एकताको कपटपूर्ण आव्हान हैन, इमान्दार कोशिस गर्नाेस् ओली कमरेड

Breaknlinks
Breaknlinks

नेपालको राजनीति अत्यन्त खल्वालिएको लामो समय भैसकेको छ। छोटो समयकै विचमा संसद बिघठन, संसद पुनर्स्थापना हुँदै फेरी संसद बिघठन भइ असंवैधानिक कदमविरुद्ध अदालतमा मुद्दा रहेको अन्योल र अनिश्चितताको अवस्थामा रहेको राजनीतिमा नेकपा एमाले एकताको आव्हानको नाममा वक्तव्य गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरी अर्को आँधी ल्याउने काम गर्नुभएको छ।

कैयौं मध्ये एक नेकपा एमालेको विवाद केवल पार्टीमै सिमित हुनुपर्ने हो। तर सत्ताको नेतृत्वमा गरिरहेकाे र पार्टीको विवादले लामो समयदेखि नेपाललाई थप अन्याैलग्रस्त र थप आक्रोशित बनाइरहेको तथ्य पनि भुल्न मिल्दैन।

दिक्क र झर्को लाग्दो भएतापनि एमाले विवाद र एकताको नाममा चलिरहेको लज्जस्पाद गतिविधिलाई जनताले चासो र चिन्ताले हेरिरहेका छन्। लामो समयदेखि आफ्नै सहकर्मीले पार्टीलाई  विधि र पद्दतिमा फर्काउन गरेको आग्रहलाई ओलीले कहिल्यै सुनेनन्। उनले अचानक पार्टीभित्र आफू इत्तरको समूहले माग गरे जस्तै अर्थ लाग्ने खालको एकता प्रस्ताव अगाडी सारेपछि धेरैको मनमा अव के होला भन्ने कौतुहलता जागेको छ।

प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले एकता प्रस्तावको नाममा जारी गर्नुभएको वक्तव्य पढेर अव के होला भन्ने सोच्ने सबैले निम्न कुरा बुझे हुन्छः

१. अदालतको अनौठो आदेशले नेकपा फुटाएर एमाले र माओवादीलाई पूर्ववत अवस्थामा पु-याएपछि स्वाभाविक रुपमा एकता पूर्वको एमालेको साविक कमिटीहरू क्रियाशील गर्नुपर्ने हाे। तर, अनेकन फण्डा गरेर स्वयम पार्टी अध्यक्ष ओलीले नै एमालेमा विवाद बल्झाउने काम गर्नुभएको छ।

तथ्य र सत्यलाई चिच्याएर भनेका छन्। र भनिरहने छन्। कि विधि र पद्दतिको पक्षमा आवाज उठाउने पार्टी वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालहरूले अनेकन अपमान, आक्रमण सहेर पनि एकताको पक्षमा धैर्यता प्रदर्शन गरेकै हो। तर साँचो अर्थमा भन्ने हो भने एकता विगार्ने ओलीले पुनः एकता आव्हान भन्दै गर्नुभएको वक्तव्य पनि एकताको निम्ति भन्दापनि आफ्नो सत्ता रक्षाका चालिएको कुटिल चाल वाहेक केहि हैन।

२.  एमाले एकता खल्वलिएको एमालेको नवौं महाधिवेशनको नीति निर्देशनको अवज्ञा गर्ने, महाधिवेशनले निर्वाचित कमिटीलाई निष्क्रिय पारेर गुटको आधारमा पार्टी चलाउन खोजेर हो। एमाले एकतावद्ध बनाउने हो–भने एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीलाई क्रियाशील बनाउने कामबाट सुरु गर्नुपर्ने हो।

एमाले अध्यक्ष ओलीले एकता आव्हानको नाममा निकाल्नुभएको वक्तव्य सर्वोच्च अदालतमा वहसमा रहेको मुद्दालाई कमजाेर पार्ने मनसायले ल्याइएको कपटपूर्ण अस्त्र हो। जसले एक–दुई दिन झुक्याउने वाहेक केहि गर्न सक्दैन भन्दा अन्यथा हुने छैन।

नवौं महाधिवेशनबाट निर्वाचित भइ माओवादीसँग एकता पूर्व विद्धमान एमालेको साविक कमिटीलाई क्रियाशील पारेर वैठक बोलाउन छाडेर नेकपाको केन्द्रीय कमिटी सदस्यहररू मध्ये एकताको पक्षमा उभिनुभएका केन्द्रिय सदस्यलाई आधार मानेर स्थायी कमिटी र केन्द्रीय कमिटी क्रियाशील हुनेछन् भनेर वक्तव्य निकाल्नु भनेको थप द्वन्द्व निम्त्याउने वाहेक अरु केहि हुन सक्दैन भन्ने छिट्टै प्रमाणित हुने नै छ। यदी ओलीले वक्तव्यमा भनेकै जस्तो साँचो अर्थमा नेकपा केन्द्रीय सदस्यहरू मध्ये एकताको पक्षमा उभिनुभएका केन्द्रिय सदस्यलाई आधार मानेर भन्ने हो भने अव एमालेमा ओली स्वयमको उपस्थिति नहुने भयो किन भने उहाँ नेकपा विभाजन गर्ने कामको मुख्य कारक हुनुहुन्छ।

३. उहाँको एकाता आव्हान एकता गर्ने भन्दा पनि संसद विगठनको विरुद्ध परेको मुद्दालाइ कम्जोर पार्ने मात्रै नभएर त्यसै मार्फत एमाले पार्टीमा वहाँको प्रतिस्पर्धी देखिनुभएका नेताहरू माधव नेपाल, झलनाथ खनालको राजनीति नै समाप्त पार्ने आसय समेत देखिएको छ। किन भने संसद जीवित हुँदा पार्टीलाई विधिवत निर्वाचित कमिटिको निर्णय मार्फत अगाडी बढाउन गरिएको निरन्तरको मागलाइ वेवास्ता गर्दै, आफ्नो पार्टी मिलाएर आफैँले  दावी गरे।

संसदको ठूलो दलको नेता हुन् छोडेर अर्काको दल समेत फुटाउने अनि संसद बिघठन गर्नेसम्मको काम गर्ने ओलीको असंवैधानिक हर्कत पश्चात संविधानको वार्खिलाफविरुद्ध अदालत पुग्ने नेताहरूलाई केवल पार्टी एकताको भ्रामक आव्हानकै जगमा अदालतको रिटमा गरिएको हस्ताक्षेर फिर्ता लिनु भन्ने भनेको उहाँहरूको लोकतन्त्र र संविधान प्रतिको प्रतिवद्धता देखावती हो भन्ने पुष्टि गराउने कुटिल चाल वाहेक केहि हैन।

४. उहाँले एकताको आव्हान नामक वक्तव्य मार्फत जे–जसरी खेल्न खोजेपनि संसद बिघठनविरुद्धमा गरिएको संवैधानिक चुनौतीबाट एमाले नेताहरू खुरुखुरू फर्किएर कथित पार्टी बचाउने अस्थायी र नक्कली खेलको हिस्सा बनेर समग्रतामा लोकतन्त्रको भविष्य र केहि हदसम्म आफ्नै राजनीतिक उचाईलाई खतरामा पार्ने काम होला भन्ने मान्न सकिन्न। किन भने नेपाली जनतानै नेपालको मुख्य शक्ति हुन भन्ने नेताहरुले बुझ्नु भएको छ। उहाँहररूले पनि यो पनि बुझ्नु नै भएको छ कि अत्यन्त सुदृढ चेतना भएका नेपाली जनताले कुनै अमुक पार्टीको एकता  जोगाउने नाममा संविधानको मर्म माथि प्रहार सहने छैनन्।

गुटगत मानसिकताले ग्रस्त केहिलाई खुशी पार्न जनताको सिंगो पंक्तिको अगाडी आफुलाइ अविश्वसनीय व्यक्तिहरुको समुह प्रमाणित गर्न एमालेको जिम्मेवार पंक्ति तयार होला भनेर किमार्थ कल्पना गर्न सकिन्न।

५. ओलीले एकता आव्हानको नाममा वक्तव्य जारी गर्नुअघि सरकारको पुनर्गठन गर्नु र एमालेको भागमा परेका केहि मन्त्रालयहरूमा मन्त्री नियुक्त नगरी राख्नु र मन्त्रालय रिक्त रहेको समयमा एकताको आव्हानको नाममा वक्तव्य जारी गरेर केहि थान मानिसलाइ मन्त्री हुन्छु कि भन्ने लालच पैदा गराउनु उहाँको कथित एकता आव्हानको अर्को निहित लक्ष्य छ भन्ने जसले पनि बुझ्छ। सबैले बुझ्ने गरी एकता आव्हानको नौटंकी गरिएकोले पनि ओलीको कुटिल चाल फेल हुने पक्का छ।

अततः माथि उल्लेखित कारण सहितका विवरणको आधारमा ओलीले गर्नुभएको कथित एकता आव्हान जाली रहेकोले त्यसले सार्थकता नपाउने ठोकुवा नै गर्न सकिन्छ। तर फेरी त्यसको मतलव एमाले अव कहिले एकता नै नहुन सक्ने तहमा पुग्यो भन्ने चाहिं हैन।

पंक्तिकारले पटक–पटक लेख्दै आएको एउटा सत्य के हो भने नेकपा एमाले विवेकीहरूको वाहुल्यता भएको पार्टी हो।

विवेकीहरुको त्यही जमातले एमालेलाइ विधि पद्दातिको पालना सहित एकतावद्ध बनाउने तहमा लाने नै छ। एकदम निरङ्कुश, हठी स्वभाव देखाउँदै पार्टीमा आफू इत्तर नेताहरुलाईमान मर्दन गर्दै आउनु भएका केपी ओली कपटपूर्ण रुपमै भए पनि वार्ता गर्ने, एकता आव्हान गर्ने तहमा पुग्नु भनेको एमालेको दुवैतर्फ रहेका तिनै विवेकीहरूको दृढताको परिणाम हो।

ढिला चाँडो एमाले एकता अनिवार्य छ। एमाले एकता भनेको केवल नामको आधारमा हुने एकता नभएर नीति सिद्धान्त र त्यसको सहि प्रयोग गर्नेहरुको विचको एकता हो र त्यो ढिला चाँडो हुनु अनिवार्य छ। अहिले नै एमालेको दुवै पक्षका असल नेता कार्यकर्ताहरुमा एकताको हुटहुटि छ जुन तत्काल पुरा हुने चाहिं देखिन्न किन भने अहिले एमाले अध्यक्ष समेत रहनुभएको ओली आफ्नो  अलोकतान्त्रिक, असंवैधानिक र अनाधिकृत यात्रामा पूर्णविराम लगाउन तयार देखिनुहुन्न अनि उहाँले त्यसो नगर्दै आफुले अगाडी सारेका लोकतान्त्रिक, संविधानिक र पद्दति संगत  मुद्दाहरूलाई त्यागेर एमालेका अन्य मुर्धन्य नेताहरुले आत्मसमर्पण गर्ने सवाल नै भएन। तर यदी हाम्रो बुझाइ गलत रहेछ , केपी ओली साँचो अर्थमा पार्टी एकता जोगाउँदै देशको हित, लोकतन्त्रको रक्षा र संविधानको सहि प्रयोग गर्न तम्तायार हुनुभएको रहेछ भने चाहिं सहजै एमाले तुरुन्त एकतावद्ध हुनसक्छ।

हामीले कथित ठानेको  एकता आव्हान वक्तव्यको थप व्यख्या गरे झैं गरेर ओलीले अर्को वक्तव्य निकाल्नुपर्छ। एकता आव्हानको नाम जारी गरिएको  कपटपूर्ण वक्तव्यले सिर्जना गरेको भ्रम, आशंका र  आक्रोशको कालो वादलको ठाउँमा आशाको उज्यालो किरण छरिने छ।

साँचो अर्थमा एकताको प्रक्रिया सुरु भएर आयोजना हुने एमालेको वैधानिक केन्द्रिय कमिटीको त्यही वैठकले संसद पुनर्स्थापनाको उपाय खोज्ने, संसदमार्फत एमालेको सरकार जोगाउने लगायतको काम गर्ने छ।

प्रकाशित मिति: : 2021-06-07 22:38:00

प्रतिकृया दिनुहोस्