मङ्गलबार, ०५ अगस्ट २०२५

कोरोनाविरुद्धको पहिलो खोप लगाएपछि डा. बाँस्तोलाले भने, ‘उपचारमा खट्न आत्मबल अझ बढेको छ’ 

कमल विक

कमल विक

काठमाडाै‌ं
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल कार्यक्रममार्फत् कोरोना खोप अभियानको उद्घाटन गरे। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक कार्यक्रमबीच खोप अभियान सुरु भयो। पहिलो खोप लगाए– अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले।  

बाँस्तोला उनै चिकित्सक हुन्, जो कोरोनाविरुद्ध लड्ने टेकु अस्पतालका मुख्य कार्यकारी हुन्। उनी १० महिनादेखि दिनरात कोरोनासँग जुधिरहेका छन्। जोखिम मोलेर अस्पतालमै बसी कोरोना संक्रमितको उपचारमा दिनरात खटेका छन्। 

सबैभन्दा पहिलो खोप आफैँ लगाएर खोप लगाउँदा कुनै समस्या नआउने भन्ने विश्वास दिलाएका थिए। ‘संक्रमणविरुद्धको खोप सरकारले ल्याएर हामी स्वास्थ्यकर्मीले पहिलो प्राथमिकताका साथ खोप लगाउन पाउँदा खुशी लागेको छ’, उनले भने। 

खोप आउँदैछ भन्ने थाहा पाउँदा अत्यन्त उत्साहित थिए– डा बास्तोला।  अझ देशमै सबैभन्दा पहिला खोप लगाउन पाउँदाको अनुभूति साटे, ‘ भाग्यमानी भएको अनुभूति भएको छ।’

अस्पतालमा कार्यरत डाक्टर, नर्सदेखि सरसफाइ मजदुरसम्म गरी करिब एक सय जनाले बुधबार कोरोनाविरुद्धको खोप लगाएका छन्।  जोखिम मोलेर अहोरात्र कोरोना भाइरस संक्रमितकोे उपचारमा झण्डै एक वर्षदेखि खटेका स्वास्थ्यकर्मीले खोप पाएपछि सुरक्षित महसुस गरेका थिए। यसको आभाष उनीहरुको अनुहारमा झल्कथ्यो। 

भारत सरकारको अनुदान सहयोगमा १० लाख ‘डोज’ कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ गत साता नेपाल आइपुगेको थियो। उक्त खोप ७५ जिल्लाका १२० खोपकेन्द्रबाट अभियानका रुपमा लगाउन सुरु गरिएको हो। सरकारले प्राथमिकताका आधारमा कोरोना बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकहरुलाई पहिलो चरणको खोप दिने तयारी गरेको छ।

विगतमा कोरोनाको निरोधात्मक औषधि नभएका बेला काम गर्दा मनमा डर लाग्ने गरेको यथार्थ खोल्दै बाँस्तोलाले भने, ‘अब कोरोनाविरुद्धको खोप लगायौँ, यसपछि बिरामीको उपचारमा खट्ने आत्मबल झन बढेको छ। अब हामी र हाम्रा परिवार सुरक्षित भएको महसुस भएको छ।’

कोरोनाविरुद्धको खोप बीसीजी, डिपिटी वा एन्टिरेबिज खोप जस्तै सामान्य भएको पनि उनले बताए।‘यो लगाउन डराउनुपर्दैन, कोरोना बाहेक अरु खोप लगाउँदा पनि शरीर चिलाउनु, दुख्नु वा एलर्जी हुनु सामान्य हो’, उनले भने, ‘केही होला कि भन्ने डर नमाने हुन्छ। मैले खोप लगाएपछि केही नकारात्मक असरपरेको छैन। त्यसैले सबैलाई निडर भएर खोप लगाउन आव्हान गर्छु।’

डा. बाँस्तोलाले आफ्नो विश्वास सुनाए, ‘सबै हिसाबले यो खोप सुरक्षित छ। महामारीको सुरुवाती दिन भएकोले यो खोप धेरै प्रभावकारी र उत्कृष्ट छ।’
उनका अनुसार, यो खोप १८ वर्षभन्दा कम उमेरका मानिसमा परीक्षण भएको छैन। १८ वर्षमाथि उमेर समूहका व्यक्तिले खोप लगाउँदा कुनै ‘साइडइफेक्ट’ नपर्ने दाबी गर्दै उनले भने, ‘तर यो खोप गर्भवती, स्तनपान गराउने महिला र ‘एलर्जी’ हुने व्यक्तिले लगाउनुहुँदैन।’

खोप लगाउने बित्तिकै तत्काल कोही सुरक्षित नहुने जाकारी दिँदै डा. बाँस्तोलाले भने, ‘भोलि नै सुरक्षित भइन्छ भन्ने छैन। खोप प्रभावकारी हुन ६ देखि ८ हप्ता लाग्छ।’कोरोनाबाट जोगिन पहिलेदेखि अपनाउँदै आएका सुरक्षा सावधानी अपनाउन सुझाव दिँदै डा. बाँस्तोलाले भने, ‘उपाय अपनाउनुपर्छ। विशेष गरी वृद्धवृद्धा र बिरामीलाई खोप छिट्टै लगाउन पाए मलाई झनै सन्तुष्टि मिल्ने थियो।’

बुधबार, माघ १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!