बैतडीमा बाबुले किन हाने आफ्नै छोरीलाई गोली?

नेपाल खबर

काठमाडाैं

बैतडीको पुर्चौडी नगरपालिका–३, जोग्गौडाकी २० वर्षीया बेलमती महरा धामी करिब एक महिनाअगाडि पुर्चौडी नगरपालिका–१०, विजयपुरस्थित माइती घरमा आइन्। विवाह गरेर जोग्गौडा गएपछि बुवाआमासँग भेटघाटका लागि उनी बेलाबेला माइती आउजाउ गरिरहन्थिन्। तर यसपटक उनको माइती बसाइ अन्तिम बन्यो।

शनिबार साँझ जन्मदाता बुवा नै उनका लागि काल बनेर आए। प्रहरीका अनुसार ६५ वर्षीय धनबहादुर महराले गोली हानेर छोरी बेलमतीको हत्या गरेका हुन्।

स्थानीयका अनुसार धनबहादुरले बहुविवाह गरेका छन्। यही कारण घरमा दिनहुँ कलह भइरहन्थ्यो। शनिबार पनि धनबहादुर र उनकी श्रीमतीबीच झगडा भएको थियो।

प्रहरीका अनुसार सोही क्रममा झगडा छुट्याउन गएकी छोरी बेलमतीलाई धनबहादुरले गोली हानेका हुन्। 

‘श्रीमान् र श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा छोरीलाई गोली प्रहार गरेको खुलेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले आइतबार बिहान नेपालखबरसँग भने, ‘गोली प्रहारबाट छोरीको घटनास्थलमै ज्यान गएको हो।’

उनका अनुसार भरुवा बन्दुकबाट गाेली हानिएकाे हाे। 

प्रकाशित मिति: : 2021-02-07 10:22:00

प्रतिकृया दिनुहोस्