पूर्वमन्त्रीका दशा

Breaknlinks
Breaknlinks

राजनीति भनेको निस्वार्थ समाज एवं राष्ट्र सेवा हो। राजनीतिकर्मी सेवक हो, मालिक होइन। जीवन धान्नका लागि राज्यले पदाशीनहरूलाई सुविधा दिएको हुन्छ, त्यसभन्दा बढी लोभ गर्नु पाप हो।

नीतिले भनेको पनि छ 'अतिलोभ नकर्तव्यम्' अर्थात् अति लोभ नगर्नु। पापको पिताको नाम लोभ हो। लोभबाट उठेको मानिस आफ्नो क्षेत्रमा सफल हुन्छ, चम्कन्छ र उदाहरणीय बन्दछ। राजनीति, धर्म, सेवा जुन क्षेत्रमा लागे पनि लोभ त छोड्नै पर्छ। इतिहासमा देखिएका राजनेताहरू पनि लोभबाट मुक्त थिए। अरुलाई खुवाएर खाने, दान गर्नुलाई कर्तव्य ठान्ने, दिनदुःखीको सेवामा रमाउने पद्धति विस्तारै उखानमा सीमित हुन पुग्दैछ।

मानिसहरू जति शिक्षित हुँदै गए, प्रविधिको जति विकास हुँदै गयो, राजनीतिक जागरण जति बढ्दै गयो, चेतानाको वृद्धि जति हुँदै गयो, भ्रष्टाचार अझ फष्टाउन थाल्यो। यो बडो बिडम्वना र आश्चर्यको विषय छ।

पञ्चायतकालमा अधिकांश मन्त्रीहरू पद सकिएपछि कोठा खोज्दै हिँड्नुपर्दथ्यो। कमै मन्त्रीहरूको आफ्नो घर थियो। मन्त्री हुनुभन्दा पहिले बडाहाकिम हुनुभएका ध्यानबहादुर राईजीको हालत अहिले पनि मेरो आँखा अगाडि घुमिरहेको छ। ध्यानबहादुरजी मन्त्री पदबाट हटेपछि आर्थिक अभावले गर्दा डेरा सर्न सक्ने अवस्था रहेन। यसलाई बुझेर सरकारले अवकासपछि मन्त्रीलाई एक महिनाको तलब दिने व्यवस्था गरिदियो। यतिबेला सहायक मन्त्रीको तलब रु ९०० (नौ सय) मात्र हुन्थ्यो। वस्तु तथा सेवाको मूल्य सस्तो हुनाले गुजारा चलाउन केही सहज थियो। पसिना नपरेको धनले यो लोक र परलोकमा पोल्छ भन्ने मान्यताले जरो गाडेको हुनाले पराईका धनमा आँखा लगाउन मानिसहरू डराउँथे। धार्मिकमान्यताले साँच्चै समाजलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो काम गर्दोरहेछ।

मन्त्रीहरूको मात्रै होइन प्रधानमन्त्रीहरूकै आर्थिक हालत पनि उस्तै थियो। प्रथम निर्वाचनको केही समयपछि पदमा रहेका, पञ्चायतकालमा प्रधानमन्त्री बन्नुभएका सूर्यबहादुर थापाजीको एउटा घटना अहिले पनि याद आउँछ। त्यतिबेला उहाँ प्रधानमन्त्रीबाट बाहिर हुनुहुन्थ्यो। म काम विशेषले उहाँको निबास मालीगाउँमा गएको थिएँ। चिया पिउँदै गर्दा टिनको छानामा निकै ठूलो आवाज आयो। मैले कारण सोधें। उहाँले हाँस्दै भन्नुभयो 'हेर्नुहोस् न मुसासँग सम्झौता गर्नुपरेको छ। दिउँसै आफ्नो करामत देखाउँछ।'

फुर्सद पाएपछि विभिन्न क्षेत्रमा जीवन समर्पण गर्ने महानुभावहरूलाई भेट्न जाने मेरो स्वभाव अहिलेसम्म पनि छुटेको छैन। उहाँहरूको निकटताबाट धेरै ज्ञान र अनुभव पाउन सकिन्छ। एक दिन निर्माण यातायात एवं जलश्रोत मन्त्री भइसक्नुभएका हरिश्चन्द्र महतजीलाई भेट्न एकान्तकुनामा गएको थिएँ। उहाँले महेन्द्र राजमार्ग निर्माणको क्रममा कोहलपुरदेखि महाकालीसम्मको टेण्डर प्रकरणमा चित्त नबुझेपछि मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यतिबेला एकान्तकुना पनि विकटै थियो। सडकको सुविधासमेत पुगेको थिएन। बस्ती असाध्यै पातलो थियो। उहाँले दिएको जानकारीअनुसार म पुगेँ, त्रिपाल टाँगेर गुजरा चलाउनुभएको रहेछ। उहाँले त्रिपाल टाँगेको जग्गा चाहिँ आफ्नै रहेछ। धेरै साथीहरूका यस्ता उदाहरण प्रशस्त छन्। त्यसैले मन्त्रीपद पैसाका लागि होइन सेवा, जनकल्याण वा  प्रतिष्ठाका लागि हुन्थ्यो। यसको अर्थ सबै राष्ट्रिय पञ्चायतका सदस्य एवं पञ्चायतकालका मन्त्रीहरू दूधले धोएका थिए भन्ने होइन तर अधिकांशको आर्थिक हालत यस्तै थियो। अरु त के मरिचमानजी पनि पञ्चायतकालकै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँको आर्थिक अवस्था कस्तो रहेछ भन्ने सबैले प्रत्यक्ष देखेकै विषय हो।

रोल्पामा मेरो आर्थिक अवस्था राम्रै भए पनि काठमाडौँमा त्यो औकात, सामर्थ्य, हैसियत छैन। वि.सं. २०१९ सालदेखि २०४६ सालसम्ममा राष्ट्रिय पञ्चायतको सदस्य, एघार पटक मन्त्री भए पनि मेरो हाल पनि सन्तोषजनक थिएन। मन्त्री क्वाटरबाट सर्न कोठा खोज्दै हिँड्नुपर्दथ्यो।

वि.सं. २०३१ सालमा मेरी श्रीमती र बच्चाहरू काठमाडौं आएका थिए। यसअघि मेरो परिवार रोल्पामा नै घाँसपात, वस्तुभाउको हेरचाहमा नै थिए। उनीहरूलाई मैले त्यतिबेला नै काठमाडौँमा घर बनाएर राख्न सकिनँ। पहिलो पटक मन्त्री भएर वि.सं. २०३५ सालमा निस्कँदा म चाकुपाटस्थित गोपीकृष्ण महर्जनजीको घरमा बर्से। त्योभन्दा पहिले म पुतलीसडकनजिकै डेरा गरेर बस्दथेँ। वि. सं. २०३९ मा मन्त्रीक्वाटर छोड्दा पुनः गोपी महर्जनको घरमा बसेँ। पटकपटक कोठा र मन्त्री क्वाटर गर्दा धेरै समस्या पर्दथ्यो। बच्चाहरूको पढाईमा यसले सबैभन्दा धेरै असर पार्दथ्यो। पहाडको सम्पत्ति बेचेर काठमाडौँ ल्याउन मेरो मनले मानेन। सुखदुःख गरी वि.सं. २०४० सालमा सातदोबाटोमा एक तले घर बनाएँ। घर एक प्रकारले पहाडकै जस्तो थियो, मैले कुनै सजावट गर्न सकेको थिइनँ। आफूलाई चाहिने आधारभूत आवश्यकतालाई ध्यान दिँदै औकात हेरेर बनाएको थिएँ।

मेरी माहिली छोरीको विवाहमा श्री ५ वीरेन्द्र सरकारको सवारी हुने निश्चित भयो। सरकारलाई राज गराउनका लागि मेरो घरमा कुर्सी थिएनन्। त्यसैले सिंहदरबारबाट कुर्सी ल्याएर बस्ने व्यवस्था मिलाउने काम बैठक विभागले गरिदियो। त्यसका लागि उहाँहरूले निकै मिहिनेत गर्नुभएको थियो। विहेको दिन बिहान आएर बैठक डिपार्टमेन्टका कर्मचारीले दिनको २ बजे सरकार आउने कुरा बताए। छोटो समयमा मैले कसरी व्यवस्थापन गर्न सक्थेँ र? म बेहुलीको बुबा, सबै आफैँले हेर्नुपर्ने। मैले उहाँहरूलाई आफ्नो सम्पूर्ण अवस्था जानकारी गराएँ। उहाँहरूले नै सिंहदरबारका बैठक डिपार्टमेन्टबाट आवश्यक सामान ल्याएर सहयोग गरिदिनुभयाे।

राजा र रानी दुबैकाे सवारी भएकाे थियाे। अतिथि सत्कार विभागकाे मान्छेलाई बोलाएर 'सरकारले के के लिई बक्सन्छ तयार गरिदिनुहोस्' भनेको थिएँ। सरकारहरूले केवल चिया पिउनुभयो। कार्यक्रम सकिएपछि सामानहरू पुनः सिंहदरबार नै पठाएँ। मैले मात्र होइन केही मन्त्री एवं उच्च पदस्थ व्यक्तिहरूले यसरी नै गर्जो टार्नु पर्थ्यो। तात्कालिक राष्ट्रिय पञ्चायतका सदस्य एवं मन्त्रीहरू आफ्नो कार्यकालपछि सम्बन्धित जिल्लामा नै फर्कन्थे, काठमाडौँ बस्ने चलन असाध्यै कममा थियो। अधिकांशका छोराछोरीह

रू गाउँकै सरकारी विद्यालयमा अध्ययन गर्दथे। हरेकलाई आफ्नै गाऊँ, क्षेत्र र जिल्ला नै प्यारो थियो। पदावधि सकिएपछि हले, गोठाले जीवन बिताएर वा अन्य सेवामा आबध भएर बसेको देख्न पाइन्थ्यो।

पुराना राजनीतिज्ञ घर्तीमगरको पुस्तक 'ऐतिहासिक घटनाक्रम भाग–१'बाट

प्रकाशित मिति: : 2021-10-07 21:45:00

प्रतिकृया दिनुहोस्