले चौडा । हामी बुटवल–नारायणगढ खण्ड हाइवे छ लेनको चौडा गर्दैछौं । 

पूर्व–पश्चिम राजमार्ग चौडा गर्दैछौं । मदन भण्डारी राजमार्ग तयार हुँदैछ । हामीले यसबीचमा ४ हजार ४५ सय किलोमिटर डबल लेन, फोर लेन, सिक्स लेनका बाटाहरु कालोपत्रे गरेका छौं । चार सयभन्दा बढी सडक पुलहरु निर्माण गरिसकेका छौं । भुँइचालोले भत्काएका ७ लाख घरहरु बनाएर पीडित जनतालाई हस्तान्तरण गरिसकेका छौं, स्कुल, विद्यालय । 

तराईमा केपी  ओली मधेसविरोधी भनेर हिँड््ने साथीहरुले सोध्न सक्नुहुन्छ– आँधीहुरी जहिले पनि जान्थ्यो । घरहरु भत्किन्थे । छाप्राहरु उडाएको थियो चक्रवातले । तर, केही महिनाभित्र त्यस ठाउँमा ८६९ पक्की घर बनाएर जनतालाई हस्तान्तरण यो सरकारले गर्‍यो केही महिनाभित्र । फुसका छाना हटाइएको छ टिनका छाना दिइएको छ । 

गरिब जनतालाई घर बनाएर आवासको व्यवस्था क्रमश गरिदै गएको छ । यो वर्ष २० हजारभन्दा बढीलाई हामीले घर हस्तान्तरण गर्‍यौं । यो मान्छेले नेतृत्व गरिरहन पायो भने त देश त सर्लक्कै परिवर्तन भएर, अरुले त कुरै गर्न नपाउने खालको स्थिति बन्छ कि क्या हो भनेर कोही मान्छेको मन भतभत पोल्यो । केहीलाई अत्यन्तै छट्पटी भयो । छिर्के लगाउन खोजें, लड्दैन । 

अल्झाउन खोजें, अल्झिदैन । रोक्न खोजें, रोकिँदैँन ।अनि अस्तव्यस्तता सिर्जना गर्ने, गालमुखाल गरेर हिड्ने, मुख छाडेर हिन्ने, तथानाम भनेर हिड्ने । उनीहरुका जुलुसका नारा सुन्नु भएको होला, कठै बरी ! मैले धेरै वर्ष अगाडि भनेको थिएँ, गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन । उहाँहरुले आफैँले सामाजिक मर्यादा, सामाजिक प्राणी हुनुको नाताले मानवीय सभ्यता र मर्यादा त्यसमा ख्याल गरे हुन्थ्यो । देख्नेहरुलाई धेरै लाज भइसक्यो, उहाँहरुका कृत्यहरुले । खैर, देश अगाडि बढिरहेको छ, देश अगाडि बढ्छ । देशअगाडि बढाइनेछ । 

प्रतिनिधि सभा विघटन गरेर नयाँ जनादेशका लागि जाने सिफारिस मैले किन गर्नु पर्‍यो ? किनभने लोकतन्त्र खतरामा पर्‍यो । संविधान खतरामा पर्‍यो । स्थिरता र स्थायित्व खतरामा पर्‍यो । फलानोसँग सल्लाह गरेर विघटन गरेको थिएँ, पुनःस्थापना भयो भने फलानोलाई प्रधानमन्त्री बनाउँछु भन्यो । पुनःस्थापना हुने कुरा आयो कहाँबाट ? पुनःस्थापना कसले हुन्छ भन्यो ? पुनःस्थापना हुन्छ भनेर अलिक दिन कार्यकर्ता झुक्याउनु उहाँहरुले भन्नु होला दुईचार मान्छेहरुलाई झुक्याउन । 

पुनःस्थापना हुँदैन । देश चुनावतिर गइसक्यो । निर्वाचन आयोगले चुनावको तयारी गरेको छ । सुरक्षा निकायहरु चुनावको तयारी गरिरहेका छन् । राजनीति पार्टीहरु चुनावको तयारी गरिरहेका छन् । जनता ताजा जनादेश दिएर यस्ता तत्त्वहरुलाई होइन, स्वच्छ तत्त्वहरुलाई, स्वच्छ व्यक्तिहरुलाई, देशलाई माया गर्नेहरुलाई, छलकपट नगर्नेहरुलाई ताजा जनादेशका साथ एउटा यस्तो सशक्त प्रभावकारी संसद बनाउनेगरी मतदान गर्न चाहन्छन् । 

उहाँहरु निकै ठूला कुरा गरेर हिडिराख्नु भएको छ । प्रत्यक्षमा १६५ सिट आउँछ । म अहिले धेरै नभनौं । धेरै भन्दा झन् धेरै हच्किने, तर्सिने खतरा हुन्छ । सेकम दुईवटा अंकसम्मको सिट ल्याएर देखाउनुस् । दुईवटा अंक ! तर, त्यस स्थितिमा उहाँहरु पुग्नु हुन्न । उहाँहरु फर्किनु हुन्छ । 

केन्द्रीय कमिटीमा उहाँहरुको ठाउँ छँदैछ जस्ताको तस्तै । यत्ति हो अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन । अब फर्किदा उहाँहरुलाई थान्कोमा राखिनेछ । थान्कोमा बस्नुपर्छ । पार्टीझै काम गर्नुपर्छ । पार्टीको नेताझै बोल्नु पर्छ । पार्टीको कार्यकर्ता झै बोल्नु पर्छ । अनेकता र गुटबन्दी गर्न पाइँदैन । त्यस कारण अब गुटबन्दीलाई हामीले बिदा गर्‍यौं । व्यक्ति फर्किए पनि प्रवृत्ति फर्किन दिइने छैन । व्यक्ति फर्किए पनि गुटबन्दी फर्किन दिइने छैन । 

हामीले जब देश अप्ठ्यारोमा पर्‍यो । देश संकटतिर लान चाहनुभयो उहाँहरुले । दलभित्रैबाट दलको नेतालाई थाहा छैन । प्रथम अध्यक्षलाई थाहा छैन । प्रधानमन्त्रीलाई थाहा छैन । हस्ताक्षर बोकेर कहिले राष्ट्रपतिकोमा पुगेको छ । कहिले कतातिर पुगेका छन् हस्ताक्षर बोकेर ।

थैलोमा हस्ताक्षरको प्रति लिएर, कागज लिएर कुदेका छन् । केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्‍यो कामरेडहरु सही गर्नुस् भनेर । केन्द्रीय कमिटीको बैठक बोलाउन सही गर्नुपर्छ ? बोलाइ हालिन्छ नि, केन्द्रीय कमिटीको बैठक । त्यस बाहनामा सहीगर्न लगाउनुभयो । अनि उहाँहरुले पेश गर्न चाहिँ अविश्वासको प्रस्तावका लागि । पेश गर्दा चाहिँ विशेष अधिवेशन बोलाउनका लागि भनेर पेश गर्नुभयो । जुन कुरा झुटो हो । सांसदहरुलाई त्यसरी सही गराएको थिएन उहाँहरुले ।

उहाँहरु दाबी गरिरहनुभएको छ– हामीतिर बहुमत छ । पर्खौ न त वैशाख १७ र २७ गते, मत कता रहेछ ! बहुमत हेरि हालौँ । कसले कसलाई निकालेछ । को चाहिँ पार्टीबाट निस्किएछ वैशाख १७ र २७ गते हेरि हालौंं न !

म हाम्रा नवयुवाहरुलाई आग्रह गर्न चाहन्छु– तपाईंहरुले धेरै बाँच्नु छ, यो देश बिग्रिन दिनुहुँदैन । यो देश केही मान्छेका गलत प्रचार, गलत उद्देश्यका प्रचारहरुमा यो देशलाई जान दिनुहुँदैन । अल्मलिन दिनुहुँदैन । र, हाम्रा युवा अलमलमा पर्नु हुँदैन । अब देशलाई जोगाउने कुरामा सही विचार बोकेर, सही ढंगले मन मस्तिष्कमा देशलाई राखेर युवा अगाडि बढ्नुपर्छ । 

मित्रहरुले उहाँहरुले देशमा अस्थिरता, अनुशासनहीनता, अराजकता पार्टीभित्र तपाईं विचार गर्नुस् त, प्रथम अध्यक्षको विरुद्ध, प्रधानमन्त्रीविरुद्ध के बोलेर हिँड्नुभएको थियो, उहाँहरु यी तीन वर्ष ? पार्टीको पक्षमा बोल्नु भयो ? सरकारको पक्षमा बोल्नुभयो ? राम्रो कामको पक्षमा बोल्नुभयो ? बोल्नु भएन । अराजकता, अनुशासनहिनता, हानिकारक ! 

उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गर्नुभएको थियो र प्रतिगमनतर्फको यात्रा गरिरहनुभएको थियो । र, खास प्रतिगमनको तयारी गरिरहनुभएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनुथियो । आन्दोलनलाई भिरबाट तल धकेल्न खोज्नुभएको थियो उहाँहरुले । त्यसलाई रोक्नुथियो । हामीले स्टेरिङ सोझाउनुथियो । हामीले स्टेरिङ सोझ्याएका हौँ । 

उहाँहरुले दुईतिहाइ लगभग भएको पार्टी फुटाउने अनि विभिन्न तत्त्वहरुसँग भित्री साँठगाँठ गरेर जोरजाम गरेको पुतली सरकार बनाउने ! जोरजामको टाला जोडेको पुतली सरकार ! आफ्नो लगभग दुईतिहाइको सरकार ढाल्ने, पार्टीको एकता भताभुङ्ग पार्ने । अनि विभिन्न रंगीविरङ्गी तत्व जोडेर सरकार बनाउने । अनि ‘हर्स–टे«डिङ’ को खेल सुरु गर्ने ? सधैँ अस्थिरता ? सधैँ सरकार ढाल्ने र बनाउनेको चक्रव्यूमा देशलाई फसाउने ? जनतालाई निराश पार्ने, विकासलाई अवरोध पार्ने ? 

देशलाई त्यता जान नदिनका निम्ति, हर्षटे«डिङको राजनीति फेरि फर्कन नदिनका निम्ति देशमा जनताको इच्छा अनुसारको सरकार, जनताको इच्छाअनुसारकोे काम गर्ने सरकार, देशलाई माया गर्ने सरकार, अरुबाट संचालित होइन । आफैँ, आफ्नो देशका लागि आफैँ संचालित हुने सरकार । जनताको  इच्छा, आदेश, मनोभाव र मनोभावनाअनुसार राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर चल्ने सरकार, त्यो चाहेका हुनाले । जनताले  कतिपय ठाउँमा संविधान संशोधनको माग गरिरहेका छन् । तर, संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरु प्रस्तुत हुँदैनन् ।

सभामुखले तीनवटा अधिवेशन भए । तीनवटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव निणयार्थ प्रस्तुत् हुँदैनन् । तीन वर्षअगाडि प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइ दिएको छ, अल्झाइ दिएको छ । समितिबाट अगाडि बढ्दैन । किनभने सरकारलाई असफल देखाउन । त्यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि, लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि, अस्वस्थ्य षड्यन्त्रको चक्रव्यूमा देशलाई फस्न नदिनका लागि यो प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नु पर्‍यो ।

म साथीहरुलाई आग्रह गर्न चाहन्छु– प्रतिनिधि सभा पुनःस्थापना हुन्छ कि ? कतिपयले कुप्रचारहरुको भ्रममा परेर, असरमा परेर आशंका गरिरहनुभएको देखिन्छ, कही पुनःस्थापना हुन्छ कि भनेर । दुईतिहाई झण्डै ६३/६४ प्रतिशतको प्रतिनिधित्व सर्वसम्मतीले गरेको प्रधानमन्त्री म, दलको नेता म । ६४ प्रतिशतको दलको नेताले म सरकार चलाउन ताजा जनादेश चाहियो भनेपछि कहाँ विकल्प छ र पठाउने ? पुनःस्थापना गरेर कहाँ पठाउने फेरि ? 

म चलाउन्न भन्दैछु– जो दलको नेता हुँ । जोसँग लगभग दुईतिहाइ जनादेश छ । उसले ताजा जनादेश चाहियो भन्दै छ अनि अरुले ! घरवाला भन्दैछ– छानो चुहियो अर्को बनाउँछु भनेर । छानो भत्कायो, पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ बा ! हुन्छ कहीँ त्यो ? पुरानो भयो छानो, चुहियो । चुहिएको छानोले खाट कता सार्ने, सिरक कता बोकेर कुद्ने ? त्यसकारण कुहिएको छानोले भएन । छानो भत्काइयो नयाँ हालिँदैछ । पुरानै छानो चाहिन्छ, पुरानै खरका टुक्रा खोज्न जाऊँ । हुने कुरा होइन यो । अर्को कुनै विकल्प छैन । 

प्रधानमन्त्रीले विघटन गर्ने संविधानमा कतै उल्लेख छैन भनेका छन् । धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि नयाँ प्रतिनिधि सभाको निर्वाचनको  लागि  मिति तोक्ने छ भन्ने उल्लेख छ संविधानमा ।

अनि किन छैन ? उहाँहरुको भनाइ होला, कसैले भन्ला, धेरैवटा पार्टी मिलाएर सरकार बनाउने, जतिवटा पार्टी मिलाए पनि बाँकी रहेको ३६ प्र्रतिशत होइन ? ३६ प्रतिशतले बन्छ सरकार ?सरकार बन्ने ठाउँ नै छैन, त्यो माथितिरका अप्सनहरु पहिले यो सरकार २ अनुसार बन्यो, त्यसपछि यो सरकार ७६ धारको एक उपधारको सरकार बन्यो एकीकरण भएपछि । 

पहिले गठबन्धनको सरकार बनेको थियो । त्यसपछि एकल पार्टीको बहुमतको सरकार बन्यो । पहिले संविधानकोे धारा ७६ को २ अनुसार बनेको थियो यो ।पछि एकीकृत भएपछि १ अनुसार बन्यो । १ अनुसारको बहुमतको सरकारले विघटन गरिसके पछि उसले चलाउन्न यो सरकार, यो प्रतिनिधि सभा भएन यसबाट देशलाई अगाडि बढाउन सकिँदैन । राष्ट्रको बाँकी अवधि डेढ वर्ष होला, दुई वर्ष होला । त्यो बाँकी अवधि खेर फाल्नुहुँदैन । 

त्यस कारण बाँकी अवधि खेर फाल्न नदिनका लागि, झमेलायुक्त स्थिति अन्त्य गर्नका लागि, काम गर्न नसक्ने, नपाउने, व्यवधानयुक्त, अवरोधयुक्त अवस्थालाई अन्त्य गर्नका लागि हामीलाई नयाँ ताजा जनादेश चाहियो । त्यसकारण यो फर्किने सम्भावना छैन ।मुद्दा लड्न त पाइयो । मुद्दा त मान्छेले लड्लान् । मुद्दा लड्नु एउटा कुरा हो । तर, प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर यस विघटनको सिफारिस गरिएको हो । 

यही कुरा केही महिना अगाडि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले अटेरी गर्ने २१ जना सासंद्लाई बर्खास्त गरेका थिए । त्यसपछि संसद विघटन गरेका थिए र नयाँ जनादेशमा गएका थिए । अत्यधिक मज्जाले बहुमत ल्याएर फेरि प्रधानमन्त्री भए । 
म साथीहरुलाई भन्न चाहन्छु, यस्ता दृष्टान्त थुप्रो छन् । इजरालयमा पनि अहिले संसद विघटित अवस्थामा छ । यो संसद, प्रतिनिधि सभा प्रधानमन्त्रीले विघटन गर्न सक्छ । संसदीय व्यवस्था भएका देशहरुको यो स्वभाविक अभ्यास हो । त्यसकारण म साथीहरुलाई भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । 

साथीहरुले हल्ला सुन्नु भएको होला हाम्रै हो, हाम्रै हो सूर्य चिन्ह पनि, पार्टी पनि यताउता । धनगढीमा पार्टीका कार्यकर्ताहरुले दुख गरेर तीस लाख जम्मा गरेका रहेछन् । एउटा मान्छे गएर छलछाम, जालझेल, तिकडम गरेर त्यो तीस लाख अस्ति नै चट् बनाइदि सकेछ । यिनीहरुको ध्यान कहाँ छ भन्दाखेरि बैंकमा राखेको पैसामा ध्यान छ ।

कार्यकर्ताले पसिनाका थोपाथोपा गरेर बनाएको पार्टी कार्यालयमा छ । कार्यकताले बडो मुस्किलले पैसा जोडेर, कसैले डोनेशन गरेर किनेको वा डोनेशन गरेर दिएको जमिनमा छ । कसको ध्यान कहाँ, कसको ध्यान कहाँ । कसको धन्दा के, कसका धन्दा के ! हामी यतातिर धेरै जान चाहन्नौँ । मैले त हिजो थाहा पाएँ, हामी पो पार्टी हौं, हामी पो खास पार्टी हौँ भनेर मैले अघि नै भने नि, बरमजीयाको बुढाको असली बुढाको पेडा पसल भनेको जस्तै । असली पार्टी त हामी हौं भनेर असलीवालाहरु !

एकपटक चार्ली च्याप्लिनको क्यारिकेचर गर्ने कम्पिटिशन भएछ । कसले क्यारिकेचर गर्ने सबैभन्दा राम्ररी चार्ली च्याप्लिनको भनेर । त्यहाँ केही प्रतिस्पर्धीहरु भए, जसमध्ये चारवटा चाहिँ फाइनल राउण्डमा गए । फाइनलमा जाँदा चार्र्ली च्याप्लिन चाहिँ परेनछ । चार्ली च्याप्लीनले पनि भाग लिएको थियो, ऊ चाहिँ चार्ली च्याप्लिन जस्तो ठहरिएन, अर्कै ठहरियो । हाम्रो अदालत चार्ली च्याप्लिन कुन चाहिँ हो भनेर छुट्याउन नसक्ने अवस्थामा छैन । जुँगा हेरेर चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ । अनुहार हेरेर चिन्छ । कुम हल्लाएकोबाट चिन्छ । 

अनेक हिसाबले चिन्छ । चार्ली च्याप्लिन चिन्नमा हाम्रो अदालतले गल्ती गर्दैन । हाम्रो निर्वाचन आयोगले गल्ती गर्दैन । हाम्रा न्यायनिरुपण गर्ने निकायहरुले गल्ती गर्दैनन् । इतिहास सबैलाई थाहा छ, त्यसकारण साथीहरु ढुक्क रहनुहोस्, सूर्य चिन्ह हामीसँग हुन्छ । पार्टी हाम्रो हो । उहाँहरुले बहुमत छ भन्नुभएको छ । गफै त हो सम्धी भन्छन् यस्तालाई । 

बहुमत छ ! कहाँबाट आयो बहुमत उहाँहरुसँग ?कहाँ पुष्टि भयो ?कुन महाधिवेशनले भन्यो उहाँहरुसँग बहुमत छ ? कुन महाधिवेशनले, कुन अधिवेशनले भन्यो ?कहाँ छ बहुमत ?कुनै एउटा जिल्लामा बहुमत ल्याएर, एउटा निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुस् त । बहुमत छ ! दावी पनि कस्तो बहुमत छ ! ‘रेस्लिङ’ खेलमा देखिन्छ, त्यो कहिले कहिले । 

त्यो रेस्लरहरुले लड्नु कता हो कता, पहिले नै त्यो लगाउने त्यो चाहिँ खोसेर ल्याएर लगाइहाल्ने । अनि जब रेस्लिङ्को कोर्टमा जान्छ । अनि अर्काले मुक्का दिएपछि अनि रिङ आउट । उहाँहरुको त्यस्तै हो । पहिले नै माला लगाउन थाल्नु  भयो । बहुमत छ ! कहाँ पुष्टि गर्नुभयो बहुमत ? कहाँबाट आयो बहुमत ? कसले दियो बहुमत ? कुन कार्यकर्ताले ? तपाईंहरुले भोट हाल्नुभयो ? तपाईंहरु गल्ती गरेर पनि भोट हाल्नु हुन्छ तिनलाई ? बहुमत ! कहाँबाट आयो, कसले भन्दिए ? घरमा भने ?

यो २१औं शताब्दीको २१ वर्ष । मैले सुरुमै भने यस देशका लागि यो विश्वका लागि पनि एउटा असाधारण ऐतिहासिक वर्ष हुनेछ । त्यसै गरेर यस देशका निम्ति यो  उल्लेख्य ढंगले असाधारण र ऐतिहासिक वर्ष हुनेछ । हामी अब चुनावको अभियानमा जुटौं । हाम्रा कमिटीहरु चुस्तदुरुस्त बनाऔं । धुलो लागेको छ भने त्यसलाई झट्कार–फट्कार गरौं । अगाडि बढौं । आँधी तुफान भएर अगाडि बढौं । बाढीझै अगाडि बढौं हामी । त्यसपछि यस्ता गफहरु आँधीले बगाएर लान्छ । 

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस १८ मा नेकपाको काठमाडौं जिल्लास्तरीय भेलालाई गरेको सम्बोधनको मुख्य अंशः)
 

प्रकाशित मिति: : 2021-01-05 13:16:00

प्रतिकृया दिनुहोस्