पशुपतिमा १४१ किलो सुनको जलारी राख्ने निर्णय : मौलिकता मासेर महादेवलाई सुन चढाउन खोजेको भन्दै संस्कृतिविद्हरू विरोधमा

पशुपतिमा सांस्कृतिक अतिक्रमण सहँदैनौँ, प्रतिरोध गर्छौं : संस्कृतिविद् नरोत्तम वैद्य (अन्तर्वार्ता)

सरकारले पशुपतिमा शिवजीको मूर्तिमा एक सय ४१ किलोको सुनको जलारी राख्ने तयारी गरेको छ । मौलिक, पुरातात्विक र सांस्कृतिक मूल्यविपरीत महादेवलाई सुनको जलारी चढाउन खोजिएको भन्दै संस्कृृतविद्हरूले विरोध गरेका छन् । 

महामारीका वेला जनतालाई पिसिआर टेस्ट गर्न नसक्ने सूचना जारी गरेको सरकारले मन्दिरमा सुन चढाउन भने एक अर्बभन्दा बढी खर्च गर्न लागेको छ । एकातिर जनताप्रति बेवास्ता र अर्कोतिर संस्कृतिमाथि अतिक्रमण गर्न खोजेको भन्दै सरकारी कदमको विरोध भएको हो । 

प्रधानमन्त्री केपी ओलीले पशुपतिमा गएर विशेष पूजा–आराधना गरेकै दिन ३० करोड रुपैयाँ तत्कालै दिने प्रतिबद्धता मात्रै जनाएनन्, सुनको जलारी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न सरकारी निकायलाई दिर्नेशन पनि दिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम पशुपति क्षेत्र विकास कोष यतिवेला सुनको जलारी निर्माणमा जुटेको छ । त्यसका लागि कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा कार्यदल नै गठन गरिएको छ । 

पशुपति क्षेत्र विकास परिषद्ले जलारी निर्माणका लागि औपचारिक निर्णय पनि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको परिषद् बैठकले प्रधानमन्त्रीको निर्देशनबमोजिम जलारी राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओली गत १२ माघमा पशुपतिमा पूजा गर्न गएका थिए । १३ माघमा परिषद् बैठक बसेर जलारी राख्ने निर्णय गरेको हो । 

अहिले भएको दुई सय वर्षभन्दा पुरानो चाँदीको जलारी हटाएर सुनको राख्न सरकारले बजेट पनि छुट्याएको छ । ‘चाँदीको जलारी पुरानो भएकाले नयाँ भने सुनको बनाउने गरी निर्णय भएको हो, अब छिट्टै प्रक्रिया अगाडि बढ्नेछ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकालले भने । 

प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद्मा अध्यक्षको हैसियतमा आफूले ठाडो प्रस्ताव लगेर निर्णय गराएकोसमेत मन्त्री ढकालले बताए । पशुपति पवित्र स्थल भएकाले यसका लागि सरकारले ३० करोड दिने र बाँकी रकम पशुपति कोषले व्यवस्था गर्ने गरी अगाडि बढाइएकोसमेत मन्त्री ढकालले जानकारी दिए । 

यता, पुरातत्व विभागलाई भने अहिलेसम्म कोषले जानकारी गराएको छैन । पशुपति क्षेत्र पनि विश्वसम्पदा सूचीमा रहेको छ । पशुपतिमा जलारीका विषय आइरहने गरेको विभागका महानिर्देशक दामोदर गौतमले बताए । अहिले चाँदीमाथि सुन राख्ने कुरा सुनेको, तर यस विषयमा कोषले विभागलाई जानकारी गराइनसकेको गौतम बताउँछन् । ‘पशुपति विकास कोषले जानकारी गराउन बाँकी नै होला, तैपनि हाम्रो चासो हुने स्वाभाविक विषय हो,’ गौतमले भने । 

उता संस्कृतिवद् तथा कोषका पूर्वपदाधिकारी नरोत्तम वैद्य भने महादेवलाई सुन चढाउने खोज्नु नै सांस्कृतिक अतिक्रमण भएको बताउँछन् । ‘हरेक मन्दिर र हरेक देउताको आफ्नो मौलिकता र पहिचान हुन्छ । महादेव र सुनको कुनै साइनो छैन । महादेवलाई सुन चढाउनु उनको अपमान हो । हामी पशुपतिको अपमान हुन दिनेछैनौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

प्रकाशित मिति: : 2021-02-01 07:36:00

प्रतिकृया दिनुहोस्