
बिएल संवाददाता
हुमाकान्त पोखरेल
मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन्।
गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो। पहिरोले दुई घरमा ठूलो क्षति ग-यो। अझै पनि पहिरो गएकाले घरमा जान सक्ने अवस्था छैन। पहिरोका कारण वेदुखर्कमा १५ घर विस्थापित भए।
अझै पाँच घर पहिरोको उच्च जोखिममा छन्। विस्थापित भएका तथा जोखिममा रहेका परिवारले आफूहरु बस्दै आएको बस्ती बासस्थानका लागि उपयुक्त छ वा छैन, त्यसका लागि यहाँको भौगर्भिक अध्ययन हुनुपर्ने माग गरेका छन्। यसका साथै उनीहरुले राहत प्याकेजसहित कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन्।
'ठूलो वर्षा हुँदा सडकको नाली पुरिएको थियो, केहीबेरपछि एक्कासी पहिरो गयो', वेदुखर्ककी लक्ष्मी कुँवरले भनिन्, 'पहिरोले घर पुरिएपछि हामी घरभित्रै थुनियौँ।'
वेदुखर्कमा पहिरो जानु पहिलेदेखिकै समस्या हो। पक्की घर भएपनि वर्षायाममा निदाउन नपाउनु यहाँको पुरानै समस्या हो। वर्षौदेखि पहिरोको समस्या खेप्दै आएका उनीहरुले यो बस्ती बासस्थानका लागि उपयुक्त छ वा छैन, त्यसका लागि यहाँको भौगर्भिक अध्ययन गरिदिन सरकारसँग आग्रह गरेका छन्।
भौगर्भिक बनावटको अध्ययन बिना नै जथाभावी सडक निर्माण गर्दा पहिरोको समस्या देखिएको स्थानीयवासी अर्पण कुवँरको भनाइ छ। आफूहरु विकास विरोधी नभएको तर सडक खन्दा र बस्ती बसाउँदा भौगर्भिक अध्ययन गरेको भए यो समस्या वर्षेनी नदोहोरिने उनको बुझाइ छ।
वेदुखर्कमा पहिरो जाँदा घर च्यापिने र बस्ती विस्थापित हुने मात्र होइन्, यहाँका विद्यार्थीसमेत पढाइबाट वञ्चित हुनुपर्ने अवस्था छ। महेन्द्र नमूना माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विपना कुँवरको बिहान र साँझ गरी चार विषयको अनलाइन कक्षा सञ्चालन हुन्छ। तर, आफू बस्ने घर नै पहिरोले च्यापेपछि उनले पढ्न पनि पाएको छैन।
बेदुखर्कको बस्तीमा तीन वटा महत्वपूर्ण सडक छन्। एउटा बस्तीको बीच भागबाट नै तम्घास–सन्धिखर्क जाने, दोस्रो बस्तीभन्दा करिब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र तेस्रो बस्तीभन्दा करिब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक। पहिरोले तम्घास सन्धिखर्क जोड्ने र तम्घास–नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो।
दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन्। ठूला–ठूला मेसिन प्रयोग गरेर बिना अध्ययन बाटो मर्मत गर्दा जोखिम बढेको स्थानीयबासीको भनाइ छ।
आफू मात्र नभएर सिङ्गो बस्ती नै विस्थापित भएकाले यो स्थानमा बस्ती बस्न मिल्ने÷नमिल्नेबारे भौगर्भिक अध्ययन हुनुपर्ने लक्ष्मीको भनाइ छ। वर्षायाम आउनसाथ वर्षेनी यस्तै समस्या देखिने भएकाले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग उनको छ।
असारे विकासको नाममा जथाभावी सडक निर्माण गर्नु र गुणस्तरहीन काम गर्नुजस्ता कारणले पनि आफूहरुको बस्ती जोखिममा परेको लक्ष्मीले बताइन्।
स्थानीयवासी पद्म विष्टको घर तीनवटा सडकको बीचमा पर्छ। ती सडकका कारण उहाँले घर छोड्न बाध्य भएका छन्। २०७२ सालमा सडकको स्तरोन्नती गर्दा घरभन्दा करिब ५० मिटर तलबाट लोहोनी एण्ड ब्रदर्श कम्पनीले घर नै जोखिममा हुनेगरी ढुङ्गा निकाल्यो। त्यसबेलादेखि उनको घर तलबाट पहिरो जाने क्रम अझै रोकिएको छैन।
घरको आँगनबाटै निर्माण भइरहेको तम्घास सन्धिखर्क सडकको नालीमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्दा पानी तल झर्छ। फलस्वरुप उनीलगायत वरिपरिका परिवारले घर छाड्न बाध्य भएका छन्।
घरमुनिको सडकमा पर्खाल लगाई जोखिम कम गर्न चार वर्षदेखि लागि परे पनि अझैसम्म कतैबाट पहल नभएको उनको गुनासो छ। गत वर्ष पहिरो जाँदा बस्ती नै बस्न हुने/नहुनेबारे अध्ययन गर्न सरकारसँग अनुरोध गरेपनि अहिलेसम्म पहल नभएको सोही ठाउँका पोम नारायण सुवेदीको भनाइ छ।
रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बस्ती बसेको जमिन कमजोर बन्दै गएकाले त्यसको अध्ययनका लागि भूगर्भविद् ल्याउने विषयमा आफूले पहल गर्ने बताए। वर्षायाम सकिएलगत्तै सो ठाउँको भौगर्भिक अध्ययनका लागि आफूले पहल गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए। रासस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया