ट्रम्पकाे पद संकटमा: २५ औँ संशोधन सक्रिय पार्ने सम्बन्धी प्रस्ताव पारित

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले संविधानको २५ औँ संशोधन सक्रिय बनाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ।

मंगलबार बेलुका भएको मतदानमा तल्लो सदनले संशोधनलाई सक्रिय बनाई राष्ट्रपतिबाट डोनाल्ड ट्रम्पलाई हटाउने सम्बन्धी प्रस्ताव पास गरेको हो।

संविधानको २५ औँ संशोधनको सेक्सन ४ मा उपराष्ट्रपतिले बहुमत मन्त्रीहरुको साथमा राष्ट्रपतिलाई शक्तिहिन गर्न सक्ने व्यवस्था रहेको छ। यता अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन्। 

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका थिए। 

त्यसपछि तल्लो सदनले २५ औँ संशोधन सक्रिय बनाएर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउन उपराष्ट्रपतिलाई आग्रह गर्ने प्रस्ताव पारित गरेको हो।

गएको बुधबार संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र विद्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ।

उपराष्ट्रपति पेन्सले तल्लो सदनलाई पठाएको पत्रमा कार्यकालको आठ दिन मात्रै बाँकी हुँदा राष्ट्रपतिलाई हटाउनु देशको हित र संविधानको व्यवस्था अनुकुल नहुने दाबी गरिएको छ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव समेत दर्ता भएको छ। सो प्रस्तावमा बुधबार ९स्थानीय समय अनुसार० मतदानको तयारी भएको छ।

यसैबीच राष्ट्रपति ट्रम्पकै पार्टी रिपल्बिकनका कतिपय सिनेटरहरु पनि ट्रम्पलाई हटाउने अभियानमा जुट्न थालेका बताएको छ।

प्रतिनीधि मण्डलमा रहेका वरिष्ठ रिपब्लिकन लिज चेनीले ट्रम्पविरुद्ध मतदान गर्ने घोषणा गरेका र डोमोक्र्याट्को अभियानमा अरु रिपब्लिकनले पनि साथ दिन थालेका छन्।

तल्लो सदनबाट महाअभियोग सम्बन्धी प्रस्ताव पारित भएमा दोस्रो पटक महाअभियोग लाग्ने राष्ट्रपति ट्रम्प पहिलो बन्ने छन्।

प्रकाशित मिति: : 2021-01-13 11:27:00

प्रतिकृया दिनुहोस्