डेनियल क्रेगको अन्तिम सिनेमाः खतरनाक 'स्टन्ट' र लाेभलाग्दाे 'ग्ल्यामर्स'

Breaknlinks
Breaknlinks

जेम्स बोन्ड श्रृंखलाको सिनेमाका दर्शकहरुका लागी नयाँ सिनेमा 'नो टाइम टू डाई' शुक्रबारदेखि सिनेमा हलहरुमा रिलिज गरिएको छ।

यो सिनेमा अरुभन्दा विशेष किन हो भने अरु अँग्रेजी सिनेमाभन्दा निकै लामो छ। करिब दुई घन्टा ४३ मिनेटको यो सिनेमा नायक डेनियल क्रेगको अन्तिम सिनेमा हो। जेम्स बोन्डका पछिल्लो सिनेमामा जस्तै यो सिनेमामा पनि एक्सन र रोमान्सलाई सँगै लगिएको छ र सिनेमा हेरुञ्जेल कतै पनि पट्ट्यार लाग्दैन।

सिनेमाको कथा अनुसार ब्रिटिस जासुस जेम्स बोन्डलाई अवकाशको जीवन बिताइरहेको समयमा अचानक आफू 'प्रोजेक्ट हेराक्लीज़' नामको एउटा योजनामा फसेको अनुभव हुन्छ। त्यो योजनालाई समाप्त पार्न उ जब निस्कन्छ, उसलाई आफू झन् झन् बढी फस्दै गएको अनुभव हुन्छ।

कतै आफू असफल हुने त् होइन भनेर पटक-पटक निरास बनेको उसले यो योजना पुरा गर्न सक्छ? के 'प्रोजेक्ट हेराक्लीज़' को रहस्य पर्दाफास हुन्छ? यो नै सिनेमा को 'सस्पेन्स' हो।

यो सिनेमामा पुराना जेम्स बोन्ड श्रृंखलाको सिनेमामा भएका सुन्दर गाडी, आधुनिक हतियार, ग्याजेट्स, खतरनाक एक्सन दृश्य, सेक्सी नायिका, साहसी नायक र कहिले पराजित नहुने खलनायक छन्। सिनेमा हेर्दा पुराना ००७ नायक रोजर मुर् र सिन कनरीको पनि सम्झना आउँछ। कथा पुरानै अर्थात संसारमा जब-जब दुख कष्ट पर्छ, त्यो बेला नै जेम्स बोन्ड आउँछ भनेजस्तै छ।

अभिनयको दृष्टिमा नायक क्रेगले सिनेमाको सुरुवात (इण्ट्रो सिन) देखि नै दर्शकहरुलाई आफ्नो अभिनयले बाँधेर राखेका छन्।

बोन्डको सिनेमामा अरुको लागि खासै काम हुँदैन तर पनि लिया सेडॉक्सले बोन्डको प्रेमिकाको भूमिकामा आफ्नो सुन्दर शरीरलाई प्रदर्शन गरेर दर्शकलाई उत्तेजित गर्ने काम गरेकी छिन्।

त्यस्तै अना डि अरामास (पालोमा) को सानो भूमिका भए पनि अभिनय उत्कृष्ट छ। खलनायकको रुपमा रामी मलेक छन्, उनको विभत्स रुप र घृणायोग्य कार्यले उनलाई एउटा उत्कृष्ट कलाकार हो भन्ने प्रमाणित गर्छ। अन्य कलाकार सामान्य छन्।

सिनेमाको सम्पूर्ण क्रेडिट निर्देशक केरी जोजी फुकुनागालाई जान्छ। यसअघि द अमेरिकन र लिटल बक्सेजजस्ता सुपर हिट सिनेमाको निर्देशन गरिसकेका उनको यो पहिलो जेम्स बोन्ड सिनेमा हो र उनले आफ्नो योग्यता प्रमाणित गरेका छन्। त्यस्तै पाँच सय जनाको स्पेसल इफेक्ट समूह र एक्सन निर्देशक थोमस बिलिङ्गको काम पनि तारिफयोग्य छ।

यदी तपाईं जेम्स बोन्ड सिनेमाको पारखी हो भने यो सिनेमा अवश्य हेर्नुहोला। तर, पंक्तिकारजस्तो अँग्रेजी भाषामा खासै दखल नभएको दर्शकको लागि भने 'कागलाई बेल पाकेको जस्तो' मात्र हो। 

नायकको खतरनाक स्टन्ट र सुन्दरी नायिकाको ग्ल्यामर्स दृश्य हेर्ने हो भने एकपटक हेर्दा केही फरक पर्दैन। तर एउटा सामान्य मान्छेलाई एक सय १० डलरको टिकटको के महत्व छ, त्यो ब्यक्ति अनुसार भरपर्ने कुरा हो। 

प्रकाशित मिति: : 2021-10-09 19:28:00

प्रतिकृया दिनुहोस्