मङ्गलबार, ०५ अगस्ट २०२५

ओलीले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे गर्नुहुन्छ त्यो बोल्नुहुन्न– प्रचण्ड

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनको कारण प्रधानमन्त्री केपी शर्मा ओलीसँगको व्यक्तिगत रिसइवी नभएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवासंघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको भनाइ र गराइमा फरक रहेकोले छुटिनुपरेको बताएका हुन्। 

‘ओलीको भनाइ र गराइमा पनि फरक छ। ओलीले एकथरी भन्ने र अर्कोथरी गर्दै आएका छन्। ओलीले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे गर्नुहुन्छ त्यो बोल्नुहुन्न। त्यसैले उहाँलाई छाड्नुपरेको हो’, प्रचण्डले भने।

उनले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटातर्फ संकेत गर्दै भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीले ‘आफूले पनि नगर्ने र गर्न पनि नदिने’ भनेर सुन्दर नारा बनाएर भ्रष्टाचारीलाई सफाइ दिँदै हिडेको आरोप समेत लगाए।

‘भन्नेबेला भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुहुन्छ तर अदालतामा मुद्दा रहेका भ्रष्टचारीलाई सफाई दिँदै हिँड्नुहुन्छ। भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने नारा भ्रष्टाचारी जोगाउनकै लागि ओलीले प्रयोग गरेको हाे’, उनले भने।

प्रचण्डले ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्ने बाध्यता सिर्जना भएकोसमेत दाबी गरे।

‘तपाईंको बाटो पतनको बाटो हो। त्यो हामीलाई स्वीकार्य छैन भनेर ओलीलाई सम्झाएको थिएँ। तपाईंको विरोध गरेको मात्र हैन हामीभित्र पनि तपाईंको रोग सर्छ कि भनेर हामीमा संक्रमण सर्नुअघि तपाईंलाई मेजर अप्रेसन गर्नुपरेको हो,’ उनले भने। 

प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन्।

‘संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको छ। संविधानको हत्या हुँदा हाँस्न सक्ने अवस्थामा छैनाैं। अहिले देश तनाबमा छ। संविधानको चिन्ता छ’, उनले भने।

तर, सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले बताए।

ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको प्रचण्डले बताए। ‘प्रतिक्रियावादीहरुसँग साँठगाँठ भयो। त्यो अमान्य छ। घृणा गर्छौं। त्यो पतनको बाटो अस्वीकार्य छ’, प्रचण्डले भने।

आइतबार, माघ ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)