‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’

अनलाइनखबर

काठमाडौँ

राजकुमार श्रेष्ठ/सइन्द्र राई

अलग अलग पार्टीमा विभाजित भएपछि नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने प्रयासमा जुटेको छ भने माओवादी केन्द्र कांग्रेस र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने प्रयासमा छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भने प्रधानमन्त्री ओलीले बहुमत जुटाउने कोशिस गर्नु राजनीतिक नैतिकताका हिसाबले गलत भएको मान्छन् । ओलीले संसद विघटन गरेर मध्यावधि चुनावमा जान खोजेको भन्दै उनले भने, ‘उहाँका लागि संसद नै छैन । उहाँले त पुनस्र्थापित संसदको दुई वर्ष मेरो होइन । ज-जसको हो, तिनीहरुले नै गरिखाऊ भन्नुपर्ने हो ।’

यद्यपि कानूनी रुपमा म बहुमत जुटाउँछु भन्न पाउने भन्दै नेता पुनले एमाले-जसपाको गठबन्धन भए आफ्नो पार्टी प्रतिपक्षमा बस्नेसमेत बताए ।

प्रस्तुत छ, नेता पुनसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

संसद विघटनपछि तपाईंहरु छुटि्टनै खोज्नुभएको थियो । फरक यत्ति हो कि त्यसबेला एमालेको एउटा हिस्सा तपाईंहरुतिर थियो, अहिले सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादीको रुपमा अलग हुनुभयो । होइन र ?

त्यसरी छुटि्टने भन्दा पनि विचारको प्रश्न नै मुख्य हो । विचार, राजनीति, सोच मिल्नेहरु, संगठनात्मक कार्यशैली मिल्नेहरु नै पार्टी हो ।

हामीले सोलोडोलो दुई पार्टी एकता गरेका हौं । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सोच हेर्दा कम्युनिस्ट पार्टी एकतावद्ध गर्ने, समाजवादको यात्रातिर जानेभन्दा पनि अलि बढी शक्ति लिइहालौं, सत्ता र शक्तिबाट आफूलाई मजबुत गरौं भन्ने जस्तो देखियो । समाजवादको यात्रातिर जानेभन्दा यथास्थितिमा रुमल्लिने र प्रतिनिधिसभा विघटन हेर्दा पछाडि फर्किन खोज्नु भएको हो । संघीयता पनि मन नपरेको, गणतन्त्रको पनि अपनत्व नभएको, धर्म निरपेक्षता र समानुपातिक समावेशीको स्वामित्व लिनेभन्दा पनि यसलाई कुनै ठाउँमा पुर्‍याएर बिसाउन पाए हुन्थ्यो भन्ने सोच देखियो । त्यसकै परिणाम प्रतिनिधिसभा विघटन हो ।

भन्न त ताजा जनादेश लिन भन्नुभयो तर केका लागि जनमत लिने ? समाजवादतिर जान्छौं भन्ने जनमत झण्डै दुई तिहाई छ । पार्टीलाई एकताबद्ध ढंगले लैजान्छौं भन्ने हो भने जनमत दुई तिहाई छ । अहिलेको संविधानलाई कार्यान्वयन, विकास, सुशासनमा जनमत छ । त्यसो हो भने चुनावबाट लिन खोजेको जनमत के हो त ? पछाडि फर्किन खोजेको भन्ने प्रष्ट छ । त्यसलाई सर्वोच्च अदालतले रोकेर संसद पुनर्स्थापना गरेपछि हाम्रो संविधान बच्यो, राजनीतिक प्रणाली बच्यो ।

तर नेकपाको नाम विवादमा सर्वोच्चको अर्को फैसलाले हामी कानुनी रुपमा अलग अलग दल भयौं । विचार र सोचले झलनाथ खनाल, माधवकुमार नेपालहरुसँग नजिक छौं हामी । हाम्रो अपेक्षा छ, उहाँहरुसँग कुनै न कुनै तरिकाले एकतावद्ध हुन्छौं र त्यसले ओलीजी र उहाँसँग रहेका साथीहरुलाई सोच्न बाध्य पार्छ ।

प्रकाशित मिति: : 2021-03-10 22:04:00

प्रतिकृया दिनुहोस्