को हुन् मुख्यमन्त्री पोखरेललाई अप्ठेरोमा पार्ने विमला वली 

तेजन खड्का

काठमाडौँ

लुम्बिनी प्रदेश सरकारको खेलमा ‘सत्ताको साँचो हातमा लिन सफल’ प्रदेशसभा सदस्य विमला वलीको चर्चा एकाएक चुलिएको छ।

यसअघि गुमनाम यी प्रदेशसभा सदस्य को हुन् त ? अहिले आम जिज्ञासाको विषय हो। ०७६ मंसिर १४ गते भएको उपचुनावमा दाङको प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन्।

एमाले र माओवादी अलग भएपछि पनि उनी एमालेमा लागेकी थिइन्। आइतबार बिहानै बसेको एमाले संसदीय दलको बैठकमा बसेकी उनी एमाले दाङ जिल्ला कमिटीको बैठकमा पनि यसअघि पटक–पटक सहभागी भएकी थिइन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले आजै मुख्यमन्त्रीको सपथ ग्रहण लिने तयारी गरेका थिए तर उनको माओवादी प्रवेशले अन्यौल सिर्जना भएको छ। एमालेभित्र खैलाबैला मच्चिएको छ।

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार भएर ५ हजार एक सय ४ मतान्तरले नेपाली कांग्रेसका उम्मेद्वार केशवराज शर्मालाई हराएकी थिइन्। ओलीले २४ हजार २ सय ८६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी ले १९ हजार १ सय ८२ मत पाएका थिए।

उनी प्रदेशसभाको चुनावमा उनका पति उत्तरकुमार ओलीको मृत्युपछि रिक्त भएको स्थानमा लडेकी थिइन्। ओलीले ०७४ सालको चुनावमा एमालेबाट प्रदेशसभा सदस्य जितेका थिए जसको निधन सडक दुर्घटनामा भएको थियो।

उत्तरकुमारको मृत्यु दाङको घोराही लमही सडकखण्डको चिसापानीमा सडक दुर्घटना हुँदा ०७५ फागुन १० गते भएको थियो।

विमलाले चुनावका बेला भोट माग्दै मतदातासमक्ष भनेकी थिइन्, ‘मेरो श्रीमानको अधुरो सपना पूरा गर्न म उम्मेद्वार भएको छु। मलाई मत दिनुहोस्।’

मुख्यमन्त्री शंकर पोखरेलले पनि स्वर्गीय उत्तरकुमारको सपना पूरा गर्न विमलालाई उम्मेद्वार बनाएको भन्दै मत मागेका थिए।

कालीराम खत्री र लालकुमारी खत्रीकी कान्छी छोरीका रूपमा २०४१ माघ २२ गते जन्मिएकी थिइन्, बिमला। पतिको दुर्घटनामा मृत्यु भएपछि उनको काँधमा घर व्यवहार सम्हाल्ने जिम्मेवारी मात्र आएन, श्रीमानका बाँकी राजनीतिक दायित्वसमेत सम्हाल्ने जिम्मा एकैसाथ आयो।

विमलाले त्यसअघि कहिलै पार्टीको काम गरेकी थिइनन्। रूकुम पुख्र्यौली माइती भए पनि वली भने नेपालगञ्जमै जन्मी–हुर्केकी हुन्।

कलेज पढ्नका लागि नेपालगञ्ज पुगेका स्वर्गीय सांसद् वलीसँग त्यही क्रममा मायाप्रीति बसेपछि उनीहरुले भागी विहे गरेका थिए।



पाेखरेललाई संकटमा पार्दै दाङकी सांसद विमला केसी माओवादी प्रवेश

नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी दाङकी सांसद विमला केसी माओवादी केन्द्रमा लागेकी छिन्।

उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीलाई पत्र लेख्दै आफू माओवादीमा केन्द्रमा प्रवेश गरेको जानकारी गराएकी हुन्।


माओवादीले सांसद् विमला केसीलाई गुरिल्ला शैलीमा अपहरण गरे: एमाले प्रदेश-अध्यक्ष गिरी

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीला गिरीले बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानीमा भने, '‘सांसद् विमला केसीलाई माओवादीले गुरिल्ला शैलीमा अपहरण गरेर बेपत्ता बनाएको छ।’ 

केसी बिहानसम्म फोन सम्पर्कमा रहेको गिरीले बताए।

'एमालेको प्रदेशसभा संसदीय दलको बैठकमा भाग लिन उहाँ आउँदै हुनुहुन्थ्यो, बीच बाटोबाटै सम्पर्कबिहीन हुनुभयो', उनले भने, 'उहाँलाई बीच बाटोबाटै माओवादीले बेपत्ता परेको छ। प्रदेशसभामा दर्ता गरिएको निवेदन नक्कली हो। त्यसलाई भेरिफाई गरिनुपर्छ।'


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्न राजीनामा दिएका हुन्।

प्रकाशित मिति: : 2021-05-02 15:18:00

प्रतिकृया दिनुहोस्