पर्यटनमा आध्यात्मिक बिचरण

सूर्य थपलिया

काठमाडाैँ
Breaknlinks
Breaknlinks

पर्यटन मुख्य रुपमा चार प्रमुख प्रेरणारुपी मानविय स्वभावको स्तम्भमा उभिएर आफनो अस्तित्वका लागि संघर्ष गर्छ। न्यानाेपनको खोजी, समाज बुज्ने चाहना, ज्ञानको खोजी र आतिथ्यताको रहर। यी चार मानवका जन्मजात चरित्र हुन्। 

मान्छे ज्ञान खोज्दै हिँडेको छ। आश्चर्यको खोजीमा छ। तिलस्मी भूमि खोज्छ। आफूलाई चकित पार्ने समाज र सभ्यता खोज्छ। अनि चकित पर्नुमा उपलब्धि मान्छ। यसरी सर्धैभरी पर्यटन नयाँ–नयाँ आयाम र स्वरुपमा अघि बढेको छ। 

सन् २०१७ मा आएको हलिउड चलचित्रको प्रमुख पात्र सर्जन डा.स्ट्रेन्जको दुर्घटनामा परी हात काम नलाग्ने भएपछि अलौकिक शक्तिको खोजीमा त्यो पात्र तिलस्मी भूमि कमारताज पुग्छ। यो ठाँउ हिन्दू मिथकसँग जोडिएको देखाउँछ चलचित्रले। पात्रको हात ठिक हुन्छ।

यस चलचित्रले मानिस आफ्नो अर्धचेतन मस्तिष्क र ज्ञानको अन्धकारबाट पार पाउन ईश्वरीय संसारको खोजीमा निस्कन्छ। मनको अन्धकारबाट मुक्तिको बाटो तय गर्न प्रकृतिमा भगवानको वरदान छ भन्ने विश्वासलाई मजबुत पार्दे जीवनमा नयाँ शक्तिको संचारको अभिलाषा राख्छ भन्ने सन्देश दिन खोजेको छ।

चलचित्रको महत्वपूर्ण अंश काठमाडौंमा छायाकंन गरियो। काठमाडौं आफैमा एउटा अलौकिक सभ्यता बोकेको शहर हो। यहाँ हरेका गल्लीमा मन्दिर छन्। भूपि शेरचनले देखे, यहाँ देवताले बनाएका मानिस र मानिसले बनाएका देवता। त्यसैले यो भूमि देवनगरी हो। हलिउडले नियाल्न खोज्यो यस्को रहस्य। जिउनु र जीवन दुवै रहस्य हुन्। चलचित्रले कल्पनाशिलताको पराकाष्ठासम्म पुग्ने सामाथ्र्य राख्छ। तर, शहर जीवन्त हुन्छ, चलचित्रको कारणले– डा.स्ट्रेन्जले काठमाडौं खोज्यो। 

समाज नायक खोज्छ। पौराणिक सभ्यतामा प्रशस्त नायकहरू आए। हामीले पुज्ने भगवान हाम्रा लागि नायक रहे। हजारौं बर्षदेखि नायक रहेका छन्, हाम्रा लागि। तीनै नायकका बास खोज्दै हिँड्छौँ, प्रयास गर्छाै भेटाउन या भेटेको झैं भानमा रमाउन। आफूपछिको पुस्तालाई पनि प्रेरित गर्छाैँ खोज्न, अनि मार्गदर्शन गछौँ यो विश्वास जन्म जन्मान्तर रहोस् र पुस्ता पुस्तान्तरसम्म। 

पूर्वमा पाथिभरा भेटायौँ, काठमाडौंमा पशुपति, मुस्ताङ्गमा मुक्तिनाथ अनि पश्चिममा बडिमालिका। थुप्रैँ देवलोक भेटेका छाैँ। विश्वास गछौँ, मान्छौँ। नगर्नुपर्ने कारण छ र ? इश्वरको अस्तित्व कसैले नकारेको छ र ? शहर हामीले बसायौँ। यही शहरमा भगवानलाई राख्यौँ। महाकवि देवकोटाले रचे, कुन मन्दिरमा जान्छौं यात्री! वास्तवमा हामी नै देवतुल्य छौँ। हामी नेपाली। अनि त आज सारा पश्चिमालाई प्रेरित गरेका छौँ यो देवलोक आउनका लागि। 

ब्लकबस्टर हलिउड चलचित्र अवतार संस्कृत नाम हो। अठारौं शताब्दीमा अंग्रेजी भाषाले सापटी लियो। अवतारमा मिथक पात्रले निलो शरीर धारण गर्छन्। भगवान बिष्णु, कृष्ण अवतारी छन। रुप फेर्न माहिर। के हलिवुड हाम्रै सनातन धर्मबाट प्रेरित छैन र? 

भगवान हिमालमा बस्छन् र स्वर्ग हिमालपारी छ भन्ने कथन सुनेर कैयौँ पुस्ता हुर्किएको छ। धर्मको अस्तित्वको सांकेतिक रुपमा संस्थागत विकास भएका मन्दिरका संरचनाले दुइवटा अक्षको बोध गराउँछन्। स्वर्ग र नर्कको ठाडो अक्ष र चार दिशा बोध गराउने तेर्सो अक्ष। धार्मिक वास्तुकलाले मूल–रुपमा जिवन बाच्ने संस्कार र आचरणलाई आत्मा र ब्रम्हाको संसर्गलाई प्रेरित गराउने हो। अन्तिम यात्रा ब्रम्हा उन्मुख हो। २१ औं शताब्दीको पर्यटन बिशेषतः अनुभवात्मक केन्द्रित छ। 

हिन्दुत्वमा हिमाललाई देवात्माको रुपमा ब्याख्या गरिन्छ। सारमा हिन्दू दर्शनले हरेक कणमा देवात्माको बास हुने विश्वास गर्दछ। हिमालको उचाइँलाई मानव आत्माको उच्चता र गहिराइसँग तुलना गरिएको छ, जुन वास्तवमा मानव चेतनाको सार्वभौम अभिमत हो।

हिन्दू पुराणका कथनमा स्वर्गको अवस्थिती हिमालमा छ भन्ने विश्वास राखिएको छ। सन् असी र नब्बेको दशकमा भारतीय टेलिभिजनमा प्रशारण भएको रामायण र महाभारत टेलिसिरियलले तत्पश्चातको पुस्तालाई हिन्दू धर्म, संस्कृति र दर्शनको बिषयमा श्रब्यदृश्यको माध्यमबाट पुस्तौसम्मका लागि ज्ञानको भण्डार निर्माण गरिदियो। आजको डिजिटल पुस्ताका लागि पनि यो एक क्लिकमा उपलब्ध छ। 

धार्मिक र आध्यात्मिक पर्यटनलाई माथि राखेर बुज्नु पर्छ। यो मनको यात्रा हो। आस्था र विश्वासबाट प्रेरित यात्राको मर्म जीवन पर्यन्त अनुभवसँग गाँसिएको हुन्छ। पूर्णिमाको चन्द्रमाले एक क्षितिजबाट अर्को क्षितिजसम्म उज्यालो बनाउछ र आफ्नो कोठामा कति उज्यालो प्रवेश गर्छ त्यो त झ्याँल कति खुल्ला राख्ने त्यस्मा निर्भर रहन्छ। आस्थाको यात्रा ब्यवसाय मात्र रहन सक्दैन।

धर्मको युद्धमा आफन्तको हत्याको पापबाट मुक्तिको मार्गका लागि भगवान केदारनाथको दर्शन गर्न हिँडेका पाण्डवलाई सहजैं दर्शन दिने मन नभएपछि गोरुको रुप धारण गरेर बसेका केदारनाथलाई चिने पछि पाण्डवले समाउन बल गर्दा शीर र शरीर छुट्टियो। शरीर रहेको स्थान भारतमा केदारनाथको रुपमा प्रसिद्ध भयो। शीर भक्तपुरको डोलेश्वर हो भन्ने तथ्य सन् २००९ मा केदारपीठका मुखिया भीम शिवाचार्यले मूर्ति स्थापना गरेसहित चार हजार वर्षअघिको महाभारतको कथनमा नेपाल महत्वपूर्ण रुपमा जोडिएको छ।

उत्तरको महाभारत श्रृंखला र दक्षिण तराईको विशाल भूमिलाई विराटक्षेत्रको रुपमा पुराणमा वर्णन गरिन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म महाभारत आजपनि वर्तमानमा बाँचेको छ। देवभूमि नेपालको पूर्व पश्चिम यात्रा नेपालीका लागि शान्ति र अध्यात्मको अलौकिक अनुभव हुन्छ। पर्यटन मात्र होइन, जीवनको सत्मार्ग र इश्वरको सत्संगका लागि पौराणिक इतिहासको जिउँदो यात्रा नै हुन सक्छ। 

प्रत्येक साल सदगुरुको नेपाल यात्रा उनकै शब्दमा देवलोकको यात्रा सरह हो। यदि स्वर्ग छ भने त्यो नेपाल नैं हो भन्ने गर्छन सदगुरु। यसपटक हुम्लाको लिमी उनको प्रसिद्धिको साक्षी बन्यो। लिमी पनि चर्चामा रहयो। कैलाश मानसरोवरको यात्राको नया गेटवे हुन सक्छ लिमी।

हलिउड हिन्दू सभ्यताको गहिराई र आस्थाको तिलस्मी प्रभावमा चलचित्र निर्माण गरिरहन्छ। मूल–रुपमा आत्मा अविनाशी छ। आत्मा शरीरको यात्रामा रहन्छ र यो संसाररुपी मायामा मानवको अस्तित्व इश्वरीय संरचना र सारा चराचर जगतको एउटा सानो अंश मात्र हो भन्ने हिन्दुत्वको दर्शनलाई कथानकको केन्द्रमा राखेर अर्बौ रुपैंया आम्दानी गरेका चलचित्र निर्माण भए। माया र तिलस्म चलचित्रले बोक्ने प्रमुख प्लट हो।

स्टारवार्सका श्रृंखलाहरुमा देखिने चरित्र र प्रस्तुतिले ब्रम्हाण्ड र अलौकिक शक्त्तिको बर्णन गर्छ। अन्तरआत्माको संघर्ष सँगैं बाह्य शत्रुलाई पराश्त गर्नपर्ने दर्शन हिन्दुत्वको आधार हो। इन्टरस्टेलर चलचित्रमा मुख्य पात्र समय र स्थानको अन्तरपरिवर्तनको इश्वरीय नियन्त्रणमा मानिसको अस्तित्व केवल बिशाल सृष्टिको नगण्य अंश मात्र हो भन्ने निष्कर्षमा पुग्दा वेद उपनिषदमा बर्णन गरिए जस्तो अनन्त ब्रहण्डको इश्वरीय रचनामा सबै जिवात्मा जोडिने विश्वासको नजिक चलचित्र पुगेको छ।

योग र ध्यानको सम्पूर्णताबाट संसाररुपी माया र भ्रमबाट मुक्त्त भएर जिवन र जगतलाई उत्कृष्टताबाट बुज्न सकिन्छ भन्ने पूर्वीय दर्शनबाट म्याट्रिक्स चलचित्र प्रभावित भयो भने लियोनार्दो डि क्याप्रियोको इन्सेप्शनदेखि अवतारसम्म हिन्दुत्व हलिवुडमा शसक्त ब्राण्डको रुपमा स्थापित भएको छ। 

ज्ञान र अनुभवको लागि बिचरण जरुरी छ। पर्यटनले नया आयाममा प्रवेश गर्ने प्रयास गर्नेपर्नेछ। 

– लेखक नेपाल पर्यटन बोर्डका प्रबन्धक हुन्।

प्रकाशित मिति: : 2021-09-26 07:49:00

प्रतिकृया दिनुहोस्