भिडियो गेमको कथामा बन्यो ‘फ्री गाई’ सिनेमा, अङ्ग्रेजीमा दखल नभए पनि हेर्न सकिने 

सन् २००८ मा प्रदर्शित सिनेमा 'द रकर' का निर्माता शान लेबीले आफ्नै निर्देशनमा 'फ्री गाई' नामक सिनेमा ल्याएका छन्। करिब तीन महिनाअघि प्रदर्शन भएको उक्त सिनेमा सुपरहिट भइसकेको छ।

'भिडियो गेम' को पात्रलाई लिएर निर्माण भएको यो सिनेमा हास्य रसबाट अगाडि बढ्छ। करिब दुई घण्टालामो यो सिनेमा हेरुञ्जेल एकछिन पनि छोड्न मन लाग्दैन।

सिनेमाका मुख्य पात्र 'गाई' (रेयन रेनोल्ड्स) बैङ्क मा काम गर्छन्। हरेक दिन उस्तै 'युनिफर्म' लगाएर कार्यालय जान्छ। कार्यालय जाँदा आफूले पालेको माछालाई 'फेरि भेटौँला' भन्न बिर्सिन्न। 

एक दिन उसले काम गर्ने बैंक डकैती हुन्छ। त्यो बेला ऊ आफू बच्न भुइँमा सुतेको हुन्छ तर त्यस्तो डरलाग्दो समयमा पनि साथीसँग भने कुरा गरिरहेको हुन्छ।

एक दिन 'फ्री सिटी' नामक 'भिडियो गेम' खेल्दै गरेको समय उसको एउटी युवती 'मिली' (जोडी कोमर) सँग भेट हुन्छ। यो खेल खेल्दै जाँदा यसको डिजाइन अरु कसैले चोरी गरेको उसले थाहा पाउँछ।

त्यसपछि सुरु हुन्छ– त्यो चोरको खोजी। के त्यो डिजाइन चोर पक्राउ पर्छ ? यो नै सिनेमा को मूल कथा हो। यसलाई पटकथाकारद्वय मेट लिबरम्यान र जेक पेनले रमाइलो तरिकाले अगाडि बढाएका छन्।

सिनेमामा मूल कथाको साथसाथै अमेरिकामा बन्दूकको कारण भएको जनधनको क्षति, प्रजातन्त्रको नाममा धेरै सोझा मान्छेमाथि थोरै धूर्त मान्छेले गरेको शासन, बौद्धिक सम्पदाको चोरी, ठूला व्यापारीले साना व्यापारीमाथि गर्ने थिचोमिचोलाई पनि बडो रोचक तरिकाले प्रस्तुत गरिएको छ। सिनेमामा दर्शकलाई मनोरञ्जनका साथै सामाजिक सन्देश दिन पनि निर्देशक लेबी सफल छन्।

अभिनयको दृष्टिमा नायक रेनल्ड्स, नायिका कोमर र जोय केरी (की) को अभिनय उत्कृष्ट छ। मुख्य खलनायक ताइका वाटिटीको अभिनय त्यति प्रभावकारी नभए पनि उनका दुई सहायक लिल रेल हबरी (बड्डी) र उत्कर्ष अम्बेडकर (माउजर) को अभिनय निकै डरलाग्दो छ।

स्मरण रहोस्, अम्बेडकर भारतीय मूलका अमेरिकी हुन्। डूडको भूमिकामा देखिएका एरोन डब्लु रिडको सुगठित शरीर देख्दा पुराना अभिनेता आर्नोल्ड स्वार्जेनेगरको सम्झना आउँछ। अन्य कलाकारहरु सामान्य छन्।

प्राविधिक रुपमा यो सिनेमा अत्यन्तै उत्कृष्ट छ। सिनेमाको सम्पादन, सिनेमोटोग्राफी, स्पेसल इफेक्ट सबै उच्चस्तरको छ। विशेष गरी 'भिडियो गेम' को लत लागेका युवा वर्गलाई लक्ष्यित गरेर निर्माण गरिएको यो सिनेमा सबै वर्गका दर्शकहरुलाई मन पर्ने कुरामा दुईमत छैन।

यदि तपाईंलाई कम्प्युटर र 'भिडियो गेम' बारे जानकारी छ भने यो सिनेमा अवश्य हेर्नुहोला। अँग्रेजी भाषामा खासै दखल नभएको पंक्तिकारलाई पनि सिनेमा अत्यन्तै रोचक लाग्यो।

अब सिनेमा हेर्ने वा नहेर्ने भन्ने कुरा नित्तान्त व्यक्तिगत हो। समग्रमा यो सिनेमा एकपटक हेर्न सकिन्छ। पहिलो फ्रेमदेखि अन्तिम फ्रेमसम्म यो सिनेमाले तपाईंहरुलाई बाँधेर राख्छ।

प्रकाशित मिति: : 2021-10-20 06:59:00

प्रतिकृया दिनुहोस्