म्यान्मारः कोरोनाभन्दा घातक जुन्ताको सैन्य आतङ्क

सुधा

म्यान्मार
Getty Images
Getty Images

देश, समाज र जीवन सुन्दर बनाउन मानिसले समयकाे रंगमञ्चमा आ-आफ्नाे भूमिका निवार्ह गरिरहेका हुन्छन्।

यहाँ काेही निर्धारित पात्रकाे जीवन बाँचिरहेका छैनन्। न त, कसलाई ताेकिएकाे नै छ।

मानिसहरु आफ्नै निजी विचारले नियन्त्रित छन्। माया गर्ने, रिस पाेख्ने, खुसी हुने, दुखी हुनेलगायत विभिन्न क्षणहरूकाे जिम्मेवार स्वयं मानिस नै हुन्छ।

जन्म-मृत्युबीचकाे अनमाेल समयमा कसैले आफ्नो जीवनलाई समाजबाट टाढा राखी निजी परिवारभित्रै सिमित रहेर मात्रै पनि जीवन व्यतित गरिदिन्छन्।

कसैकाे भूमिका भने आफ्ना त्याग-तपस्याले जातीय समाज र भाषा साहित्यमा मात्र सिमित नरहेर विश्व कल्याणकाे अभिभार लिई आफ्नाे महत्त्वपूर्ण भूमिका स्थापित गर्ने गरेकाे पाइन्छ।

कोही इतिहासकाे पानामा राम्राे बनेर बाँच्छन्, त काेही खराब बनेर। अनगिन्ती जीवनहरू फगत आफैमा सिमित रही गुमनाम बन्छन्। मृत्युलाई अङ्गाल्दै नेपथ्यमै आफूलाई सिध्याउँछन्।

जीवन आफ्नाे हो, कसैलाई व्याजमा दिएर हुँदैन। र सापटि मागेर पाइन्न पनि। सिमित समयभित्र आफ्नाे याेग्यता र क्षमताले सकेजति जातीय-समाज, संस्कृति तथा भाषा- साहित्य र देशकाे सेवा गरिरहेका छन्, कैयाैं जीवन।

म्यान्मार देशका जनताहरू विस्तारै जुर्मुराउँन थालेका छन्। देशप्रतिकाे कर्तव्य निर्वाह गर्ने अवसरकाे सदुपयाेग गरेर सत्य-असत्यकाे पक्षमा आफ्ना विचार-विवेकले साथ दिएसम्म आफ्नाे भूमिका निर्हवा गरिरहेका छन्।

'बगिरहेकाे खोलाले ठूला-ठूला ढुङ्गा काट्ने गर्छ' भनेझैँ आफ्नाे लक्ष्यमा निरन्तर हिँडिरहे एकदिन सफलता जरुर प्राप्त हुनेछ।पछिल्लाे समय म्यान्मारका जनताले यहीँ अठाेट लिएका छन्।

आफ्नाे अधिकार माग गर्दै जनता सडकमा उत्रिएका छन्। सत्ताकाे दमन राेक्न राेक्न डाक्टर, नर्स, ईन्जिनियर, रेल्वे कर्मचारी तथा विभिन्न कर्मचारीहरू नागरिक अवज्ञा आन्दोलनमा भाग लिदैं आएका छन्। कतिपय  कर्मचारी आफ्नाे आफ्नाे इच्छा हुँदाहुँदै पनि 'सिडिएम'मा भाग लिन सकिरहेका छैनन्।

काेही शरणार्थी बन्दै परिवारसहित जङ्गलतिर भागेका छन्। काेही स्वतन्त्र सेना बनेका छन्। अत्याचारकाे विरूद्ध लड्न केही युवाहरूले हतियार उठाउँदै जंगलमा 'पीपुल्स् डिफेन्स फाेर्स'काे तालिम लिइरहेका छन्।

२० हजारभन्दा बढी नागरिक भारतकाे पूर्वाञ्चल मिजाेरमतिर पसेकाे अनुमान लगाइएकाे छ। त्यस्तै दुई हजारभन्दा बढी नागरिक मणिपुरतिर पसेकाे अनुमान लगाइएकाे छ। केही नागरिकहरु अरूणाचलतिर पनि पसिरहेकाे हल्ला चलेकाे छ।

म्यान्मार कू: विद्रोही समूह र 'जुन्ता'बीचको लडाइँमा एकैदिन १० सुरक्षाकर्मी मारिए

शरणार्थी बनेर गएका नागरिकहरुलाई बर्मा फिर्ता पठाई दिन म्यान्मार सैन्य सरकारले आग्रह पनि गरिरहेकाे छ। तर, मिजाेराम र मणिपुरका अधिकारीहरूले स्टेटमा लागू गर्न सकिने अधिकार प्रयाेग गर्दै म्यान्मार शरणार्थीहरूलाई गास र बासकाे व्यवस्था मिलाइदिएकाे छ। जुन, सर्हानीय पक्ष हाे।

त्यसाे त, खान र लाउन नपाएका शरणार्थीहरू पनि प्रशस्त छन्। काेराेना महामारीकाे संकटमा कतिपय शरणार्थीहरूलाई पनि संक्रमण देखिएकाे छ। कले- टमूतिरकाे परिस्थितिमा भने केही सुधार देखिन थालेकाे छ।

सैन्य आतंक सुस्त हुने छाँटकाँट छैन। संक्रमित बिरामीहरुलाई अस्पताल पुग्नै पर्ने बाध्यता छ। तर वातावरण भनेजस्ताे स्वतन्त्र छैन। दैनिक २० देखि ३० जना संक्रमितले ज्यान गुमाइरहेका छन्। स्वास्थ्यकर्मीहरूकाे कमी र असल स्वास्थ्य प्रशासनकाे अचाव पुरानै समस्या हाे। 

सैन्य आतंक र काेराेना आतंकले एकैचाेटी ताण्डव मच्चाइरहेका छन्। प्राइभेट क्लिनिकहरु बन्द छन्। सेनाले खाेल्न दिदैँन।सरकारी अस्पतालहरु पनि कमै मात्रामा खाेलिएका छन्। खाेलिएका अस्पतालहरुमध्ये पनि कुनैमा डाक्टर छैनन्। कुनैमा नर्स छैनन्। कुनैमा औषधि छैनन्। 

भित्री गाउँहरू पनि बिरामीहरूले अस्तव्यस्त बन्दै गएकाे छ। यस्ताे दयनीय परिस्थिति देखेर केही डाक्टरहरूले आफ्ना क्लिनिक खाेलेर निशुल्क उपचार गर्ने प्रयास नगरेका पनि हाेइनन्, तर सैन्य अत्याचारले त्याे असम्भव भएकाे छ।

यहाँसम्म कि केही डाक्टहरूलाई समेत सेनाले गिरफ्तार गरेर लगेका छन्। अन्य व्यापार-व्यवसाय सबै बन्द छ। अधिकांश बैंकहरू पनि बन्द छन्। सिमित मात्र खुल्ला छन्। पैसा निकाल्नू वा पठाउनू परेमा लामाे लाइन बस्नुपर्ने बाध्यता छ। अक्सिजन किन्नकाे लागि पनि लामाे लाइन बसिरहेका छन्, मान्छेहरू।

photo: AFP

अवस्था यति जटिल बन्दै गएकाे छ कि, लासकाे अन्त्येष्टी कार्यमा सहायता गर्ने मानिसहरूकाे नै अभाव हुन थालेकाे छ। केही सहयाेगी मन भएकाहरूलाई पनि सेनाले बारम्बर डरधम्की दिइरहेकाे छ।

केही दिनअघि मात्रै जनताले दुख गरेर जम्मा गरेकाे अक्सिजन सिलिण्डर पनि सेनाले आफ्नाे ट्रकमा हालेर लगे। रकम उठाएर अक्सिजन खाेज्दै हिँडेका युवाहरूले त ज्यानसमेत गुमाउनु पर्याे।

सेनाले हिजाे-अस्ति बन्दुक र हतियारले जनता मार्दै थिए भने अहिले अक्सिजन सिज गरेर मार्दैछन्। म्यान्मारका जनताहरू लाचार छन्। यहाँ प्रकृतिकाे प्रकाेप र सैन्यहरूकाे अत्याचारले सास फेरेर 'उफ्'सम्म भन्न सकिदैन।

यान्गौ महानगरको घरहरुमा बिरामी भएर परिवारकै मृत्यु भइरहेकाे छ। तर पनि केही गर्न नसकिने अवस्था छ। जनताहरुमा आफू-आफूमा हातेमालाे गरेर बाँच्ने प्रयास गर्दैछन्।

खाद्यान्न र पानी अभाव भएकाे घरमा सेतो झण्डा टाङ्ने, परिवार नै बिरामी भएकाे घरमा वा औषधि अभाव भएकाे घरमा पहेंलो झण्डा टाङ्नेजस्ता विकल्पहरु अपनाएर सुख-दुख साटिदैँछ।

अभाव भइरहेकै बेला अक्सिजनको कालो व्यापारले सुन र डलरको मुल्यलाई पनि उछिनेकाे छ। विभिन्न बाह्य देशहरूले गरेकाे तथा दिएकाे सहयाेग पनि जनताकाे दैलाेसम्म पुगेकाे छैन। त्याे पनि सेनाहरूले आफ्नाे नियन्त्रणमा लिइरहेका छन्। 

यस्ताे परिस्थितिमा सैन्य आतङ्कबाट पीडित म्यान्मार जनतालाई न्याय दिलाउन विश्व समुदाय ध्यान दिन नितान्त आवश्यकता देखिएकाे छ।

प्रकाशित मिति: : 2021-10-03 17:23:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ