कोरोनाबारे झूटा र भ्रामक सूचना टिकटकमा पनि भाइरल

सेतोपाटी

काठमाडौं

कोरोना महामारी फैलिएर निषेधाज्ञाको क्रम सुरू भएपछि वाइफाइ वा मोबाइल डेटा चलाउने नेपाली इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ। दूरसञ्चार प्राधिकरणका अनुसार २ करोड ४० लाखभन्दा बढी नेपालीले इन्टरनेट प्रयोग गरिरहेका छन्।

आफ्ना स्मार्टफोन वा ल्यापटपमा टाउको घोप्टाएर निरन्तर सामाजिक सञ्जालमा झुम्मिनेको संख्या बाक्लिएको छ। उनीहरूले मोबाइल स्क्रिन हेरेर बिताउने समय लम्बिन थालेको छ। पाका हजुरबुवा-हजुरआमादेखि बुवा-आमा, काका-काकी अनि आलाकाँचा किशोर-किशोरीदेखि बालबालिकाको मुन्टो मोबाइल स्क्रिनमै एकोहोरो घोप्टिइरहेको दृश्य यतिबेला अतिसामान्य भइसकेको छ। सहरदेखि गाउँगाउँसम्म जताततै।

यसले फेसबुक, ट्वीटर, यु-ट्युब, इन्स्टाग्राम, भाइबर वा ह्वाट्सएप हाम्रो दैनिकीको महत्त्वपूर्ण हिस्सा बनेको छ। तर तपाईंहरूले एउटा कुरा विचार गर्नुभएको छ- पोहोरको निषेधाज्ञापछि एउटा नयाँ सञ्जाललाई धेरैभन्दा धेरै नेपालीले यतिबेला आफ्नो बनाएका छन्?

तपाईंले देख्नुभएकै होला, उक्त सञ्जालमा आफ्नो भिडिओ हाल्न खासगरी नयाँ पुस्ताका युवायुवती खेत-बारी, पाखा-पर्वत, नदी-नाला, ताल-तलैया, सहर-बजार, कौसी-बरन्डा, भान्सा-सयनकक्ष जताततै नाचिरहेका वा नानाभाँती भावभंगीमा अभिनय गरिरहेका छन्।

अब त तपाईंले थाहा पाइहाल्नुभयो, नेपालीहरूले छोटा-छोटा भिडिओ हेरेर समय बिताउने नयाँ सामाजिक सञ्जाल फेला पारेका छन्- टिकटक।

यसको जन्म भएको तीन वर्ष पनि भएको छैन, तर यसले कोरोना कहर सुरू भएपछि नेपालसहित विश्वभरी दिनानुदिन ख्याति कमाइरहेको छ, जसमा खासगरी युवापुस्ता झुम्मिने क्रम तीव्र भइरहेको छ।

प्रकाशित मिति: : 2021-05-24 07:34:00

प्रतिकृया दिनुहोस्