राधाकृष्ण देउजा
सुरुवातमै यति प्रष्ट पारौं कि गत भाद्र २२ गतेसम्म आइपुग्दा तत्कालीन अवस्थामा सत्ता वा प्रतिपक्षमा रहेका दलका ठूला नेताहरूको व्यवहार, उनीहरूको आसेपासेका चुरीफुरी अनि अनेकन दलाल विचौलियाको कब्जामा पुगेको राज्य संरचनाको सत्यताले गर्दा जनतामा व्यापक निरासा बढदै गएर त्यो विद्रोह र विष्फोटको अवस्थामा पुगेको कुरा त्यसबेला र त्यसभन्दा अगाडि नै बनेको विषय पंक्तिकारले पटक–पटक लेखेको हो।
त्यति मात्रै नभई जनतामा बढदै गएको असन्तुष्टि आक्रोशको चरणमा पुगेकोले जनताको आक्रोश विस्फोट भइ वहाँहरूको शासन एकैपटक ढल्ने निष्कर्ष पनि प्रस्तुत गरेकै हो। त्यसो गर्दै गर्दा विगतका नकारात्मकतालाई सम्पूर्ण रुपमा निषेध गर्दै नयाँ सोच र विचार सहित इमान्दारिता, सरलता, स्वच्छतालाई प्राथमिकता दिएर शासन गर्ने दृढता सहितको विकल्प तयार हुनु अत्यावश्यक छ पनि भनेकै हो।
तर विडम्वना न तत्कालीन अवस्थामा क्रियाशील दलका नेताहरू सुध्रिए, न त्यसभित्र रहेका अरुले तिनलाई सुधार्ने सच्याउने वा बदल्ने कोसिस नै गरे, जसले गर्दा जनताको विष्फोट भाद्र २३ हुँदै २४ मा प्रकट भयो र त्यसैमा मिसिएर सफल भयो नेपाल राष्ट्र नै जलाउने भयङ्कर षड्यन्त्र। त्यसो हुँदा भाद्र २३ र २४ गते र त्यसपछि जे–जे भए त्यसको लागि विगतमा ठूला भनिएका दलका शक्तिशाली नेता र तिनलाई चलाउने भ्रष्टहरूको जालो, तिनीहरू सच्चिने सुध्रिने भएनन् भन्ने जान्दाजान्दै पनि नयाँ भरपर्दो विकल्प नखोज्ने आम सर्वसाधारण समेतको असावधानी र जनताको आक्रोशको ज्वालामा सलाई कोरेर जलाउने र त्यसको रापले जलेर खरानी भएको देश आफूले अरु कसैको हितमा चलाउने भयङ्कर षड्यन्त्रको जिम्मेवार रहेको स्पष्ट हो।
उल्लेखित तीन कुराहरूको योगफल स्वरूप आएको पीडादायी भाद्र २३ ले त्राशदीपूर्ण २४ निम्त्यायो। यति हुँदै गर्दा केहीले कर्मको सजाय पाए त केहीले आफूलाई नियोजित अपेक्षाको सत्ता यात्रामा अग्रसर गराए। तर देशलाई कुशासनबाट सुशासनतर्फ लाने एक मात्रै सोच बोकेर भाद्र २३ को प्रदर्शन आयोजना गर्ने ती असल, इमान्दार, अवोध जेनजी युवाहरूले आफ्नो ज्यान गुमाए भने तिनको रगत बगेपछि जन्माएको जनआक्रोशको पृष्ठभूमिमा तयार पारिएको षड्यन्त्रमा पारेर भाद्र २४ को आगलागीमा नेपालले एक ढंगले आफ्नो प्राण गुमायो।
नेपालको शानसहितको पहिचान बोकेको सिंहदरबार, न्यायको प्रत्याभूति गर्ने सम्मानित सर्वोच्च अदालतदेखि सुरक्षाको विश्वसनीयता दिलाउने प्रहरी चौकीहरू जलेर खरानी भए। अब त्यसपछि के के भए र हुँदै आएका छन् भन्ने हामी सबैलेदेखि रहेकै छौं। अनि हामीले बुझिरहेका छौं जे भयो वा भइरहेको छ त्यो विल्कुल ठिक भइरहेको छैन। तर विडम्वना त के भने आफ्नो आँखा अगाडि अनेकन प्रकारको निन्दनीय खेल हुँदै गर्दा हामीमध्ये धेरै चाहीँ गलतको विरुद्ध आवाज बुलन्द गर्नबाट कतराइ रहेका छौं। आखिर किन यस्तो भइरहेको छ? किन हामी यत्तिको डराइरहेको छौं? यो चाहीँ बढो गम्भीर सवाल हो।
अझै अचम्मलाग्दो कुरा त के छ भने डरत्रासको यो शृंखला ती महान जेनजी युवाहरूले डर त्राशमुक्त समाज निर्माणको लागि जीवन बलिदान गरेको समयदेखि झन् झन् बढदै गएको छ। जेनजी सहादतको भोलिपल्ट नै ती महान जेनजीहरूले राम्रो र सुन्दर बनाउन खोजेको देश जलाउने काम गरियो। तर हाम्रो डर यति ठुलो भयो कि हामीले देश जलाउने कार्यमा प्रत्यक्ष संलग्नहरूले जेनजी आन्दोलन हाइज्याक गरेको विषयमा चुँ समेत गर्न सकेनौं। जसले जेनजी आन्दोलनको नीतिगत आयोजना र संयोजन गरे ती सबैलाई बाइपास गरेर त्यसमा सहभागी नै नभएको पात्रलाई आन्दोलनको निकासको बाटो नियोजित गर्न दिइयो।
अनि त्यसपछि तिनै निर्देशकको निर्देशनको आधारमा संविधानविपरित सेना सक्रिय भएको, जेनजीहरूको माग अनुसार संविधानदेखि कानुन संशोधन गर्न बाध्य हुने संसद विघटन गर्दै आफू अनकुल परिणाम आउने चुनावमा देशलाई झोसेर मध्यावधी चुनावको लागि अर्बौं खर्च गराएर आज तिनै गैरजेनजीको नेतृत्वमा जेनजी आन्दोलनमा पानि बाँडने जेनजीका दाइहरूको सरकार बनेको छ।
जे जसरी सरकार बनेको भए पनि सरकारले जेनजी बलिदानको मर्म र जनताप्रतिको धर्म अनुसार काम गरेको भए त ठिकै हुन्थ्यो तर उनीहरूलाई सत्तामा पुर्याउनेहरूको अपेक्षाविपरित जे जस्ता काम भइरहेका छन् त्यसले अझै थप अँधेरो भविष्यको संकेत गरेको छ। तर पनि विरोधमा आवाजहरू बुलन्द हुनपर्ने जति भएको छैन।
जेनजी युवाहरूको रगतमा टेकेर र बगेको रगतले सिर्जना गरेको भावनाले पैदा गरेको उत्तेजना र आक्रोशको जगमा टेकेर बनेको सरकार गठन भएयता संविधानको मर्मविपरित त्यसो गर्ने वैधानिक हैसियत नभएका पात्रलाई संविधान संशोधन कार्यदलको संयोजक बनाउने, पूर्वाग्रह राखेर छानीछानी विरोधीहरू समाउने, राजकीय निकाय मात्रै नभइ संवैधानिक आयोगका पदाधिकारी सम्मलाई तर्साउने लगायत अनेकन काम गरेको छ।
हुँदा हुँदा स्वतन्त्र रहने भएकोले सम्मानित कहलिने सर्वोच्च अदालतको नेतृत्व छनोटमा सम्म इतिहासमै नभएको हस्तक्षेप गर्नेदेखि आफू प्रतिकुल सत्य समाचार लेख्ने र प्रशारण गर्ने मिडियाहरू अत्याउन लफंगा प्रयोग गर्दै ढोका ढोकामा गाडी तेर्स्याउने कामसमेत भएको छ। पंक्तिकार स्वयंलाई यो सरकारमा पुगेकाहरूबाट कुनै राम्रो काम होला भन्ने विश्वास सुरुदेखि नै नभएको भए पनि नेपालमा जन्मेर हुर्केको मानिस हुनुको नाताले आफूलाई गलत सावित गर्दै भए पनि सरकारले राम्रो गरिदिए हुन्थ्यो भन्ने आशा जरुर थियो। तर सरकारका कदमहरू र त्यसपछि लुकेका नियतले यो सरकारबाट राम्रो काम हुनेछैन भन्ने सुरु निष्कर्षलाई नै सही सावित गरेको छ।
अनि सरकारको कदम सकारात्मकतातर्फ उन्मुख नभएको यो निष्कर्ष यो सत्ता संचालकहरू प्रति विश्वास नराख्ने हामी जस्ताहरूको लागि मात्रै हैन यो सरकार बनाउन मत दिने आम मानिसहरूमा समेत व्याप्त बनेको छ तर पनि मनको कुरो मुखमा ल्याउन मानिसहरू सकिरहेका छैनन्। हिजो राणाको निरंकुशतासंग लडेको, राजाको अधिनायकवाददेखि पुराना दलहरूको सर्वसत्तावादसंग नडराएको नेपाली जनमत आखिर केसंग डराई रहेको छ? यो अत्यन्त चिन्ताजक मात्रै नभइ भयानक डरलाग्दो सवाल हो।
वर्तमान राज्यसत्तामा हालीमुहाली गर्दै रहेकाहरूको अराजकता र त्यसप्रति जानकार रहंदा रहँदै पनि जुन हिसाबले व्यापक मौनता देखिएको छ त्यसको सम्भावित कारण बुझ्न सहज पार्ने एक वाक्य म यहाँ उल्लेख गर्न वाञ्छनीय हुने ठान्छु।
केही दिन अगाडि संविधानको मर्म र सरकारको धर्म विपरित हुने गरेर प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख सहितको टोलीलाई बन्दी बनाएर सरकारको निर्देशन अनुसार मुद्दा दर्ता गर्न बाध्य पारिंदै गर्दा अख्तियारको टोलीबीचमा अब के गर्ने भनेर आपसी छलफल हुँदै गरेको समयमा त्यहाँ रहेका एक आयुक्त/पदाधिकारीले ‘सामाजिक सञ्जाल उहाँहरूको कब्जामा छ अहिले पनि। यत्रो ठूलो भ्रष्टाचार भएकामा पनि मुद्दा चलाउन अख्तियारले मानेन भनेर उहाँहरूले लेखिदिनुभयो भने मानिसहरूले त्यही पत्याउँछन्। अनि हाम्रो घर घेर्न, आगो लगाउन आउन सक्छन्। विचार गरौं’ भनेछन।
उनको त्यो भनाइपछि संविधानको दृष्टिले स्वतन्त्र रहेको अख्तियारको टोलीले सत्ताको आदेश पालना गर्दै मुद्दा सिर्जना गरेर मुद्दा दर्ता गराउने काम गरेछ। के हामी अख्तियारका आयुक्तले भनेकै जसरी सत्ता संचालकहरूको सामाजिक संजाल प्रभावबाट डराएर जे पनि सहन तयार भएको हो? के अब समाजमा रहेका मानिसहरूले बनाएको सामाजिक संजालको त्रासमा समाज नै बस्न बाध्य भएको हो त? यो अहम सवालको उत्तर नखोजी अवको नेपाल प्रगति पथमा जान सक्दैन।
त्यसैले हामी हरेकले आफैं संग सोध्नुपर्छ, ‘के हामीले विगतमा भएको दलहरूको सत्ताको ठाउँमा नयाँ अराजक राजाहरू चाहेको हो?’ अनि के साँच्चै समाज अब सामाजिक संजालमा कसैले केही लेख्ला र कसैले घर जलाउलान् भनेर नै डराएको हो त?
यदी हैन भने नेपाललाई संवैधानिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र बनाउन भन्दै सहादत दिने विगतका सहिदको सपना अनि त्यो लोकतान्त्रिक गणतन्त्रलाई भ्रष्टचार रहित बनाउनुपर्छ भन्दै सडकमा आउँदा जीवन गुमाउने महान जेनजी सहिदहरूको सहादतको मर्म विपरितका कर्मप्रति हाम्रो मौनता किन?
अनि ती महान जेनजीहरूले रगत बगाएको हामीलाई थप साहसी बनाउन थियो कि थरथर काँप्ने कायर बनाउनको लागि हो? पंक्तिकारलाई लाग्छ, विगतका नेताहरूको गलतका विरुद्ध जीवनको बलिदान दिएर ती माहान जेनजीहरूले पानी बाँडने अराजकहरूको अराजक निरंकुशता पक्कै चाहेका हैनन्।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया