दलित कर्मचारी छैनन् गाउँपालिकामा

सूर्यखबर

हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा दलित एकता स्वतन्त्र सञ्जालको बैठक सम्पन्न भएको छ।

सर्केगाड गाउँपालिका–१ देखि वडा नं ८ सम्म रहेका दलित समुदायका व्यक्तिले उक्त भेलामा उपस्थित भएर आफ्नो अधिकारका विषयमा सरोकारवाला निकायलाई पूर्ण कायान्वय गराउने प्रतिबद्धता जनाएका छन्। 

सम्पूर्ण दलितले आफ्नो हकअधिकारको संरक्षण गर्न र सरोकारवालालाई नेपालको संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन गराउन गाउँपालिकास्तरीय आम भेलाको आयोजना गरेको वडा नं ३ का गम्भीर नेपालीले जानकारी दिए। 

प्रत्येक बस्तीबाट दलित समुदायका घरको एक व्यक्ति उपस्थित भएको वडा नं ७ का नन्दलाल विकले बताए। उनले भने, 'यो विशाल ¥याली कुनै राजनीतिक आस्थाका आधारमा नभएर दलितका समग्र अधिकार संरक्षण र उपभोगका लागि सरोकारवालालाई ध्यानाकर्षण गराउन र दलितलाई जागरण गराउनका लागि गरिएको हो।' 

यस्तै सोही  गाउँपालिका वडा नं ४ का वडा सदस्य धन सुनारले दलितका अधिकार नेपालको संविधान र कानूनमा मात्र सीमित रहेको तर गाउँठाउँमा यो पटक्कै लागू नभएको बताए। गाउँपालिकामा अहिलेसम्म एक पनि दलित कर्मचारी छैनन्। 'सम्पूर्ण क्षेत्रको सहभागिताको सुनिश्चितता गराउनका लागि हामीले लगभग ३०० जना दलितको उपस्थिति गराएर यो आमभेला गरेका छौँ' उनले भने।

भेलापछि धनलाल विकको संयोजकत्वमा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ। यसैगरी १९ सदस्यीय सल्लाहकार समिति, १७ सदस्यीय अनुगमन समिति र आठवटै वडामा वडा समितिसमेत गठन गरिएको छ। रासस 

 

प्रकाशित मिति: : 2021-02-01 21:04:00

प्रतिकृया दिनुहोस्