के राष्ट्रपति बाइडेनले ‘ग्वान्टानामो बे’ बन्द गर्लान्?

अमेरिका र क्युबाको सीमा नजिक रहेको ग्वान्टानामो खाडीस्थित ‘ग्वान्टानामो बे’ हिरासत क्याम्प लामो समयदेखि बन्द गर्ने कुरा समय–समयमा चर्चामा आउछ। तर, त्यो त्यसै सेलाएर जाने गरेको छ।

हरेक नयाँ राष्ट्रपतिले आफू निर्वचित भएपछि यो जेल बन्द गर्ने कुरा गर्छन। तर बन्द नगर्दै उनीहरुको कार्यकाल समाप्त हुने गरेको छ। हालका राष्ट्रपति जो बाइडेनले भने जेल बन्द गर्ने प्रक्रिया आफू राष्ट्रपति नियुक्त भएको सुरुमै गरेका छन्। उनले आफ्नो चुनावी भाषणमा पनि वाचा गरेका थिए। उक्त जेलको सबैभन्दा प्रमुख र गोप्य इकाई (क्याम्प सेभन) हालै बन्द गरिएको छ र त्यहाँ भएका कैदीलाई अन्य जेलमा सारिएको छ।

यो जेलमा जघन्य अपराधी र आतंकवादीलाई राख्ने कारण यहाँको सुरक्षाको लागि मात्र अमेरिकाको कूल बजेटको दुइ प्रतिशत बजेट जेल व्यवस्थापनमा खर्च हुने गरेको छ।

जेलमा रहेका हरेक कैदीको लागि प्रति बर्ष ९ लाख डलर खर्च हुने गरेको छ। साथै पेन्टागनले जेल सुरक्षामा मात्र हरेक बर्ष ९ अर्ब डलर खर्च गर्छ। जेलभित्र सञ्चार माध्यमलाई प्रवेश निषेध गरिएको कारण अमेरिकी सरकारलाइ जेलभित्र मानव अधिकारको हनन हुने आरोप पनि लाग्ने गरेको छ।

जेलमा रहेका कैदीलाई अत्यन्तै कडा यातना दिने गरिएको खबर थुप्रै पल्ट सार्वजनिक भइसकेको छ, जुन सामान्य व्यक्तिले सहन मात्र होइन, कल्पना गर्न पनि सक्दैन।

अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंकवादी आक्रमणपछि तत्कालीन राष्ट्रपति जर्ज बुशको प्रशासनले अफगानिस्तान र इराकको साथै संसारको भिन्दा भिन्दै स्थानबाट हजारौं संदिग्ध ब्यक्तिलाई पक्राउ गरेर जेलमा राखिएको थियो, जसमध्ये धेरैले यहाँको यातना सहन नसकेर मृत्युको बाटो रोजे भने केहि यातनाका कारण अपाङ्ग भएको शरीर लिएर अझै जीवित छन्।

उनीहरु हरेक सेकेन्ड आफ्नो मृत्युको कामना गर्छन। सायद जीवित रहेर यातना सहनुभन्दा मृत्यु धेरै सजिलो भएर होला? केही बर्ष पहिले यो जेलको केही तस्बिर बाहिर आएको थियो। त्यसपछि संसारभरि नै यसको कठोर निन्दा भएको थियो। अन्तराष्ट्रिय रेडक्रसले यी कैदीप्रति मानवीय व्यवहार गर्न मागसमेत गरेको थियो।

सबै राष्ट्रपतिले यो जेल बन्द गर्ने कुरा गरे पनि आजसम्म काम भने कसैले गरेका छैनन्। पूर्व राष्ट्रपति बाराक ओबामाले जेल बन्द गर्ने प्रस्ताव कांग्रेसमा राख्ने र यदी कांग्रेसले अनुमति नदिए भिटो प्रयोग गर्ने बताएका थिए।

उनको त्यो घोषणा केवल कुरामा मात्र सिमित रह्यो। त्यसपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलसँग सम्बन्धित कुनै बिषयको बारेमा उच्चारण पनि गरेनन्। 

‘क्याम्प सेभन’ बन्द गरेपछि राष्ट्रपति बाइडेनको कार्यकाल समाप्त हुने बेलासम्म यो जेलको ढोकामा ताल्चा लाग्ने र यस्तो जेल पूर्ण रुपमा बन्द हुने आशा गरिएको छ।

प्रकाशित मिति: : 2021-05-17 11:13:00

प्रतिकृया दिनुहोस्