युएईमा एनआरएनए कति आवश्यक, किन आवश्यक ?

युएईमा गैरआवसीय नेपाली संघ (एनआरएनए) क्रियाशील भएको १५ वर्ष नाघिसकेको छ।

यसबीचमा यसले यहाँ समस्यामा परेका कैयौँ नेपालीको उद्दार गरेको छ। कैयौंलाई राहत तथा सहयोग गरेको छ। विगतमा यहाँ रहेका श्रमिक नेपालीहरुले अप्ठ्यारो परे यही संस्था गुहार्ने गर्थे तर पछिल्लो समय यसको नेतृत्वमा रहेकाहरुको बद्मासीका कारण यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ।

एनआरएनएमा मानव तस्करीमा संलग्नहरुको उपस्थिति बढेको, सुन तस्करी गर्नेहरु हाबी हुँदै गएको, नेतृत्वमा रहेकाहरु श्रमिक नेपालीहरुको हितमाभन्दा निजी स्वार्थपूर्तिमा लिप्त भएको भन्नेजस्ता आरोपहरु लाग्न थालेको छ। 

हालैमात्र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बाट श्रमिकहरुको उद्दारका लागि प्राप्त अनुदानमा समेत लाखौं अनियमितता भएको पुष्टि भइसकेको छ। यसै सन्दर्भमा हामीले युएईमा एनआरएनको औचित्य तथा आवश्यकताका विषयमा युएईमा क्रियाशील व्यवसायी, समाजसेवी एवम् सञ्चारकर्मीका प्रतिनिधिमूलक विचारलाई समेटेका छौँ।

‘युएईमा एनआरएनएको आवश्यकता छैन’: नरेश सेन (महासचिव, नेपाल एसोसिएसन) 

युएईमा एनआरएनएभित्र पछिल्लो समय चरम राजनीति हुनथालेको छ। संस्थाभित्र समाजसेवीको आवरणमा राजनीति गर्नेहरुको सक्रियता दिन-प्रतिदिन बढ्दै गएको छ। यसको नीति, नियम र पद्धति मिचेर राजनीति गर्नेहरु नेतृत्वमा आउनाले पीडितहरुको उद्दारमा समेत राजनीति हुन थालेको छ। त्यसैले युएईमा एनआरएनए हुनु र नहुनुको कुनै अर्थ छैन।

वास्तवमा एनआरएनए एउटा संस्था मात्रै नभएर प्रावधान पनि हो। नेपाली जो–कोही पनि यदि मुलुक छोडेर विदेश जान्छन्। त्यहाँको बासिन्दा बन्छन् भने ती स्वतः एनआरएनए बन्छन्।  एनआरएनएले पाउनुपर्ने सम्पूर्ण सेवा, सुविधा पाउने हक राख्छन्। चाहे ती एनआरएनए संस्थामा आवद्ध हुन् या नहुन्। राज्यले समेत यो कुरा स्वीकारेको छ।

युएईमा एनआरएनए रहेपनि यसबाट नेपालीले खासै लाभ पाउन सकेका छैनन्। एनआरएनएका पदाधिकारीहरु स्वयम् आर्थिक अनियमितता, भ्रष्टाचार र मानव तस्करहरुको पक्षमा उभिन थालेका छन्। यो ज्यादै दुःखद् र विडम्बनापूर्ण छ। यसको एउटा उदाहरण भर्खरैको आईएलओ काण्डलाई लिन सकिन्छ। 

‘मध्यपूर्वमा एनआरएनए आवश्यकता छैन’ : शेषराज न्यौपाने (झापाली समाज, अबुधाबी)

युएईमा एनआरएनए, नेपाली सामाज लगायत जिल्लागत समाज र विभिन्न दलनिकट भातृ संगठनसहित करिब १०० संघसंस्थाहरु क्रियाशील छन। धेरैजसो संघसंस्थाले आफ्ना सदस्यको सहयोगका लागि नजिकबाट समस्या समाधान गर्दै पनि आएका छन्। 

वास्तवमा भन्नु पर्दा एनआरएनएको र नेपालको सरकारी कार्यालयको काम एकैजस्तो लाग्छ। पहिलो कुरा सहयोग पाउन गार्हो , दोस्रो पीडितले सहयोग पाउन कसैलाई चिनेको हुनुपर्ने।

अहिले एनआरएनए राजनीतिक पहुँच बढाउने संस्था बनेको छ। यस्ता संस्थाको अब मध्यपूर्वका देशमा आवश्यकता देखिँदैन। तीनवर्षे करार अवधिको लागि कामदार भिसामा आएका हामी एनआरएनए हौं भन्दा पनि आश्चर्य र हाँस्यास्पद लाग्छ। युएईमा एनआरएनएले भन्दा बढी जिल्लागत संघसंस्थाले राम्रा काम गरेका छन्। त्यसैले एनआरएनए राजनीति गर्ने थलो मात्र हो। युएईमा यसको आवश्यकता छैन।

‘पहिला आवश्यक थियो, अहिले छैन’ : केशवकुमार कार्की (समाजसेवी)

एनआरएनए वास्तवमा राम्रो संस्था थियो। यसको नीति, नियम, सञ्चालन पद्धति सबै राम्रो लाग्थ्यो। युएईमा यसको आवश्यकता पनि थियो किनकि पहिला यो प्रगतिशील र सेवामुखी थियो। 

हामी सबैले यसको आवश्यकता महसुस गरेका थियौँ र अपनत्व पनि थियो। तर अहिले त्यस्तो स्थिति रहेन। यो संस्था युएईमा नेपालीका लागि राजनीति गर्ने थलो बन्दै गएको छ।



मरुभूमिमा बनेको दुबई विश्वकै हरियालीयुक्त शहरमा रुपान्तरण हुँदै

एनआरएनए युएईका अध्यक्षले नक्कली बिल बनाएर श्रमिककाे नाममा आएको २० लाख रकम खाएको पुष्टि


युएईमा दलगत, क्षेत्रगत तथा जिल्लागत थुप्रै नेपाली संघसंस्थाहरु क्रियाशील छन। प्रायः सबै संघसंस्थाहरुले आपत्विपतमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन्।तर, एनआरएनए पहुँच भएका र राजनीतिमा आवद्ध सीमित व्यक्तिहरुको मात्रै धेरै रेखदेख गर्ने संस्था बनेको छ। यसले राजनीतिक दल छुट्याउँदै काम गर्न थालेको छ, जुन ज्यादै दुःखद् र खेदजनक छ।

एनआरएनए युएईमा देखाउन सेवा गर्ने, नेपालको राजनीतिक पार्टीको उच्च पदमा पुग्न राजनीतिक हैसियत बनाउने, आफ्नो धमिलिएको छवि सुधार गर्न चाहने, आफ्नो व्यापार विस्तार गर्न चाहनेहरुका कारण  यसको आवश्यकतामाथि प्रश्न उठाउनुपर्ने बेला भएको छ।

‘नेपाली रहुञ्जेल संस्था आवश्यक छ’ : ओमप्रकाश न्यौपाने (सञ्चालक, कोशेली ट्राभल्स तथा रेष्टुरेण्ट अबुधाबी)

विगत लामो समयदेखि युएईमा समस्यामा परेका नेपालीलाई उद्दार र सहयोग गर्दै आएको संस्था हो एनआरएनए। युएईमा नेपाली रहुन्जेलसम्म यसको आवश्यकता रहिरहन्छ।



युएई दूतावासमा भेटिएका साइकल यात्री



स-साना कमी-कमजोरी र त्रुटी त सबैबाट हुन्छ। त्यसैलाई ‘ईस्यु’ बनाएर संस्थाकै औचित्यमाथि प्रश्न उठाउनु राम्रो होइन। बरु कमी–कमजोरी देखिएमा त्यसलाई सुधार्न खबरदारी पो गर्नुपर्छ त ! संस्था नै आवश्यक छैन भन्नु न्यायोचित हुँदैन।

युएईमा रहेका नेपालीहरुको सारथि बनेर अगाडि बढेको एनआरएनएले नेपाली दाजुभाई , दिदीबहिनीहरुको उद्दार र सेवा गरेको हामी सबैले देखेका छौँ। भर्खरैमात्र कोरोनाको महामारीका बेला यस संस्थाले गरेको कामबाट पनि उदाहरण लिन सक्छौँ। अतः यसलाई अझै प्रभावकारी र सक्रिय बनाउन जरुरी देख्छु।

‘एनआरएनए दलाल र तस्करहरुको झुण्ड भएको छ’ : मोनिका नगरकोटी (समाजसेवी/अभियन्ता) 

युएईमा एनआरएनए दलाल र तस्करहरुको झुण्ड भएको छ। सामान्य मजदुरी गर्ने नेपाली श्रमिकहरुको नाउँमा आएको रकममा समेत भ्रष्टाचार गर्नेहरुले पीडित नेपालीहरुको पक्षमा काम गर्छन भनेर कसरी विश्वास गर्ने ?

एनआरएनएले युएईमा केही गरेकै छैन भन्न त मिल्दैन। विगतमा थोरबहुत् सामाजिक काम गरेको हो। केही नेपाली दाजुभाई , दिदीबहिनीहरुलाई उद्दार पनि गरेको छ तर त्योभन्दा धेरै हामीले व्यक्तिगत रूपमा गरेका छौँ। बरु यहाँका जिल्लागत संघसंस्थाहरुले गरेका छन्। एनआरएनएजस्तो विश्वव्यापी संस्थासँग पीडितहरुले राख्ने अपेक्षा ठूलो हुन्छ तर युएईमा त्यस्तो स्थिति देखिँदैन। नेपालीमा पनि यो संस्थाप्रतिको भरोसा टुटेको छ।

‘संस्था कहिल्यै अनावश्यक हुन्न’ : रामप्रसाद ढुङ्गेल (सहसचिव, नेपाल पत्रकार महासंघ, युएई शाखा)

एनआरएनए प्रवासी नेपालीहरुको एउटा विश्वव्यापी साझा संस्था हो। संस्था आफैँमा महत्त्वपूर्ण र आवश्यकताको  विषय हो। एक्लाएक्लै गरेको कामभन्दा संस्थागत रूपमा गरेको कामले सकारात्मक परिणाम दिने भएकोले एनआरएनएको आवश्यकता म जहिल्यै पनि देख्छु।

नेपालको परराष्ट्र मन्त्रालयले समेत प्राथमिकताको सूचीमा राखेको संस्था युएईका नेपालीका लागि आवश्यक छ कि छैन भन्ने सवाल नै असान्दर्भिक मान्छु म चाहिँ। यो प्रश्न उठाउनुको पछाडिको अर्थ मैले बुझेको छु। केही आर्थिक अपारदर्शी उदाहरण पेस गरेर म युएईमा एनआरएनएको आवश्यकता छैन भन्दिनँ।

गत वर्षको लकडाउनको अवधिमा ज्यान जोखिममा राखेर फिल्डमा गएर कसले राहत वितरण गरेको थियो ? त्यो सबैलाई थाहा छ। यो संस्था अन्तर्गत विगतमा भएका र हिजोआज पनि भइरहेका केही कामहरुबारे म जानकार छु। केही वास्तविक पीडितहरुले निःशुल्क हवाई टिकट पाएका छन्। केहीको पिसिआरको शुल्क एनआरएनए युएईले तिरिदिएको छ।

मेरो सिफारिशमा दुई जना वास्तविक पीडित नेपालीले एनआरएनए युएईबाट निःशुल्क हवाइ टिकट पाएका छन्।  केही कामहरु भएका पनि छन् र तमाम आलोचना, आशंका र रोइलोका बीचमा पीडितहरुले राहत पनि पाएका छन्। तसर्थ, म चाहिँ एनआरएनए युएईको सकारात्मक कामहरुको मुल्यांकन गरेर यसको आवश्यकता महसुस गर्छु।


दक्षिण कोरियामा फर्जी टिकट भिडाएर १०९८ डलर असुलीको भण्डाफोर

एनआरएनए युएईका अध्यक्षले नक्कली बिल बनाएर श्रमिककाे नाममा आएको २० लाख रकम खाएको पुष्टि

अमेरिकामा बस्दै आएका लोक गायकको नाम माधव समूहले कमिटीमा राखेपछि...

प्रकाशित मिति: : 2021-04-15 20:30:00

प्रतिकृया दिनुहोस्