बिहिबार, २१ अगस्ट २०२५

गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य: पूर्वमन्त्री बस्नेत

News Image
• • •

पूर्व सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन्।

शनिवार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राखे। शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्ने भन्दै उनले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताए।

समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उनले अरुलाई सेवा गरे बापत् प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा व्यक्त गरेका हुन्। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताए।

नगरपालिकाका शैक्षिक संस्थाहरूलाई आगामी दिनमा अझ सशक्त बनाइने उनले बताए। चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदीले संस्कार सहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराए।

कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्व अध्यक्ष गोपाल बराल लगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गरे। सोही अवसरमा पूर्व सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले चामुण्डाका पूर्व विद्यार्थी समेत रहेका समता स्कुलका संचालक उत्तम सञ्जेललाई सम्मान गरे।

विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहेका कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि उक्त अवसरमा सम्मान गरियो। यसैबीच मञ्चको शनिवारै सम्पन्न पहिलो साधारण सभाले कुमार राज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। मञ्चको उपाध्यक्षद्धयमा क्रमशः रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहेका छन्। सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहेका छन्। सदस्यहरूमा डाक्टर सोमबहादुर धिमाल, डाक्टर राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन भएका हुन्।

२०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्ये एक मानिन्छ।

शनिबार, फाल्गुण ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)