ओलीविरोधी मोर्चाको अराजनीतिक बाटो

गोपाल खनाल

काठमाडौं

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताबारे जेठ २३ मा ६ बुँदे प्रस्ताव राख्दै माधव नेपालसहित सबैलाई एमालेमा फर्कन र पार्टी एकीकृत राख्न अपिल गर्नुभयो । त्यसमा २०७५ जेठ ३ अघिको अवस्थामा फर्कन आफू तयार रहेको उल्लेख थियो ।

तर माधव नेपालले उक्त ६ बुँदे प्रस्तावबारे प्रतिक्रिया सार्वजनिक गर्नुअघि काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गर्नुभयो । प्रस्ताव आएलगत्तै बालुवाटार नगए पनि सिंहदरबार वा थापाथली (पार्टी कार्यालय) पुग्नुपर्नेमा नेपाल बूढानीलकण्ठ पुग्नुभयो । आन्तरिक विवादलाई अन्तर पार्टीतिर धकेलेर उहाँले गलत ठाउँबाट सही उपचारको अपेक्षा राख्नुभयो ।

असंसदीय हर्कत
संसदीय राजनीतिमा आएको एउटा क्षयीकरणको उदाहरण हो यो । सामान्यतः आफ्नो निर्णय र अडानबाट पछि नहट्ने ओलीले एमालेलाई अखण्डित राख्नकै लागि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टहरूको आग्रहमा यो प्रस्ताव ल्याउनुभएको थियो । तर माधव नेपाल र भीम रावलहरूले अस्वीकार गर्नुभयो । किनकि उहाँहरू ओलीविनाको एमाले कब्जाको मिसनमा हुनुहन्छ, जो सम्भव छैन । कम्तीमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीसँगै उभिएर बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रमका पक्षमा एमालेका सबै सदस्यलाई मतदान गर्न आग्रह गर्नुभयो । पार्टीभित्रै बसेपछि बसुञ्जेलसम्म संसदीय अभ्यास र राजनीतिक नैतिकता प्रदर्शन गर्नुपर्छ । पार्टीविरुद्ध खुलेआम लागेर फेरि एकताका पक्षमा छु भन्न कसरी सकिने होला ? यो शीर्ष तहबाटै भएको पार्टीभित्रको अराजनीतिक अभ्यास हो ।

राजनीतिमा हिंसात्मक सोच
बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले जेठ २८ मा प्रदेश सभाको रोष्टममा उभिएर देशका प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने अभिव्यक्ति दिनुभयो । उहाँले ओलीको हत्या गर्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने भन्दै कोही नभए आफू बन्ने बताउनुभयो । नाथुराम गोड्सेले सन् १९४८ मा भारतका राष्ट्रपिता अहिंसावादी महात्मा गान्धीको गोली हानि हत्या गरेका थिए ।

काठमाडौँ क्षेत्र ४(क) बाट निर्वाचित उहाँको यो अभिव्यक्ति राजनीतिमा हावी हुँदै गरेको आपराधीकरणको एउटा उदाहरण हो । राजनीतिमा कसैलाई कुनै पदबाट हटाउन प्रतिस्पर्धा होइन, हत्या गर्नुपर्छ भन्ने सोच सांसदमा आउनु भनेको राजनीतिक विकृत रूप हो । राजनीतिप्रति नेताको विश्वास नहुनु हो । सम्मानित रोष्टमबाट प्रधानमन्त्रीलाई गोली हान्छु भन्ने अभिव्यक्ति सार्वजनिक गर्दा उहाँले राजनीतिलाई मजाक ठान्नुभयो र जे गर्दा पनि उन्मुक्ति पाइन्छ भन्ने ठान्नुभयो । प्रधानमन्त्री ओलीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेका बेला काँगे्र्रसका एक जना जिम्मेवार नेताबाट यस्तो सोच बाहिरिँदा शंका उत्पन्न भयो । काँग्रेसले जेठ २९ मा भनाइ फिर्ता लिन निर्देशन दियो, उहाँले लिनुभयो । तर यसले ओलीविरोधी राजनीति कुन हदसम्म पुग्नसक्छ भन्ने सङ्केत दिन्छ र सँगै त्यसले ल्याउने त्रासदी पनि ।

प्रकाशित मिति: : 2021-06-13 06:20:00

प्रतिकृया दिनुहोस्