विराटनगरमा प्रहरी र युवाहरुबीच टायर तानतान

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड– नेपाल समूहले देशव्यापी आमहड्ताल आयोजना गरेको छ। घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड– नेपाल समूहका नेता–कार्यकर्ता सडकमा उत्रिएका छन्।

उक्त समूहको आमहड्तालले नागरिकको जीवन प्रभावित भएको छ। विराटनगरमा सार्वजनिक बाहेका निजी गाडी फाट्टफुट्टमात्र चलेका छन्। मोटरसाइकल भने बाक्लै रूपमा चलेका छन्। फाट्टफुट्ट चलेका सार्वजनिक सवारीमा पनि बन्दकर्ताको आक्रमणको जोखिम उत्तिकै छ।

विराटनगरका मुख्य सडक आसपासमा पसल खुलेका छैनन् भने भित्री क्षेत्रका पसल व्यवसाय सन्चालनमा छन्। बिहानै प्रचण्ड नेपाल निकट अनेरास्ववियू र युवाको समूहले विराटनगरको शनिमन्दिर चौकस्थित टायर बालेर प्रदर्शन गरेका छन्।

शनिमन्दिर चौकमा बिहानै बालिएको टायर प्रहरीले निभाएको थियो। त्यसपछि पनि प्रहरी र युवाहरुबीच टायर तानतान भयो। 

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड–माधव समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो।

बन्दकर्ताहरुले मोटरसाइकल र सिटी सफारी चलाउन भने छुट दिएका छन्। मजदुर वर्गको रोजगारीमा असर नगर्ने भन्दै सिटी सफारी र मोटरसाइकल सञ्चालन नरोकिएको प्रदेशसभाका सांसद कुलप्रसाद लिम्बुले बताए।

प्रकाशित मिति: : 2021-02-04 12:31:00

प्रतिकृया दिनुहोस्