महेश नेपाली
'जुम्ला जस्तो ठाउँमा डाक्टरी अध्ययन गर्न पाउँदा खुशी लागेको छ। सुगमबाट कर्णालीको स्वास्थ्य अवस्था हेर्दा कहालीलाग्दो छ तर त्यही ठाउँमा अहिले डाक्टरी पढाइ हुँदा चिकित्सा शिक्षाले समग्र कर्णालीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने छ।'
कपिलवस्तुबाट चिकित्सा शिक्षाको स्नातकोत्तर अध्ययनका लागि जुम्ला पुगेका डा. वेदकुमार चौधरीले मख्ख हुँदै भने। उनले स्नातकोत्तर अध्ययन सकिएपछि कर्णालीमै काम गर्ने योजना सुनाए।
भक्तपुरबाट आएका डा. रहिस कोजुले डाक्टर पढ्न राजधानी, विदेश र सुगमलाई मात्र ताक्नुपर्ने अवस्था अन्त्य भएको बताए।
दार्चुकाका डा. ललितसिंह धामीले कर्णालीजस्तो विकट क्षेत्रमा डाक्टरी शिक्षाको पहिलो ब्याचको विद्यार्थी हुन पाउँदा खुसी लागेको बताए।
नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएस पढेका उनले कैलाली र दार्चुलामा २ वर्ष काम गरिसकेका छन्। स्नातकोत्तरको पढाइ सकेपछि विकट बस्तीमा काम गर्ने योजना सुनाए।
जुम्लामा डाक्टरी शिक्षाको अध्ययन सुरु भएपछि कर्णालीको स्वास्थ्य अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ लाखौं खर्च गरेर विदेश वा देशका अन्य सहरमा अध्ययनको लागि जानुपर्ने कर्णालीबासीको अन्त्य भएको बताए।
'अब कर्णालीका छोराछोरीले डाक्टर पढ्नको लागि बाहिर जाने होइन, बाहिरका विद्यार्थी कर्णाली आउने अवस्था देखिएको छ,' उनले भने, 'कर्णालीको लागि योभन्दा खुसीको कुरा के हाेला?'
कर्णालीमा उत्पादित चिकित्सा जनशक्तिले यहाँको स्वास्थ्य स्तर सुधार्न टेवा पुर्याउने उनले थपे।
पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना हुँदा धेरैले विश्वास नगरेको स्मरण गराउँदै हेर्दाहेर्दै डक्टर उत्पादन हुन थालेको खुसी पोखे।
'कर्णाली अभाव,अशिक्षा, रोग र भोकको मात्र प्रयाय बनिरह्यो। राज्यमा बस्नेले कर्णालीले हेर्ने नजर कहिले फेरिएन,' उनले भने, 'अब कर्णालीका युवाहरु आफ्नै घरको खाना खाएर डाक्टर पढ्न पाउने छन्।'
२०६८ सालमा स्थापना भएको प्रतिष्ठानले कर्णालीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। २०२० सालमा स्थापना भएको जुम्ला जिल्ला अस्पतालको जगमा अहिले सुविधा सम्पन्न प्रतिष्ठान स्थापना भएको छ।
कुनै समय अहेब र अनमीले धानेको अस्पताल अहिले प्रतिष्ठानको शिक्षण अस्पतालको रुपमा स्तरोन्नति भएको छ।
प्रतिष्ठानमा करिब ७५ जना विशेषज्ञ चिकित्सक कार्यरत छन्। सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने कर्णालीबासीको बाध्यता पनि टरेको छ।
चैत १ देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी) को अध्ययन सुरु भएको छ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा स्नातकोत्तर तहको लागि ५ वटा कोटा दिएको छ। जनरल प्राक्टिस इमरजेन्सी मेडिसिनमा ३ जना र एनेस्थेसिया क्रिटिकल केयर तथा मेड्रियाट्रिकमा एक/एक जनाको कोटा रहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले बताए।
'कर्णाली डक्टर उत्पादन गर्ने कारखाना हुनेछ। अब रोजेर कर्णालीबासीले उपचार सेवा पाउँदैछन्। स्वास्थ्य शिक्षा हासिल गर्न कर्णालीमै पाएका छन्। हामी अहिले पाँच सीट पाएका छौं। आगामी वर्षमा १० देखि १५ विद्यार्थीसम्म भर्ना लिन सक्ने अवस्थामा पुग्ने छौं।'
उनका अनुसार पाँचवटै कोटामा नेपाल सरकारले छात्रवृत्ति दिएको छ। अहिले तीनजना विद्यार्थी जुम्लामा पुगेर अध्ययन थालिसकेका छन्। दुई जना विद्यार्थी आउने क्रममा रहेका छन्।
चिकित्सा शिक्षाको स्नातकोत्तर अध्यापन सुरु भए पनि एमबीबीएस भने अनिश्चित भएको छ। नयाँ शैक्षिक सत्रदेखि एमबीबीएसको अध्ययन सुरु गर्ने तयारी गरे पनि चिकित्सा शिक्षा आयोगले अनुगमन नगर्दा पढाइ अनिश्चित भएको छ।
पछिल्लोपटक असोजमा १९ औं सत्याग्रह बसेका डा. गोविन्द केसीसँग सरकारले ६ महिनाभित्र प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि सम्पूर्ण तयारी पूरा गरी विद्यार्थी भर्ना लिने सम्झौता गरेको थियो।
'हामीले गर्नुपर्ने तयारी पूरा गरेका छौँ तर आयोगले अनुगमन नै गरेको छैन,' प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने, 'यही महिनामा आयोगको टोली आउने कुरा छ। हामी लागिरहेका छौँ।'
प्रतिष्ठानको २०७४ सालमा बसेको पाँचौँ सिनेटले एमबीबीएस कार्यक्रम सञ्चालनको लागि सैद्धान्तिक निर्णय गरेको थियो।
२०७५ र २०७६ सालमा बसेका सिनेटले पनि सोही निर्णयलाई निरन्तरता दिएका छन्। रजिष्ट्रार काफ्लेका अनुसार, यसबीच पर्याप्त पूर्वाधार निर्माण गरिनुका साथै जनशक्ति व्यवस्थापन पनि गरिएको छ।
दुई करोड लगानीमा 'बेसिक साइन्स'को प्रयोगशाला तयार पारिएको छ। 'अत्याधुनिक प्रयोगशाला निर्माण भएपछि पूर्वाधारको हिसाबले लगभग तयारी पूरा भएको छ। अस्पतालमा उच्च प्रविधियुक्त उपकरण पनि जडान भइसकेका छन्,' उनले थपे, ‘एमबीबीस सञ्चालन गर्न अब छुट्टै आर्थिक भार पनि नपर्ने भएकोले खासै गाह्रो हुँदैन।'
प्रतिष्ठानले २०७६ साउनमा एमबीबीएसको पाठ्यक्रम समेत तयार पारिसकेको छ। प्रतिष्ठानले बनाएको पाठ्यक्रम समुदाय केन्द्रित रहेको रजिष्ट्रार काफ्लेले बताए।
उनका अनुसार, प्रतिष्ठानको पाँचौँ सिनेटले जुम्ला सदरमुकाम खलङ्गादेखि करिब ५ किलोमिटर दूरीमा अवस्थित च्यारेचौरमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।
त्यहाँ भौतिक पूर्वाधार निर्माणको लागि ६ अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ। तत्कालको लागि भने खलंगामै प्रतिष्ठानको आफ्नै र नपुग घरहरु भाडामा लिएर अध्ययन सुरु गर्न सकिने रजिष्ट्रार काफ्लेले थपे।
प्रतिष्ठानको ऐनमा एमबीबीएस कार्यक्रमतर्फ कुल कोटाको ४५ प्रतिशत सिट साविक कर्णालीका ५ जिल्लाका साथै पिछडिएको क्षेत्रमा पर्ने बाजुरा, बझाङ, अछाम र जाजरकोटका विद्यार्थीलाई आरक्षण दिने भनिएको छ।
बाँकी सीटमा देशभरिका विद्यार्थीले प्रतिस्पर्धा गर्नसक्ने छन्। उक्त प्रावधानले कर्णालीमै कर्णालीका व्यक्ति चिकित्सक हुने अवसर पाउने छन्।
प्रतिष्ठानले अहिलेकै अवस्थामा ५० जनासम्म भर्ना लिने लक्ष्य राखेको छ। यस हिसाबले वर्षेनी लक्ष्यित जिल्लाका २३ जनाले डाक्टर बन्ने अवसर पाउने छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया