भारतको हिमाञ्चललाई ‘अपराध अखडा’ बनाउँदै नेपाली 

तेजन खड्का

शिमला, भारत

भारतको हिमाञ्चलस्थित किन्नौर जिल्ला प्रहरी कार्यालयले गत २८ अगस्टमा २४ वर्षीय नेपाली युवकलाई पक्राउ ग-यो। नेपाल घर भएका राजेन्द्र डेढ वर्षअघि रोजगारीका लागि यहाँ आइपुगेका हुन्।

नेपाली मूलकी १३ वर्षीया बालिकामाथि अपहरणपछि बलात्कार गरेको अभियोगमा युवक पक्राउ परे। कोरोना महामारीले स्कूल बन्द भएको मौका छोपी ती युवकले बालिकालाई अपहरण गरेका थिए।

घरछेउमै खेलिरहेकी ती बालिकालाई डर–धम्की देखाएर किन्नौर जिल्लाकै दुर्गम गाउँ– राराचबलन गाउँ पु-याएको प्रहरीको दाबी छ।

किन्नौर प्रहरीले पीडित बालिकालाई उद्धार गरी आफन्त र परिवारको जिम्मा लगाइसकेको छ। राजेन्द्रले ती बालिकालाई प्रलोभन देखाउँदै अपहरण गरी बलात्कार गरेको गम्भीर आरोप लागेको छ।

युवकलाई जिल्ला अदालत, किन्नौरमा पेश गरिएको छ। उनी अहिले प्रहरीको न्यायिक हिरासतमा छन्।

किन्नौर जिल्लामै गत २० अगस्टमा अर्का नेपाली खड्ग सिंह पनि पक्राउ परे। मदिरा सेवनपछिको कुटाकुटमा नेपाली मजदुर सिंहले अर्का एक बिहारी सहकर्मीको हत्या गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।

नेपालीको डेरामा पदिरा पिउन पुगेका उनीहरूबीच सामान्य विवाद हुँदा खड्गले रोटी पकाउने तावा प्रहार गरी बिहारका रामचन्द्रको हत्या गरेका हुन्।

लगतै, खड्क आफ्नो डेरामा पुगी श्रीमती, छोरा र छोरीसहित भागे। प्रहरीले छानबीन अघि बढायो। उनी जङ्गलमा बसिरहेको अवस्थामा स–परिवार पक्राउ परे।

हिमाञ्चलस्थित कूल्लु जिल्लाको नङ्गर गाउँमा नेपाली ५० वर्षीया विष्णादेवी गत १० अगस्तमा मृत भेटिइन्। उनीको शब नङ्गरस्थित जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले गाउँका प्रधानलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगी छानबीन ग-यो। उनको हत्या हो या आत्महत्या, पत्ता लगाउन प्रहरी अहिलेपनि लागिपरेको छ। उनी श्रीमान इन्द्रदेवका साथ कूल्लुमा बस्दैआएकी थिइन्।

राज्यकै शिमलस्थित देवभूमिमा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गत १२ जुनमा नेपाली मूलका राजकुमार पक्राउ परे। उनमाथि बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको गम्भीर आरोप लागेको छ। पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दर्ता गरेपछि राजकुमार पक्राउ परेका हुन्।

किन्नौर जिल्लाको नमज्ञा गाउँमा बस्दैआएकी एक नेपाली महिला तागी थापा गत १९ जुनमा मृत फेला परिन्। हत्या आरोपमा उनकै देवर पक्राउ परे।

मृतक ३८ वर्षीया तागी जाजरकोट (नेपाल) जिल्लाको डिंगा गाउँकी हुन्। हत्या आरोपमा २६ वर्षीय देवर टेकबहादुर थापासहित कृष्णबहादुर थापा, नीमबहादुर थापा र दलवीर थापालाई किन्नौर प्रहरीले गरेको हो।

हिमाञ्चलका विभिन्न जिल्लामा नेपालीहरूको बाक्लो बसोबास छ। शिमला, कुल्लू, रामपुर, किन्नौरलगायतका ठाउँ नेपालीका लागि रोजगारीको गन्तव्य मानिन्छन्।

पछिल्लो समय नेपालीद्वारा वर्षेनी हत्या–हिंसाका दर्जनौँ घटना भइरहेका छन्। अधिकांश घटनामा नेपालीद्वारा नेपालीकै हत्या तथा बलात्कार भएका छन्। त्यसबाहेक नेपालीमाथि भारतीय नागरिकको हत्या, बालिका बलात्कारजस्ता थ्रुपै जघन्य फौजदारी आरोपहरू लाग्ने गरेका छन्।

विगतमा विदेशमा काम गर्ने नेपालीहरुले मेहनती, इमान्दार र कामकाजी भन्ने छवि बनाएका थिए।  त्यही साखका कारण भारतमा नेपालीले अहिले पनि ससम्मान काम पाउने गरेका छन् तर हिमाञ्चल क्षेत्रमा पछिल्लो समय घटेका अपराधमा नेपालीको श्रृङ्खलाबद्ध सहभागिताले नेपालीकै छवि नै धमिलिँदै गएकोप्रति नेपाली मूलका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।

लामो समयदेखि यहाँ बस्दै आएका नेपालीमूलका स्थानीय कृष्ण भण्डारीले अघिल्ला दिनको तुलनामा पछिल्लो समय रोजगारीका लागि हिमाञ्चल आउने नेपाली युवा कुलतमा फस्दैगएकोमा चिन्ता व्यक्त गरे।

हिमाञ्चल राज्यमा छरिएर बसिरहेका थ्रुपै नेपालीले डिप्रेसनको शिकार भएर आत्महत्याको बाटोसमेत रोजेका छन्। प्रहरी स्रोतका अनुसार, औषतमा सातामा एक जना नेपाली अवैध लागूऔषध ओसार–पसारको अपराधमा पक्राउ पर्ने गरेका छन्।

शिमलास्थित चौपाल चोकबाट गत २४ मार्चमा प्रेमबहादुर नेपाली करिब दुई किलो अफिमसहित पक्राउ परेका परेका थिए। उनी अहिलेसम्म प्रहरी हिरासतमै छन्। लागूऔषध ओसार–पसार गरिरहेका बेला उनलाई रामपुर प्रहरीले पक्राउ गरेको हो।

कूल्लु प्रहरीले ५१३ ग्राम चरेससहित एक नेपालीलाई गत २० जनवरीमा पक्राउ गर्‍यो। पक्राउ पर्दा ५५ वर्षीय प्रेममान सिंह स्कुटीमार्फत् कूल्लुतर्फ लागूऔषध बोकेर गइरहेका थिए।

हिमाञ्चलमा रोजगारीको खोजीमा आएका नेपालीहरू अघिल्लो वर्ष सबैभन्दा बढी लागूऔषध ओसार–पसार र बालिकाहरूमाथि यौन हिंसाको आरोप पक्राउ परेका थिए। यसपटक कोरोना महामारीले कमै नेपाली मजदुरहरू यहाँका विभिन्न ठाउँमा पुगे पनि अपराध कर्ममा भने पटक्कै कमी नआएकोमा नेपाली मूलका स्थानीय कृष्ण भण्डारीले चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: : 2021-09-17 16:13:00

प्रतिकृया दिनुहोस्