किन बढ्यो बाढी-पहिरो, कसरी गर्न सकिन्छ विपद् न्यूनीकरण?

हिमाल खबर

काठमाडौँ

प्रकृतिसँगको सन्तुलन विनाको विकास निर्माणले विपद्को जोखिम बढेको छ। विपद् जोखिम कम गर्न सरकार र समाजको सहकार्य जरुरी छ।

मनसुन भर्खर शुुरू भएको छ। मनसुनको शुुरूमै सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ लगायतका जिल्लामा बाढीको विपद् आयो। यो समयमा बाढी-पहिरो लगायतका जोखिम बढी हुन्छ। हाम्रो भूगर्भ, पहाडको बनोट, प्रकृति, भूगोल र वर्षाको चरित्र लगायतका कारण पहिरो स्वाभाविक हो। पछिल्ला वर्षहरूमा विपद्को क्रम बढ्न थालेको छ। प्राकृतिक र मानवीय  कारणले विपद् हुने गर्छ।

यसै त हाम्रो पहाडको भौगर्भिक संरचना कमजोर छ। त्यसमा २०७२ को भूकम्पले झन् कमजोर बनाएको छ। सिन्धुपाल्चोक लगायतका जिल्लाहरूले भूकम्पको क्षति भोगेकै हुन्। पोहोर सालको पहिरोले र हालैको बाढीले त्यसमा ठूलो पीडा थपिदिएको छ। भूकम्पले चिरा पारेको भिरालो धरातलमा वर्षाले पहिरो चलाउँछ।

पहिरो खोलामा खसे त्यो थुनिन्छ, कृत्रिम जलाशय बन्छ। त्यो फुटेपछि तल्लो भेगमा एक्कासि बाढी आउँछ र विनाश गर्छ। सन् २०१४ मा सिन्धुपाल्चोकको जुरेमा पहाड खसेपछि भोटेकोशी थुनिएको थियो। त्यो पहिरोले मन्खामा विपद् ल्यायो, ज्यान लियो। तर, थुनिएर बनेको जलाशय फुटेन, नेपाली सेनाले बिस्तारै खोल्यो। यस वर्ष तामाकोशीको प्रशाखा पनि थुनिएको थियो, चिनियाँहरूले बिस्तारै खोले। 

प्रकाशित मिति: : 2021-06-24 10:22:00

प्रतिकृया दिनुहोस्