पार्टी एकता जोगाउन धेरै प्रयास गर्दा पनि असफल भएँ: वामदेव गाैतम (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

सांसद वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा छलफल नगरेको भन्दै आपत्ति जनाएका छन्। 

बिहिबार पहिलोपटक राष्ट्रियसभामा सम्बोधन गर्दै नेता गौतमले पार्टी एकतालाई जोगाउनका निम्ती धेरै पहल गरेपनि आफू असफल भएको स्वीकार गरेका हुन्। 

‘आरोप प्रत्यारोप हुँदा पनि मैले धेरै कुरा मिलाउन खोजे। प्रधानमन्त्रीलाई मैले धेरै पटक सम्झाएको हुँ। तर अविश्वासको प्रस्ताव लिन खोज्दा मलाई थाहा थिएन,’ उनले भने। 

उनले एकताको महोल बनाउदा पार्टी भित्र बिरोधीको रुपमा आफूलाई उभ्याइएको भन्दै दुःख व्यक्त गरे।  

‘मेले धेरै कुरा उठाए, सुधारका धेरै कुरा गरे तर पुरा हुन सकेन, एक बिरोधी जस्तो भएर प्रकट भएँ,’ उनले भने।  

उनले आफूलाई राष्ट्रिसभामा लगेकोमा राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन दलका नेतालाई पनि धन्यवाद दिए।

‘मलाई राष्ट्रिय सभामा मनोनित गर्नु हुने राष्ट्रपति, प्रधानमन्त्री र त्यसबेलाका पार्टी सम्पूर्ण नेताहरूलाई धन्यवाद दिनुपर्छ,’ उनले भने। 

उनले आफू पहिलो पटक उपस्थित भएकाले यहाँको प्रक्रियामा पनि अलमलिएको बताए। ‘आज म खुसी हुनु पर्ने हो तर छैन,’ उनले भने। 

नेता गौतमले आफूले आफ्नो जीविन कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको बताए।

‘७३ वर्षको उमेरमा ७ वर्ष घटाएर बाँकी जीवन मैले कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको छु’, उनले भने ‘बाँकी जीवन कम्युनिस्ट आन्दोलनको एकतामा लाग्छु।’

उनले आफ्नो घरमा बा–आमा र आफन्त कांग्रेस रहे पनि आफू कम्युनिष्टमा सक्रिय रहेको उल्लेख गरेका थिए।
 

प्रकाशित मिति: : 2021-01-07 13:29:00

प्रतिकृया दिनुहोस्