खेलाडी प्रोत्साहन भत्तामा ‘सामाजिक न्याय’ कति?

नेपाल लाइभ

काठमाडौँ

  ऋग्वेद शर्मा

दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता, एसियाली खेलकुदमा कुनै पनि पदक विजेता र ओलम्पिकमा सहभागी नेपाली खेलाडीले गएको चार वर्षसम्म पाउँदै आएको प्रोत्साहन भत्ता अहिले छ महिनादेखि रोकिएको छ। प्रोत्साहन भत्ताका लागि खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) देखि मन्त्रालयसम्म कुरा राखिरहेका छन्। 

२०७३ सालमा खेलकुद मन्त्री दलजित श्रीपाइली रहँदा खेलाडीलाई प्रोत्साहन भत्ता दिन सुरु गरिएको थियो। जतिबेला राखेप सदस्यसचिव केशव विष्ट थिए। खेलाडीले उठाइरहेको विषयमा सदस्यसचिवसँगको सल्लाहमा मन्त्री श्रीपाइलीले प्रोत्साहन भत्ताको निर्णय गरेका थिए। त्यसबेला सागमा स्वर्ण पदक विजेता र एसियाली खेलकुदमा कुनै पनि पदक ल्याउनेलाई मासिक ५ हजार र ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक ३ हजार रुपैयाँ दिने निर्णय भएको थियो। 

प्रोत्साहन भत्ता सुरु गर्दाको समय सम्झँदै श्रीपाइली भन्छन्, ‘खेलाडीलाई कसरी प्रोत्साहित  गर्न सकिन्छ भन्ने विषयमा कुराकानी हुँदा पदक विजेतालाई प्रोत्साहनस्वरुप मासिक केही रकम दिनुपर्छ भनेर निर्णय गराएको थिएँ। देशका लागि खेल्ने खेलाडीलाई रोजगारीकै राम्रो व्यवस्था हुनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसले खेलाडीले गर्व गर्न सक्ने वातावरण बन्छ। त्यसले देशले नै प्रोत्साहन पाउँछ।’ 

गएको वर्षदेखि भने सागमा स्वर्ण पदक विजेता र एसियाली खेलकुदमा कुनै पनि पदक ल्याउनेलाई मासिक ६ हजार र ओलम्पिक सहभागीलाई मासिक ४ हजार रुपैयाँ दिने गरिएको राखेपले जनाएको छ। जसमा साग र एसियाली खेलकुदमा पदक जित्नेले पदक संख्या अनुसार रकम पाउँछन्। सागको एक स्वर्ण र एसियाली खेलकुदको कुनै पनि पदक बराबर ६ हजार रुपैयाँका दरले। 

प्रकाशित मिति: : 2021-01-11 11:50:00

प्रतिकृया दिनुहोस्