नियुक्ति रद्दको माग गर्दै विद्यालय अगाडि टायर बालेर प्रदर्शन

विजय साह

जनकपुर

धनुषाको बटेश्वरमा रहेको शिवशक्ति माध्यमिक विद्यालयको मूल ढोका अगाडिमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन्।

विद्यालयमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले अवैधानिक तरिकाबाट आफ्ना छोराछोरी र नातेदारहरुलाई मात्र शिक्षकलगायतका कर्मचारी पदमा नियुक्त गरेपछि सो नियुक्ति बदरको माग गर्दै स्थानीय युवाहरुले विद्यालयको मुल ढोका अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनका सहभागि युवाहरुले अनियमित तरिकाले गरिएको नियुक्ति रद्द गर, भ्रष्टाचारी प्रअ सरुवा गर, विगत ५ बर्षको आय व्यय सार्वजनिक गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेरा नाराबाजी गरेका थिए।

प्रदर्शनलाई नेतृत्व गरिरहेका राजकिशोर महतोकाअनुसार विद्यालयका प्रधानाध्यापक प्रमोद शरण केवटले आफ्ना छोरा केतन आनन्द केवटलाई कम्प्युटर प्रशिक्षक र भान्जा प्रेम प्रकाश कापरलाई सहायक लेखापाल पदमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद साहले आफ्ना छोरी प्रियंका कुमारी साहलाई सहायक लाइबे्ररीमा नियुक्ति गरेको आरोप लगाउँदै सबै नियुक्ति रद्द हुनुपर्ने बताए।

उनले अन्य पदमा नियुक्ति गरिएका कर्मचारी पनि समितिका सदस्य र शिक्षकहरुकै आफन्त भएको जनाए। विद्यालयमा हालसालै शिक्षक र विभिन्न पदमा गरी १० जनालाई नियुक्ति गरिएको छ।

प्रदर्शनमा सहभागि अर्का युवा राजी शर्माले विद्यालयका प्रधानाध्यापक केवट र व्यवस्थापन समितिका अध्यक्ष साह मिलेर व्यापक भ्रष्टचार गरेको आरोप लगाउँदै बिगत पाँच बर्षदेखि यताको आय व्यय सार्वजनिक गर्नुपर्ने र प्रक्रिया नै पुरा नगरी आफन्तहरुलाई मात्र विद्यालयमा गरिएको नियुक्ति बदरको माग उठाएको जानकारी दिए।

उनले आफुहरुले उठाएको माग पुरा नभएसम्म नियमित बिरोधको कार्यक्रम जारी राख्ने जनाए। शिवशक्ति माविका प्रअ र अध्यक्षले बैशाख महिनामा निषेधाज्ञा लागेको समयमा सर्वसाधारण नागरिकले थाहै नपाउने गरी सुटुक्क आफन्तहरुलाई शिक्षक र कर्मचारी पदमा नियुक्ति गरेपछि नियुक्ति प्रकृया बारे यथेष्ट जानकारी माग्दै विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: : 2021-07-15 17:53:00

प्रतिकृया दिनुहोस्