
महेश नेपाली
केही दिन अगाडि भैरव रिसालले लेखेकाे पुस्तक 'उहिलेकाे नेपाल, देखेकाे, भाेगेकाे र सुनेको' पढेकाे थिए। पुस्तकमा तत्कालीन समयका प्रधानमन्त्री देखि राजा, सचिव, दरबार निकटका मान्छेहरु, त्यसबेलाको चालचलन, आर्थिक स्थिति, नाेटकाे अवस्था लगायत धेरै कुराकाे रहस्याेद्घाटन गरिएको छ।
तत्कालीन प्रधानमन्त्रीहरुमा विपी काेइरालादेखि सुर्य बहादुर थापासम्म लेखिएको छ भने कम्युनिष्ट नेता पुष्पलालबारे पनि लेखिएको छ। पुस्तकमा पात्रको रुपमा देखिएका राजा, प्रधानमन्त्री, दरबारका सचिव, हाकिम सबैलाई मध्यम खालकाे आदरार्थ प्रयाेग गरिएको छ भने कम्युनिष्ट नेता पुष्पलाललाई उच्च आदरार्थ प्रयाेग गरिएकाे छ।
सायद भैरव रिसालकाे पुष्पलालप्रति उच्च सम्मान थियाे। त्यसैले किताबमा एक जनाकाे विषयमा लेख्दा पत्रकारितामा चलनचल्तीकाे आदरलाई पछ्याइएन।
त्यस्तै, केही समय अगाडि हिमाल खबर पत्रिकामा पत्रकार माेहन मैनालीले रिसालकाे विषयमा लेखेकाे लेख पढ्ने अवसर मिलेको थियाे। समान्यताय मध्यम आदरार्थलाई पछ्याउने मैनालीले उक्त लेखमा रिसलप्रति उच्च आदर प्रयाेग गरेकाे पाइन्छ। मैनालीले प्रयाेग गरेकाे आदरपनि रिसाल प्रतिकाे उच्च सम्मान नै हाे।
याे जुम्लाकाे कम्युनिष्ट आन्दोलनमा याेगदान दिएका कमरेड अमरसिंह बुढथापाकाे स्मृति लेख हाे। त्यसैले यहाँ उच्च आदर प्रयाेग गरिनेछ।
गाेराे छाला, असल चाला, ओैसत उचाइ, ढाँका टाेपी, दाैरा सुरुवाल र स्टाकाेट, कहिलेकाहीँ काेट पनि लगाउने, भाेटेहरुले बुनेर बनाएकाे वान साइड ब्याज, त्यसभित्र सँधै जसाे कम्युनिष्ट साहित्य र पत्रपत्रिका, माैसममा खुर्पानी, चुली, स्याउ, आरु, ओखर लगायतका फलफूल, बेमाैसममा तीनका चाना (सुकुटी) बाेकेर हिडिरहने चस्मावाल बुढाे मान्छे मेराे स्मृतिमा आइरहने एक निडर कम्युनिष्ट याेद्धाकाे परिचय हाे, अमरसिंह बुढथापा।
कम्युनिष्ट आन्दाेलनलाई पढेर बुझेकाे र त्यसलाई व्यवहारमा उतार्ने नेता बाहेक अरुथाेक बुझिन, उहाँलाई। जुम्लाकाे त्यस्ताे कुनै गाउँ छैन, जहाँ अमरसिंह बुढथापाका पाइतालाका छाप बसेनन्। पुरानाे पुस्ताकाे त्यस्ताे कुनै कार्यकर्ता छैन जसले अमरसिंह बुढथापाबाट कक्षा नलिएको हाेस्, चाहे ती अहिले जुनसुकै पार्टीको राजनीतिमा सक्रिय हुन वा निष्क्रिय जीवन बिताइरहेका।
२०६३ सालमा एसएलसी परीक्षा दिएपछि उहाँले मलाई पढ्न भनेर हरिबहादुर श्रेष्ठको 'मार्ग निर्देशनबारे भाइ बहिनीलाई चिठी' तथा 'साइन्स र डाक्टरी पढ्ने भइबहिनीलाई चिठी', डाइमन समशेर राणाकाे उपन्यास प्रतिबद्धलगायत किताब दिनुभएको थियाे।
पछि मात्र थाहा भयाे का. राेहितकाे साहित्यिक नाम हरिबहादुर श्रेष्ठ हाे भन्ने। उहाँसँग किताब हुन्छन् भनेर मलाई स्कुलमा सामाजिक विषय पढाउने शिक्षक पुर्ण प्रसाद धितालले भनेका थिए र परिचय पनि गराइदिएका थिए।
कर्णाली मावि अनामनगर स्कुलकाे अगाडिपट्टीकाे आफ्नै घरमा रहेकाे पुस्तकालयका किताबहरुमध्ये यी ठिक हुन्छन् भनेर नाम ठेगाना सहित फाइलमा टिपेर, किताब फिर्ता गर्ने मिति सहित लेखी सही गराएर किताब दिनुभएको थियाे। एसएलसी पछिकाे फुर्सदिलाे समयमा काेर्ष बाहेकका किताबको स्वाद पहिलाे पल्ट चखाउने उहाँ नै हाे। रिजल्ट पछि नेपालजन्ज हुँदा ती किताबसँगकाे सामिप्यता छुटेको थियाे।
झण्डै दुई वर्षपछि क्याम्पसमा राजनीतिक गतिविधि गर्दैगर्दा गाथा उक्किएकाे रेडबुककाे नेपाली अनुवादलाई सुटुक्क दिएर पूरै पढेर सकाउनु भन्ने मान्छे उहाँ नै हाे। उहाँकै प्रेरणाले किताब किन्ने र खाजा रकम कटाएर पत्रपत्रिकामा खर्च गर्ने बानि बसेकाे हाे।
त्यस यता हालसम्म पनि हामीले किताब आदनप्रदान गरि नै रहयाैं। असार २१ गते मैले केशव दाहलकाे उपन्यास 'माेक्षभूमी' अध्ययन गरि सकाएकाे थिए। याे कुरा फेसबुकमा राखेपछि उहाँकाे फाेन आएकाे थियाे, 'त्याे किताब मलाई उपलब्ध गराइदिनु पर्याे' भनेर।
पुष्पाले पढिरहेकाे हुनाले केही दिनपछि दिन्छु भनेकाे थिए। एक दिन मैले उहाँलाई किताब दिन भनी फाेन गरे। उहाँ एकदम उत्साहित हुनुभयो। भाेलीपल्ट हामीले टुडीखेल नजिककाे चियापसलमा भेटेर सँगै चिया खायाैं। सामान्य छलफल पछि मैल किताब दिए र हामी छुट्टिएका थियाैं।
त्यसकाे दुई दिन पछाडि असार १३ गते उहाँले 'काेभिडले थलिएकाे छु' भनेर फेसबुकमा स्टाटस राख्नु भएकाे थियाे। मैले कमेन्ट गरेकाे थिए। उहाँले धन्यवाद मित्र भनी रिप्लाई पनि दिनु भएकाे थियाे। अस्पतालमा हुनुहुन्छ। हाम्राे रिप्लाई पनि गरिरहनु भएकाे छ। ठिक भइहाल्छ भन्ने लागेर उति वास्ता गरिएन। तर जे नसाेचाेकाे थिए, त्यही भयाे। त्याे बेवास्ता नै जिन्दगीको ठूलाे पछुतो हुन गयाे।
मलाई जस्तो पछुतो बुटवलका मित्र लेखक तथा अनुसन्धानकर्ता रामचन्द्र श्रेष्ठलाई पनि भएछ। अम्बरसिंह बुढथापाकाे फेसबुक स्टाटसमा उनले पनि 'कमेन्ट' गरेका रहेछन्। रिप्लाई 'धन्यवाद, मैले नदेखेको सुन्दै फेसबुकमा भेट्दै आएको मित्र' भनेर गर्नुभएछ।
रामचन्द्र त्यसबेला फेरि रिप्लाई कसरी गर्ने भन्ने लागेर केही बाेलेनछन्। साउन २० गते अम्मबरसिंह बुढथापाकाे असामहिक निदनकाे खबर पाएपछि हाम्राे कुरा भएकाे थियाे। 'त्यसबेला नबाेलेकाेमा अहिले पछुतो लागिरहेको छ। कम्तिमा बाेलेकाे भए हुन्थ्यो जस्ताे लागिरहेको छ। त्यति टाढाबाट देखाएकाे आत्मिएताले भावुक बनायाे। अहिले नरमाइलो लागिरहेको छ,' उनले भने।
उहाँहरु दुबैजनाले भुल्नुभयाे सायद, हाम्राे भेट एक पल्ट भक्तपुरको कमलविनायकमा भएको थियाे। त्यसबेला रामचन्द्रले जुम्लामा नेमकिपाकाे स्थापना, गतिविधि, पार्टी कमजोर हुनुका कारण साेधेका थिए।
त्यसबारे उहाँले लामाे बयान गर्नुभयो। उहाँकाे सारांश थियाे, 'पार्टीलाई जलाएर, खरानी बनाई खरानीमा टेकेर राजनीति गर्नेहरुले नै पार्टी सकाए। तिनीहरुकै रजाइँ पार्टीमा आज पनि छ।' याे उतिबेला (नेमकिपाका क्रान्तिकारी) बनाएका र हाल नेमकिपामा रही हालीमुहाली गरिरहेकाप्रति लक्षित थियोे।
अमरसिंह बुढथापाले भनेजस्तै खरानीमाथि राजनीति गर्नेहरु अरु काेही नभएर पार्टीभित्रै रहेका अवसरवादी रहेकाे नेकपा माओवादी कर्णाली प्रदेश समिति सदस्य पूर्ण प्रसाद धितालले बताउँछन्। 'उहाँ मृत्युको मुखबाट बचेर आउनुभएको हाे। पञ्चायकालमा उहाँलाई मार्न लगिएकाे बेला देपालगाउँमा नाेर्बु लामाले बचाउनु भएकाे थियाे। उहाँलाई सीआईडी भनेर आराेप लगाउने तिनै गद्दारहरु हुन,' उहाँले भन्नुभयाे, 'उहाँ लाखाैं कम्युनिष्टहरुकाे भिडमा एउटा असल कम्युनिष्ट हाे। पार्टी र सिद्धान्तकाे लागि कसैसँग सम्झाैता नगर्ने मान्छे हाे। इमान भएकाे उहाँ एकातिर ज्ञानगुणले भरिपूर्ण हाे भने अर्कोतिर सिद्धान्तमा अविचलित मान्छे हाे।'
अम्बरसिंह बुढथापा, धिताललाई लागेझैं विचार, सिद्धान्त, अध्ययन र व्यवहारले अग्लाे कद बनाएकाे कम्युनिष्ट नेताकाे रुपमा चिन्छन् नेमकिपाकाे विद्यार्थी संघ र युवा संघकाे केन्द्रीय समितिमा काम गरेका जुम्ला बारकाेटेबाडाका प्रकाश शाही।
'मैले उहाँलाई २०५१ सालमा विद्यार्थी संघकाे जिल्ला सम्मेलन हुने बेला चिनेकाे हुँ। त्यतिबेला उहाँकाे आँखामा समस्या थियाे। पत्रपत्रिका, किताब र आँखाकाे दूरी दुई इन्चजति मात्र हुन्थ्याे। तैपनि निरन्तर पढ्नु हुन्थ्यो। पढेकाे कुरा हामीलाई सुनाउनु हुन्थ्यो। हामीलाई पड्न उत्प्रेरित गर्नुहुन्थ्यो। पछि अप्रेसन गर्दा ठिक भयाे। उहाँकाे घर एउटा लाइब्रेरी जस्ते थियाे,' उनले भने, 'उहाँसँग थुप्रै पुस्तकहरु थिए। हिन्दी, अंग्रेजी पुस्तकहरु पनि थिए। प्रेमचन्दका उपन्यासहरु, गाेर्कीकाे आमा उपन्यास, एन्थाेन चेकवका कविताहरु, हिन्दीमा लेखेका पुँजीकाे किताब, लु शुनका उत्कृष्ट कथाहरु उहाँसँगकाे संगतपछि नै थाहा पाएकाे हुँ। पढ्नुपर्छ भन्ने नै मैले उहाँबाट सिकेको हुँ। कम्युनिष्ट साहित्यहरु अध्ययन गर्नुपर्छ भन्ने उहाँ मेराे प्रेरणाकाे स्राेत हाे।'
उनका अनुसार अम्बरसिंह बुढथापा सैद्धान्तिक कुरा र बढी अध्ययनमा जाेड गर्ने नेता हाे। जसकाे दराजबाट उनले कयौं किताबहरु लिएर पढेका छन्। कयाैं किताबहरु फिर्ता गर्न जाँदा 'यी किताब तपाईं नै राख्नुस्, मसँग दुई तीनवटा छन्' भनेपछि घरमै राखेर दुईतीन पल्ट पढेका छन्। उनले अमरसिंहसँग झण्डै छ वर्ष संगत गरे। उहाँका एक दुईवटा किताब अझैपनि उनीसँग छन्।
धितालका अनुसार हरेक गलत कदमविरुद्ध खराे आलोचनामा उत्रिने बानीका कारणले बैरीहरु उहाँका मित्र बनेनन्। संकिण साेच भएकाहरु उहाँकाे राजनीति सिद्याउनतिर लागे। तथापि उहाँ जुम्लाको कम्युनिष्ट आन्दोलनमा इतिहासमै दुर्लभ पात्रकाे रुपमा अध्ययन गरिरहनुपर्ने पात्रकाे रुपमा रहिरहनुहुनेछ।
उहाँका सहकर्मी धनन्जय फडेराका अनुसार उहाँकाे बाल्यकाल सुखदायी भएन। बुबाले धेरै बिहे गरेका कारण उहाँहरुले दु:ख पाउनुभयो। निकै कठिन संघर्ष गरि जुम्लामा दाेस्राे लटमा एसएलसी पास गर्नुभयाे।
'उहाँ सुरुबाटै गरिबीमा फस्नुभयाे। अध्ययन पछि वन कार्यालयमा रेन्जर जागिर खानुभयाे। सँगसँगै अपरिचित कम्युनिष्टहरुले दिएका पुस्तक पढेर कम्युनिष्ट हुनुभयाे। सामन्तहरुकाे विराेध गर्दा धेरै दु:ख पाउनुभयो,' उनले भने, 'जेल नेल खाने मात्र हाेइन मार्ने षडयन्त्र सम्म गरियाे। सिडिओले दु:ख दिदा पार्टीको लागि भनेर जागिर त्याग्नुभयाे। त्यसपछि उहाँ झन् गरिबीको चक्रमा फस्नुभयाे। त्यसैले खानपानकाे शैली र जीवनस्तरकाे कारण पनि उहाँ कम्युनिष्ट र गैर कम्युनिष्ट छुट्याउनु हुन्थ्यो।'
उनका अनुसार पार्टीमा रहेका लाेभिपापीहरुले उहाँकाे त्याग भुले। पार्टी सिद्याउन लागेकाहरुबाटै उहाँकाे राजनीति सकाउने खेल भयाे। चाकडीबाज, ज्यु हजुरी गर्ने र नेतालाई दाई दाई भनेर पुज्नेहरुकाे कारण उहाँजस्ताे आलोचनात्मक चिन्तन राख्ने नेतालाई ओझेलमा पार्ने काम भइरहयाे।
उहाँले जुन पार्टीमा रहेर राजनीति गर्नुभयाे त्याे पार्टीका असल कार्यकर्ताहरुमा उहाँकाे अमिट छप त छ नै त्यसबाहेक विपक्षी पार्टीका नेता कार्यकर्तारुले पनि उच्च मूल्यांकन गरेका छन्। तीनैमध्येका एक हुन नेपाली काँग्रेसका नेता तथा वर्तमान कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दिनबन्धु श्रेष्ठ।
'उहाँ प्रजातन्त्र ल्याउने संघर्षमा जेल बस्नुभएकाे याद छ। त्यसबेला काँग्रेसका केही र नेमकिपाका धेरै कार्यकर्ता जेल परेका थिए। उहाँहरुकै बलमा प्रजातन्त्र आयाे,' उनले भने, 'मेराे बुबा भीमप्रसाद श्रेष्ठसँग जेल बस्नुभएकाे हाे। तर त्यहाँपनि उहाँ सिद्धान्तमा मतभेद राखिरहनुहुन्थ्याे। तर व्यक्तिगत रुपमा सम्बन्ध राम्राे थियाे। म उहाँलाई एउटा सिद्धान्तनिष्ट कम्युनिष्ट नेताकाे रुपमा सम्झिन्छु। तर पछिल्लो समय उहाँकाे पार्टीकै गतिविधि कम भएकाे देख्दा उहाँ पनि कम सक्रिय भएजस्तो लाग्थ्याे।'
उनकाे जस्तै धारणा छ प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतकाे पनि। उनी भन्छन्, 'जुम्लाको कम्युनिष्ट आन्दोलनकाे एउटा धराेहर, महत्त्वपूर्ण व्यक्तित्व, कर्मठ र जुझारु याेद्धा हाे, उहाँ।
त्यसबाहेक सामाजिक क्षेत्रमा पनि उहाँकाे छवि उचाे छ। ६० काे दशकमा तीन कार्यकाल सर्वसहमतिले कर्णाली मावि अनामनगरकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष चयन हुनुभएको थियाे। उहाँकै जाेडबलमा निमावि स्कुल मावि भएकाे थियाे। त्यसबेला जुम्लाकै नमुना माविकाे रुपमा अध्ययन, अध्यापन हुने स्कुलमा गनिन्थ्याे, कर्णाली मावि।
उतिबेला कर्णाली माविमा अध्ययन गरेर अहिले रत्नचूडेश्वर माविमा शिक्षक भएकी सम्झना भण्डारी विगत सम्झिदै भन्छिन्, 'हिजाे पड्दा र आज पढाउँदाका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु हेर्दा उहाँजस्ताे सरल मान्छे काेही देखिन,' उनले भनिन्, 'अनाैठाे लाग्छ, उहाँ हामी विद्यार्थीका घरघरमा पुग्नु हुन्थ्याे। घर परिवारसँग छाेराेछाेरीकाे पढाइबारे चासाे राख्नुहुन्थ्याे। हाम्रा समस्या साेध्नुहुन्थ्याे। सर, म्याडमहरुले पढाए, नपढाएकाे बुझ्नुहुन्थ्याे। आज उहाँकाे निधन भएकाे सुन्दा आँखा रसाएका छन्।'
अध्ययनसिल राजनीति, सिद्धान्त र व्यवहार जानेकाे र सामाजिक सुधारका हिसाबले एक नम्बरको भइकन पनि उहाँले अंगालेकाे पार्टीले घाटमा समेत संकिण राजनीति गरेकाे बताउँछन् नेकपा एमालेका सचिव आदिप्रसाद न्याैपाने। उनले भने, 'पर्याे भने नामै भनाैंला, तर हिजाे पञ्चायतकाे जासुसी गर्नेहरु नेता बनेका छन्। उहाँकाे मृत्युु हुँदा अस्पताल र घाटसम्म नपुग्नेहरुले कम्युनिष्ट राजनीतिलाई धमिलाे बनाएका छन्।'
यही कुरालाई फेसबुकमा डिबी खत्री आक्राेस पाेख्दै लेख्छन्, 'एक निडर व्यक्ति जसले आफ्नाे जीवनमा हरेक रुपमा त्याग तपस्या गर्याे। कम्युनिष्ट आन्दोलनलाई मुर्त रुप दिन हिजाे जेल, नेल बेहोर्नु पर्याे। पार्टी र राजनीतिक परिवर्तनका लागि दिन रात लाग्नु पर्याे। पञ्चायतविरुद्ध सामन्तीकाे चीर हरण गर्न तरबारको धारमा हिड्नु पर्याे। आज मृत्युु हुँदा लासमाथि पार्टीको एउटा झण्डा समेत हाल्न नसक्ने नेमकिपा पार्टी र नेता, कार्यकर्ताहरु प्रति धिक्कार छ।'
मरिसकेपछि नेमकिपाका कार्यकर्ता यज्ञ बुढथापालाई पर्याकदत्त उपाध्यायले पार्टीकाे लागि जीवन निस्वार्थ याेगदान गरेकाे मान्छेलाई झण्डा हाल्न समेत किन कन्जुस्याइँ गरेकाे भनी प्रश्न गरे। उनले उल्टो उनीसँग रिसाउँदै भने, 'अम्बरसिंह पार्टीविरुद्ध काम गरेकाे मान्छ हाे। उसले पार्टी छाेडिसकेकाे छ।' तर उपाध्याय भन्छन्, 'उहाँले पार्टी छाेड्नुभएकाे हाेइन। पार्टी भित्रका नराम्रा मान्छे र प्रवृत्ति छाेड्नुभएकाे हाे।'
मलाई पाठ्यपुस्तककाे सीमित ज्ञानबाट बाहिरी संसार हेर्ने तेस्राे आँखाकाे रुपमा भेटिनुभएका अमरसिंह बुढथापासँग अब भाैतिक रुपमा कहिले भेटघाट हुने छैन तर उहाँ अमर हुनुहुन्छ। उहाँलाई पार्टीले झण्डा ओडाएर बिदा नगरे के भयाे त? समाज परिवर्तन भाडमा जावाेस तर मर्नेबेले झण्डा ओड्ने एकमात्र चाहना छ भनेर फलाक्दै हिड्काे नेताकाे जस्ताे साेच त कम्तिमा कहिल्यै राख्नुभएन। उन्नत समाज निर्माण गर्ने बाटाेमा उहाँकाे विचार र सिद्धान्त अनुसरण गरेर हजार माइलकाे लामाे यात्रा तय गर्ने लाखाैं याेद्धाले बाेक्ने राताे झण्डामा उहाँकाे निष्ठा लतपतिएकाे हुनेछ। लाल सलाम कमरेड अमरसिंह बुढथापा।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?
हामी नेपाली सोझा कि मूर्ख?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया