बिहिबार, १४ अगस्ट २०२५

फेरि थपियो इलाममा निषेधाज्ञा

Symbolic photo
• • •

इलाममा निषेधाज्ञाको समयावधि फेरि थप गरिएको छ। उच्चदरमा फैलिँदै गइरहेको कोरोनाको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ २२ गतेदेखि जेठ ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो।

यसअघि जेठ १२ गतेदेखि जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा जारी सूचनाअनुसार निषेधाज्ञाको समयावधिमा औषधि उपचारलगायतको अत्यावश्यक कामका लागिबाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय आदि सञ्चालन गर्न पाइने छैन।

बजारमा बिक्री हुने तरकारी तथा फलफूलका हकमा स्थायीरूपमा निर्माण भएका स्थान वा पसलबाट स्वास्थ्य मापदण्डको पालना गरी बिक्री गर्न सकिने भएको छ।

विकास निर्माणका कामहरु तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै कार्यस्थलमा श्रमिकहरुका लागि आवासीय व्यवस्था गरेर सञ्चालन गर्न सकिनेछ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्द्यजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ, पशुपक्षीको दाना, अण्डा वा चल्ला बोकेको र कृषिजन्य उपज बोकेको सवारीसाधन गन्तव्यस्थल बाहेक अन्यत्र रोक्न नपाइने भएको छ।

नेपाल सरकारबाट खुला गरिएको अन्तर्राष्ट्रिय प्रवेशविन्दु पशुपतिनगर नाकाबाट आवतजावत गर्न सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ। अन्य नाका वा गौँडाबाट आवतजावत निषेध गरिएको छ।

आदेशको अवज्ञा गरेको खण्डमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम दण्ड सजाय हुने जनाइएको छ। जिल्लामा हाल सङ्क्रमितको सङ्ख्या एक हजार २०० नाघेको छ।इलाम

शुक्रबार, जेठ २१, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)