यौनिकताः भावनात्मक आकर्षण कि जैविक युद्ध ?

समाजमा बलात्कारको घटना पछि अक्सर सुन्ने गरिन्छ–‘महिलाले छोटा लुगा लागाएर घरबाहिर निस्कने गरेका कारण’ बलात्कार भएको भनेर महिलालाई नै दोष लागाउने गरिन्छ।

के यो सत्य हो त ? पुरूषले त झन् पूरा छाती देखाएर, अझ छोटा लुगा लगाएर खुलम्खुल्ला हिँड्ने गरेका छन् त !? कट्टुमात्र लगाएर तिघ्रा देखाउँदै र छाती फुलाएर पुरुषहरु सहरका सडकमा दिन या रात, कुनै पनि समय निस्कने गरेका छन् त !? पुरानो जमानामा पनि त कछाड, लँगौटी, लुङ्गी या धो‍ती मात्र लगाउँने गर्थे। पुरुषले र अझै पनि त्यसै गर्छन् गाउँ-देहाततिर तर पुरूषहरु वलात्कारका शिकार त भएनन्– छोटा लुगा लगाएकै कारण।

के छोटा लुगा वलात्कारको कारण हो त ? अनि पुरुष वलात्कार हुने सङ्ख्या नगन्य छ जब कि महिला र तेस्रोलिङ्गीमा वलात्कार र यौन हिंसाको शिकार हुने संख्या निकै धेरै छ। यो फरक किन?

यौन हिंसा र वलात्कारको मानसिकता बुझ्न समाजको संरचना र समाजले बोकेको यौनिकताको अवधारणालाई बुझ्नु आवश्यक हुन्छ। कुनै समाज पितृ–सत्तात्मक छ कि मातृ–सत्तात्मक छ भनेर हेर्न त्यो समाजले ‘यौनिकतामाथि राख्ने नैतिक निगरानी (moral policing) कस्तो छ’ भन्नेमा भर पर्छ।

यदि यौनिकता (खास गरी महिला र तेस्रोलिङ्गीको) माथि नैतिकताको निगरानी कडा छ भने पितृसत्ता दरो छ। कम छ भने पितृसत्ताको प्रत्याभूति पनि कम छ। र, यदि महिला र तेस्रोलिङ्गीको यौनिकता, खास गरी उनीहरुले यौनसाथी छान्ने स्वतन्त्रता छ र यौन सम्बन्ध राख्ने कि नराख्ने निर्णय गर्न सक्ने अधिकार छ भने पितृसत्ता नभई ‘समानताको सत्ता’ रहेको समाज भनेर बुझ्न सकिन्छ।

पुरुषले गैरपुरुष (महिला र तेस्रोलिङ्गी) हरुलाई किन यौनिकताको आधारमा नियन्त्रणमा राख्न चाहन्छ त? किन र कसरी पितृसत्ताले यौनिकतालाई केन्द्रमा राखेर संस्कृति, साहित्य, निति नियम र नैतिकताका विधानहरु सृजना र विकास गरेको हुनसक्छ भनेर जान्न पुरुष महिलाको सम्भोगक्रियामा पुरुष र महिलाको जैविक र भावनात्मक अन्तक्रियालाई बुझ्नु आवश्यक हुन्छ।

सम्भोगको क्रममा महिला शरिरको प्रतिकृया ‘जैविक युद्ध’ को हुन्छ। महिलाको यौनीले वीर्यनाशक (spermicide) बनाउन थाल्छ संभोगको क्रममा। औसतमा करिब २५ करोड वीर्य (sperm) निस्कन्छन् एक पटकमा पुरुषको  तर अधिकांश वीर्य मर्छन्। यी महिलाको यौनीले उत्पादन गरेका वीर्यनाशकद्वारा।

महिनाको खास २-३ दिनभित्र मात्र करोडौं वीर्यमध्ये एकले बिरलै मौका पाउने संभावना हुन्छ–आफ्नो अस्तित्व जोगाउने र आफ्नो निरन्तरताको गर्भ धारण गर्ने। त्यस कारण जैविक रूपमा पुरषका लागि यो अस्तित्व जोगाउने ‘ओलम्पिक’ दौड हो एकातिर भने, अर्कातिर महिलाले छेडेको वीर्यनाशक ‘जैविक युद्धमा’ कसरी आफ्नो ‘वीज’लाई बचाएर अस्तित्वको लाडाइँ जित्ने भन्ने पनि हो।

नित्तान्त जैविक पाटोबाट हेर्ने हो भने महिला र पुरुषबीचको सम्भोग भनेको जैविक यूद्ध (biological warfare) नै हो। तर भावनात्मक पाटोबाट हेर्ने हो भने संभोगको दृष्टिकोण अर्कै बन्छ। यसमा आकर्षण हुन्छ– एकअर्काका प्रति। आनन्द लिन्छन् दुवैले तर आनन्द निले क्रममा पुरुषले ‘सकृय कृयाशील प्रस्तुति’ दिनुपर्छ, जो कुरा केही समयका लागि मात्र संभव हुन्छ पुरुषका लागि। चरममा पुग्छ र उसको आनन्द पनि सकिन्छ। केही घण्टा या दिनका लागि पुरुषले तुरुन्त फेरि आनन्द लिन सक्दैन।

महिला भने तुलनात्मक रुपमा ‘निष्क्रिय सहभागिता’ जनाएर नै आनन्द लिन सक्छन्। उनीहरुले आनन्द लामो समय लिन सक्छन् र बीचमा विश्राम लिनु पर्ने आवश्यकता पनि हुँदैन। त्यसैले पुरुषले यो (संभोगमा आनन्द लिने) विषयमा महिलासँग प्रतिस्पर्धा गर्न सक्दैन। आफूलाई निरीह सम्झन्छ, डाहा (jealous) गर्छ।

शायद् यही निरीहता मूल कारण हुनुपर्छ– पुरुषले महिलामाथि नियन्त्रण गर्न खोज्नुमा र सृजना गर्छ यौनिकता नियन्त्रण गर्ने नैतिकताको पाठ। यसमा आधारित भएर सृजना गर्छ संस्कृति र रीतिरिवाज। विवाह र परिवारको अवधारणामा महिलाको यौनिकतामाथि नियन्त्रण र अधिपत्य लागू गर्छ पुरुषले। विवाहपूर्व महिला कुमारी हुनुपर्ने मान्यता राख्छ।

आफूले बहु–पत्नी राखे पनि हुने परम्परा चलाउँछ तर यदि आफ्नो मृत्यु भएमा या त विधवा भएर बाँकी जीवन बिताउनुपर्ने परम्परा खडा गर्छ, या त श्रीमतीले सती जानुपर्ने चलन चलाउँछ ताकि महिलाले आफ्नो (पतिको) सहभागिताबिना यौनिकताको आनन्द लिन नसकुन् भनेर।

यति गरेर पनि नपुगेर थप नियन्त्रणका लागि जबर्जस्ति गर्न पनि पछि पर्दैन पुरुष। यी सबै मनोवैज्ञानिक परिणाम हुन पुरुषले सम्भोगमा ‘फिल’ गर्ने हार र निरीहता तथा ‘डाहा’को परिणाम, उसको हरेक क्षेत्रमा जसरी पनि जित्नैपर्ने जिद्दीपनाको परिणाम। यसरी पुरुषका लागि जैविकपाटोबाट हेर्दा पनि सम्भोग युद्ध नै हो।

पुरुषले लड्नुपर्छ अस्तित्वको निरन्तरता जोगाउनका लागि। र भावनात्मक पाटोबाट हेर्ने हो भने पनि सम्भोगमा पुरुष कमजोर प्रतियोगी हो। उसको हार निश्चित छ– यदि उसले महिलामाथि अन्य ‘जाल-झेल’ गरेन भने। उसलाई लाग्छ उसको एउटै उपाय भनेको मूढेबल मात्र हो– यौनिकताका सवालमा  तर यो जित्नैपर्ने मानसिकता किन बोक्छ पुरुषले? सम्भोगमा आनन्द लिन छाडेर हार-जीतको श्पर्धा किन गर्छ पुरुष ?

पुरुषले जिद्दीपना छाडे समाधानको बाटो सहज हुने थियो, परिवार या वैवाहिक संरचनाभित्र महिलाहरुलाई नैतिक निगारानीको कठोर ‘पहरा’ (watching) मा राख्ने थिएन। महिला प्राकृतिक रुपमा नै पुरषले भन्दा धेरै सम्भोगसुख लिन सक्छन् भन्ने कुरा पुरुषले बुझ्न सक्यो र स्वीकार गर्यो भने महिलाको यौनिकतामाथि नैतिकताको निगरानी (moral policing) गर्ने थिएन र महिलाको यौनिकतालाई नियन्त्रण गर्नमा जबर्जस्ती गर्ने पनि थिएन। तर, उसको जित्नैपर्ने जिद्दिपनाले मानसिक रुपमा तनावमा रहन्छ पुरुष। अनि बलात्कार जस्ता अपराधहरु गर्न बाध्य हुन्छ।

यसरी बलात्कारको कारण छोटा लुगा नभएर पितृसत्तात्मक समाजले बोकेको यौनिकतासम्बन्धी अवधारणा हो, जसले पुरुषको मानसिकतामा नकारात्मक प्रभाव पारेको छ। उसलाई नियन्त्रणकारी बन्न बाध्य बनाएको छ।
भवतु सब्ब मंगलम्।

(भिक्षु कश्यपको पुरानो नाउँ सुनीलबाबु पन्त हो। उनी पहिलो संविधानसभा सदस्य थिए।)



परिवर्तन मूलमा भयाे कि आवरणमा मात्र?

प्रकाशित मिति: : 2021-08-29 21:18:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ