आफ्नो लागि आफ्नै विचार सर्वोपरी

सबै विचार सबै ठाउँमा प्रस्तुत गर्न लाभदायक हुँदैन। सत्य नै भए पनि कैयौं विचारहरू सबै ठाउँमा व्यक्त गरिनु आफैंलाई हानिकारक हुन्छ। सत्य वचन र व्यवहारलाई तोडमोड गरी स्वार्थपूर्ति गर्ने समूह पनि हाम्रो साथमा सधैँ सँगै रहेको कुरा हामीले बिर्सनु हुँदैन। जहिले पनि त्यस्ता व्यक्तिहरूले आफ्नो निहित स्वार्थसिद्धिका निम्ति अरूलाई प्रयोग गरिरहेका हुन्छन्।

आफूले केही सिर्जना गर्न नसक्ने तर अरूले ल्याएको सोचमा खेल्न जानेकाहरूले आफूलाई फन्दामा पारेर दुरुपयोग गर्न सक्ने कुरा कहिल्यै नजरअन्दाज गरिनु हुँदैन।

व्यक्तिको मनमा आएको सोचले संसारलाई अर्कै दिशातर्फ मोडिदिन सक्ने हुनाले आफ्नो विचारलाई कहिल्यै कमजोर सम्झेर अरूको विचारको पछि लागि हिँड्नु हुँदैन। सुरु सुरुमा कुनै पनि विचारकले प्रशंसा पाएका हुँदैनन्।

गौतम बुद्ध होउन् या जिसस क्राइस्ट, उनीहरूले व्यक्त गरेका विचारकै कारण उनीहरू सजायका भागिदार बनेको कुरा हामीले बिर्सेका छैनौं। तर पनि उनीहरूले आफ्नो विचारलाई सधै सर्वोपरि राखेर व्यक्त गर्दै अभियानलाई निरन्तरता दिइनै रहे।

उनीहरूका पनि समर्थक र विरोधी दुवैथरी मानिसहरू थिए तर पनि उनीहरुले आफ्ना सोचलाई साकार बनाउन निरन्तरता दिई नै रहेको हुनाले भविष्यमा उनीहरू आफ्नो विचारका प्रवर्तकको रूपमा स्थापित हुन पुगे। त्यसैले हामीले पनि हाम्रो विचारलाई कसैले विरोध वा समर्थन गरेकै भरमा परिवर्तन गरिहाल्नु पर्दैन।

हाम्रो समाजमा ठूलाहरूको विचार चाहे जस्तोसुकै होस् राम्रो मानिने प्रचलन रहेको छ। ‘ठूलाले गर्छ जो काम हुन्छ, त्यो सर्वसम्मत’ भन्ने कथन पनि हामीले सधैं सम्झिरहनु पर्छ। समाज जहिले पनि ठालूहरूको नियन्त्रणमा रहेको हुन्छ।

जतिसुकै तीक्ष्ण बुद्धि भएको मानिस भए पनि गरिब घरानाको रहेछ भने ऊ सधैं सानोतिनो काममै अल्झिरहेको हुन्छ वा अल्झिन विवश हुन्छ। उसको विचार समाजले सामान्य रूपमा लिन्छ र उसलाई आदर्शको रूपमा स्विकार्न समुदाय खासै तयार रहेको हुँदैन। 

त्यसैले नेतृत्वमा सम्भ्रान्तहरूकै बोलबाला रहेको हुन्छ। दु:खी गरिबको बीचमा यदि कोही उच्च सोचको व्यक्ति जन्मियो भने पनि उसको विचार सामान्य रकममै ठालूहरूले आफ्नो बनाएर प्रयोग गरिरहेका हुन्छन्। त्यसैले संसारमा सबैभन्दा ठूलो आफूलाई सम्झनु पर्छ। आफ्नो विचार आफ्नो लागि सबैभन्दा लाभदायक हुन्छ।

कामको सिलसिलामा विभिन्न समयमा हामीले विभिन्न जिम्मेवारीहरू बहन गर्दै आएका हुन्छौं। जिम्मेवारी बहन गरेर आफूलाई अब्बल सावित नगरी गरिबगुरुवाका सन्तानले समाजमा प्रतिष्ठा पाउन सकेका हुँदैनन्।

उनीहरूको सोच र विचार गहन तथा महत्त्वपूर्ण भए पनि समाजले त्यसलाई सजिलै अङ्गिकार गर्न सकेको हुँदैन । त्यसैले हामीले आफ्नो अनुभवको आधारमा राखिने कैयौं विचारहरू सजिलै हावामा उडाइदिने समूह हाम्रै समाजमा रहेको हुन्छ।

तलतिर गइरहेको ‘एलिवेटर’ (लिफ्ट)मा आफू जबर्जस्ती माथितिर उक्लेर उपल्लो तलामा पुग्न जति कठिन हुन्छ, त्यति नै गैरसम्भ्रान्तहरूको विचारले समाजमा स्थान पाउन कठिन हुन्छ। समाजको विकासमा त्यस्तै कुराहरूले ब्रेक लगाउने र गतिलाई सुस्त गराउने गरेको हुन्छ।

आफूलाई राम्रो लागेको कुरा अरूलाई पनि राम्रो लाग्न सक्छ तर अरूले उक्त कुरालाई बङ्ग्याएर अनावश्यक थपथाप गरी हाम्रो विरुद्धमा दुरुयोग गर्न सक्ने खतराबाट जोगिनु पनि ठूलो सफलता हुन्छ।

कामको जिम्मेवारीको शिलशिलामा अभिव्यक्त विचारहरूलाई आफ्नै कथित हितैषीहरूले दुरुपयोग गरेर आफूलाई धोका दिनसक्ने हुनाले चित्त नबुझेका कैयौँ कुराहरूलाई औपचारिक रूपमा स्वीकार्न बाध्य हुनुपर्छ। आफ्नो मनसाय ठिक छ तर अन्य व्यक्तिहरूले त्यसमा आशंका गरेर अनावश्यक आलोचना गरेको सुन्दा कसैलाई पनि चित्त बुझेको हुँदैन।

चित्त नबुझे पनि कैयौं कुराहरू औपचारिकतामा सीमित राखिनुपर्छ। कसैले पनि आफूले अभिव्यक्त गरेका कुराहरूलाई दुरुपयोग गरेर नाजायज फाइदा लिन र आफूलाई हानी(नोक्सानी पुर्‍याउन नसकोस् भनेर हामी सधैँ सचेत र चनाखो हुनुपर्छ।

समूह कार्यमा सबैको सोच सकारात्मक नहुन पनि सक्छ तर हामीले नेतृत्वको भूमिकामा रहदासम्म उनीहरूलाई पनि प्रशंसा गरेरै आफ्नो वशमा राखिरहनुपर्छ। कसैलाई पनि उसको कमजोरी बताइदिने मानिस राम्रो लाग्दैन। यो नै मानवको सबैभन्दा ठूलो कमजोरी हो। सबैलाई आफ्नो प्रशंसा गरेकै मन पर्छ। 
यो सामान्य मानवीय स्वभाव हो तर हामीले आफ्नाविरूद्ध अभिव्यक्त विचारहरूलाई गम्भीरतासाथ सुन्ने र मनन गरेर आफूलाई सोही बमोजिम परिवर्तन समेत गराउन सक्नुपर्छ। केही मानवीय कमजोरी रहेछन् भने सजिलै महसुस गरी सच्याउनुपर्छ तर कसैले पूर्वाग्रही बनेर आफ्नो आलोचना गरेको रहेछ भने उसको मनसाय बुझ्नुबाहेक थप केही गरिरहनु पर्दैन।

कसैले आफूलाई सच्याउने मनसायले व्यक्त गरेका आलोचनात्मक कुरा छन् भने पनि तिनलाई सहर्ष स्वीकार्नु पर्छ तर आफूले असल मनसायबाट व्यक्त गरेका कुरालाई तोडमोड गरी दुरुपयोग गरिएको रहेछ भने त्यसको प्रतिवादसमेत गर्न पछि पर्नुहुँदैन।

कैयौं मानिसहरू हाम्रा कमी–कमजोरीहरू खोजी त्यसलाई तीलको पहाड बनाएर समाजमा बदनामसमेत गराउने प्रवृत्तिका हुन्छन्। त्यस्तो प्रवृत्तिका व्यक्तिसँग पनि हामीले सहकार्य गर्नुपर्छ। समाज हरेक किसिमका मानिसहरूको साझा थलो हो। समाजसेवी, परोपकारी, दानी, धर्मात्मा, अपराधी आदिको संयुक्त रूप नै समाज हो।

सबै प्रकारका विचार व्यवहारलाई समाजले विभिन्न किसिमले स्थान दिएको हुन्छ। कसैलाई पुरस्कृत गरेको हुन्छ भने कसैलाई समाजले सजाय दिएको हुन्छ। साझा थलोको रूपमा रहेको समाजलाई हरेक व्यक्तिले आफ्नै किसिमले प्रयोग र उपयोग गरिरहेका हुन्छन्। हामी पनि त्यही समाजका अभिन्न अङ्गको रूपमा स्थापित छौं।

त्यसैले समाजले स्वीकृति प्रदान नगरेका कुरा गर्न हामी तयार हुँदैनौं। राम्रो वा नराम्रो लाग्ने जुनसुकै कुरा पनि समाजले स्वीकार गरेमा मान्य हुन्छ। व्यक्तिको विचारलाई पनि समाजले अङ्गीकार गरेमात्र सार्वजनिक गर्न सकिन्छ।

सबै राम्रा विचारहरू सबैलाई ग्राह्य हुँदैनन्। ठालूहरूको हितमा छैन र बहुसंख्यक नागरिकको लाभदायक कुरा छ भने पनि समाजमा त्यसले मान्यता पाउन धेरै संघर्ष गर्नुपर्छ तर सीमित व्यक्तिको अनुकूल भए पनि ठूलाबडाहरूको हितमा हुने कुरा सजिलै लागू गराइन्छ।

ठालूवादी चिन्तन भनेको आफूलाई एक फाइदा हुँदा समाजलाई ९९ घाटा भएपनि आफ्नै हितमा काम गर्ने प्रवृत्ति हो। यस्तो प्रवृत्ति सानाठूला सामाजिक सबै काममा देखा परेका हुन्छन्। आफूलाई समाजको अगुवा ठान्ने तर निहित स्वार्थबाहेक कुनै काम नगर्ने व्यक्तिहरूले समाजलाई सधैं पछौटे अवस्थामा अनिर्णयको बन्दी बनाएर राख्न खोजिरहन्छन् तर समाजमा केही विद्रोही स्वभावका मानिसहरूले त्यस्ता अराजकहरूको कुविचारको भण्डाफोर र चिरफार गर्ने हिम्मत गरेका हुन्छन्।

समाजमा द्वैध चरित्रका व्यक्तिहरूको पनि कमी हुँदैन। जुन कुराको पक्षमा जनमत धेरै देखिन्छ त्यसैको पक्षमा आफूलाई उभ्याएर जताबाट पनि फाइदा लिन खोज्ने व्यक्तिहरूले समाजका यथास्थितिवादीलाई सहयोग पुर्‍याइरहेका हुन्छन्। त्यस्ता व्यक्तिहरूको पहिचान गरी उनीहरूको चरित्रको पर्दाफास नगरी समाज सुध्रँदैन।

आफूलाई समाजसेवीको रूपमा देखाएर सिधासाधा जनताको शोषण गरिरहेका नेताहरू चिन्न जनतालाई कहिलेकाहिँ कठिन पनि हुन्छ।

उनीहरूको देखिने स्वरूप र वास्तविक रूप फरक हुन्छ। जबसम्म वास्तविक स्वरूपको पहिचान हुँदैन सबै मानिस समाजसेवी, परोपकारी र सद्गुणी भइरहन्छन्। उनीहरूको स्वार्थलिप्त स्वरूपको चिनारी पर्दाफास भएपछि भने समुदायका नागरिकले नाङ्गेझार पार्छन्। देखिँदा राम्रो र व्यवहार खराब हुनेहरूको चुरीफुरी धेरै दिन टिक्न भने सक्दैन।

हामीले समाजलाई नजिकबाट चिन्ने प्रयास गर्नुपर्छ। समाज सबै प्रकारका मानिसहरूको समिश्रणबाट निर्माण हुने र उनीहरूले आ(आफ्नो क्रियाकलाप गरिनै रहने हुनाले उनीहरूसँग जस्तालाई त्यस्तै स्वरूपमा बुझेर आफ्नो विचार संप्रेषण गरिनुपर्छ। आफूलाई थाहा भएको र सत्य कुरा हुँदाहुँदै पनि कतिपय अवस्थामा आत्मीय सबै कुरा सबैसामु खोलिनु आवश्यक छैन।

त्यसले आफूलाई राम्रो त गर्दैन नै बरू आफ्नो विचारलाई बंग्याएर अरूले दुरुपयोग गर्न सक्छन्। त्यसैले आफ्नै नजिकका साथीहरूसँग पनि परिस्थितिको वास्तविकता र गम्भीरताको अवस्थाको आकलन गरी प्रस्तुत हुनु लाभदायक छ।

साच्चिकै साथ दिने र देखावटी साथ दिने मित्रहरू बीचको भिन्नता नछुट्याई गरिने व्यवहारले पनि आफूलाई फाइदा हुँदैन। यही मौकामा व्यक्त गरेका कुराहरूले प्रमाणको रूप लिने हुनाले सार्वजनिक र औपचारिक स्थानमा बोल्दा निकै सजग हुनुपर्छ।

त्यस्तै मौकामा बोलिएका कुराले महत्त्व राख्ने हुनाले औपचारिक समयमा औपचारिक कुरामात्र गरिनु राम्रो हुन्छ। यसले आफूलाई सधैं सफलतातर्फ उन्मुख गराइरहन्छ।

प्रथम चिन्तनमा उत्पन्न विचार आफ्नो निम्ति विशेष महत्त्वको हुने भएपनि परिस्थितिअनुसार कहिलेकाहिँ संशोधन गर्नुपर्ने पनि हुन सक्छ।

व्यक्तिले आफ्नो विचारलाई समाज हितका निम्ति सिर्जना गरेको हुन्छ तर समाजका यथास्थितिवादी चिन्तनका व्यक्तिहरूले त्यसलाई सहजै स्वीकार गर्दैनन्। तर पनि आफ्नो विचारलाई कहिल्यै छोड्नु हुँदैन चाहे कुनै व्यक्ति, समुदाय, समाज वा सिङ्गो मुलुक वा संसारले त्यसलाई सहजै मानोस् वा नमानोस्।


बर्माको सैन्य शासकका कारण २८ वर्ष नेपालमा जीवन बिताएका रकी थापा [भिडियो]

असमको विदेशी हटाओ आन्दोलनकी पहिलो शहीद नेपाली मूलकी वैजयन्तीदेवी

विधर्मीबाट नेपाललाई बचाऊँ 

प्रकाशित मिति: : 2021-02-25 11:39:00

प्रतिकृया दिनुहोस्