चार दिनदेखि हराएका बालक फेला परेपछि प्रधानमन्त्री खुसी

अस्ट्रेलियामा एक तीन वर्षीय बालक हराएको चार दिनपछि फेला परेका छन्। न्यु साउद वेल्समा झाडीमा हराएका उनी चार दिनपछि सकुशल फेला परेका हुन्। 

एन्थोनी एजे एलफालकलाई सोमबार प्रहरीको उद्धार हेलिकप्टरले फेला पारेको थियो। उद्धारकर्ताले उनलाई घरबाट पाँच सय मिटर टाढाको एउटा खोलाको किनारामा पानी पिउँदै गरेको अवस्थामा फेला पारेका थिए।

प्रधानमन्त्री स्कट मोरिसनले बालक फेला परेपछि आफूले शान्तिको श्वास फेरेको बताएका छन्। 

अटिजमका बिरामी उनी बोल्न सक्दैनथे। हराउनुअघि उनी पछिल्लोपटक शुक्रबार देखिएका थिए। बालक अपहृत भएको हुन सक्ने परिवारले अनुमान गरेको थियो।

तल्लो खुट्टा केही कोतरिएको तथा लुगा केही चिसो देखिएकोबाहेक उनको अवस्था सामान्य थियो। उनका बाबु एन्थोनी एलफालकले बालक फेला परेको घटनालाई ‘चमत्कार’ भनेका छन्। 

बालक खोजीका लागि एक सय प्रहरी अधिकारी र स्वयंमसेवक खटिएका थिए। उनी फेला परेको स्थानमा यसअघि उद्धारकर्ता पुगेका भए पनि बालकलाई देखेका थिएनन्। 
न्यु साउद वेल्स प्रहरीले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा एकजना प्रहरीले ‘मैले बालकलाई फेला पारेँ’ भनेको सुनिन्छ। 

‘उनलाई कमिलाले टोकेको रहेछ, जे होस् जीवितै फेला परेकोमा खुसी छु,’ छोरा फेला परेपछि दंग परेका उनका बुबाले भने। 

ती बालक त्यहाँ कसरी पुगे भन्नेबारेमा अभिभावक पनि प्रस्ट नभएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: : 2021-09-07 12:36:00

प्रतिकृया दिनुहोस्