
बिएल संवाददाता
जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन्।
जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन्।
फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका छन्। सङ्घीय सरकारको बजेटबाट गत आर्थिक वर्ष २०७६/०७७ मा मात्र सिरहाका २०० र सप्तरीका २८५ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए।
प्रमुख झाका अनुसार सिरहामा ३१५ आवास भवन बनाउने योजना रहेकोमा २०० भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको र ११५ भवन निर्माणाधीन अवस्थामा छ भने सप्तरीमा ५०३ आवास भवन निर्माण गर्नुपर्नेमा २८५ भवन निर्माण सम्पन्न भइसकेको र बाँकी २१८ भवन निर्माणाधीन अवस्थामा छ।
बजेट अभावका कारण आर्थिक वर्ष ०७७/०७८ मा सिरहाको औरही गाउँपालिकामा ५०० आवास भवनबाहेक अन्य ठाउँमा आवास भवन थपिएको छैन। सिरहाको औरही–१ देखि ५ सम्ममा ५०० घर आवास भवन बनाउन सम्झौता भएर निर्माण कार्य शुरु भएको र त्यसबाहेक सिरहा र सप्तरीमा कुनै आवास भवन बनाउने योजना नआएको प्रमुख झाको कथन छ।
बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ। यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए।
अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६/०६७ देखि सिरहा, सप्तरीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ।
आव ०७३/०७४ सम्म जनता आवास कार्यक्रम सङ्घीय सरकारले सञ्चालन गर्दै आएकामा आर्थिक वर्ष ०७४/०७५ बाट प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया