निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : पहिले रुख काटेर मात्र गणना गर्ने तयारी

नेपाल लाइभ

काठमाडौँ

 उत्तम काप्री

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाराको निजगढस्थित निर्माणस्थलमा रहेका रुख पहिले काट्ने र त्यसपछि मात्र तिनको गणना गर्ने तयारी अघि बढाएको छ। रुख पहिले गणना गरेर काट्ने नभइ काटेर मात्र गणना शुरु गर्ने तयारी सरकारले अघि बढाएको हो। 

बहुप्रतीक्षित विमानस्थल निर्माण गर्ने नै भएपछि झन्झटिलो प्रक्रियालाई सहज बनाउनेगरी यो विषयमा छलफल सुरु भएको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताए। तर, यो विषय छलफलकै चरणमा रहेको र निर्णय भइनसकेको आलेको दाबी छ। 

पहिले रुख काटेर मात्र गणना गर्ने तयारी अघि बढाइएकाले अहिले भइरहेको गणना पनि रोक्ने तयारी मन्त्रालयले गरेको छ। ‘अहिले रुख गणना गरेर कटानी गर्ने कानूनी व्यवस्था छ। यो विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले अहिलेको केही झन्झटिलो कानुनी प्रक्रियालाई मन्त्रिपरिषदमा लगेर निर्णय गर्ने विषयमा छलफल सुरु भएको छ,’ मन्त्री आले नेपाल लाइभसँग भने, ‘निर्णय भने भइसकेको छैन। विमानस्थल निर्माण नै गर्ने भएपछि फास्ट ट्रयाकबाट निर्णय गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग पनि कुरा भइरहेको छ। यो विषयमा प्रधानमन्त्रीज्यूलाई समेत बिफ्रिङ  गरेर मात्र आवश्यक निर्णय लिइनेछ।’ 

प्रकाशित मिति: : 2021-01-26 21:13:00

प्रतिकृया दिनुहोस्