त्यो आदत, संस्कार र परम्परा

Breaknlinks
Breaknlinks

विजुली, बाटो, सञ्चार आदिको सेवा नपुगे पनि त्यतिबेला हाम्रो गाउँ असाध्यै वैभव सम्पन्न थियो। नुनबाहेक धान, मकै, कोदो, कपास आदि उत्पादन गरी आफ्ना सबै आवश्यकताहरू पूरा गरिन्थ्यो। खोलामा बालुवा चालेर सुन संकलन गर्ने, खानीबाट फलाम, तामा उत्खनन् गर्न, कपास एवं भेडाको ऊनबाट कपडाहरू तयार हुन्थे। हाम्रो भाषामा भेडालाई 'लु' भनिन्छ, 'लु'बाट बनेको हुनाले यसलाई लुगा भनिएको हो।

महिलाले च्याङ्गा (चोलो) र पागा (गुन्युका रूपमा लगाउने कपडा) आफै तयार गर्दथे। कसैले कसैको मुख ताक्नुपर्ने, आश गर्नुपर्ने वा नाकाबन्दी आदिबाद आत्तिनुपर्ने अवस्था थिएन। गुन्यूँ चोलो, दौरा सुरुवाल लगाउँदासम्म कोही पनि गरिब र भ्रष्टाचारी थिएनन्। अहिलेका राम्रा कपडाभन्दा ती कपडाहरू स्वास्थ्यका लागि सर्वोत्तम थिए। तामाको भाँडामा पकाएर खाएसम्म, पानीका मुहानहरू फोहर नभएसम्म, बालीनालीमा रासायनिक मलको प्रयोग नहुँदासम्म नदीहरू दूषित नबन्दासम्म मानिसहरू फूर्तिला, रसिला र तेजीला थिए। गाउँगाउँमा तामा, फलाम आदिको खानी थियो। आफ्नै प्रविधिबाट उत्खनन् गरी प्रयोगमा ल्याइन्थ्यो।

विकासले मानिसलाई हित गर्नुपर्ने हो, सन्तुष्ट र आनन्दित तुल्याउनुपर्ने हो अहिले त्यस्तो देखिँदैन। गाई, भैँसीको दूध कसैको घरमा टुट्दैनथ्यो। दही, मही, घ्यू हरेक परिवारमा हुन्थ्यो। प्रत्येकको घरमा गाई, भैसी, भेंडा, बाखा प्रशस्त हुन्थे। देख्दैमा खाई लाग्दा, रहर लाग्दा थिए। तिनीहरूका साना बच्चाबच्चीहरू उफ्रेको, खेलेको, दौडेको देख्दा बडो आनन्द लाग्दथ्यो। भेडाको ऊन चैत र कार्तिक महिनामा काट्ने चलन थियो। प्रत्येक घरमा तान बुनिन्थ्यो। तान नहुनेले भेडाको ऊन दिन्थे एक पटकको ऊन आफूलाई आवश्यक पर्ने राडी पाखी बनाएर लिन्थे, अर्को पटकको तानवालालाई दिने चलन थियो। यसले गर्दा जीवनयापन गर्न निकै सहज हुन्थ्यो।

अहिले एक दिन नेपाल बन्द भयो, विजुली आएन भने मानिसहरूको घरमा चुलो बल्दैन। त्यसलाई कसरी विकास भन्ने र ? अहिलेको जस्तो भौतिक सुविधा एवं बाल्यकालको जस्तो असल संस्कृति, वातावरण, समाज, मूल्यमान्यता भई दिएको भए कति राम्रो हुन्थ्यो ? घरघरै जस्तो माहुरी पालिन्थ्यो। मेवा, केरा, सुन्तला, अमिलोलगायतका फलफूलहरू प्रशस्त पाइन्थे। एक्लै खाने परम्परा थिएन। एउटाले अर्कालाई दिने, बाँडेर खाने, दिन पाउँदा खुशी हुने संस्कृति थियो। मेरो बुबाले बारम्बार भन्नुहुन्थ्यो अरुले खाए बास्ना आउँछ, आफूले खाए गनाउँछ। अरुलाई दिन कसैले कञ्जुस्याँई गर्दैनथे। गाउँमा वैभव थियो, लक्ष्मीको बास थियो, सहकालको निवास थियो अझ भर्ती राम राज्य भनेको यही हो कि जस्तो लाग्थ्यो।

एउटै मानिसको कम्तीमा दुई चार हल गोरु हुन्थे। अहिले पाटे गोरु (एउटा घरको मानिसले एउटा र अर्को घरको मानिसले एउटा गोरु गरी हल बनाउने चलन) गरेको देख्दा आश्चर्य लाग्छ। हाम्रो गाउँमा ब्राह्मण जाति थिएनन्। विभिन्न थरका मगरहरू, क्षेत्री, दमाई, कामी र केही अन्य जातका मानिसहरू असाध्यै मिलेर बस्दथे। एउटा जातिले अर्को जातिलाई सम्मान र आदर गर्दथे। उमेरका आधारमा एक जातले अर्को जातलाई नाता लगाएर बोलाउने चलन थियो। बालककालका केही घटना अहिले पनि सम्झन्छु। एक पटक साथीहरू मिलेर खेल्दै थियौँ। फाल्गुनको महिना थियो। यत्तिकैमा एक जना मानिस हाम्रै नजिकबाट गयो। मैले साथीहरूलाई 'त्यो मानिस को हो ?" भनेर सोधें उनीहरूले गुमाने दमाई हो भने। मैले अरु साथीको लहैलहैमा लागेर ए गुमाने। दमाई' भनेँ।

उनीले मलाई गम्भीर भएर हेरे अनि आफ्नो बाटो लागे। भोलिपल्ट बिहानै गुमाने दमाई हाम्रो आँगनमा आइपुगे। बाजेलाई 'जेदो' भनी अभिवादन गरेपछि चित्त दुःखाएर रोए म छक्क परेर हेरिरहें। बाजेले गुमाने दमाईलाई रुनुको कारण सोध्नुभयो। उनले मलाई देखाउँदै भने तपाईको नातिले मलाई हिजो गुमाने दमाई भन्यो बाजेले मलाई सम्झाउँदै र केही हप्काउँदै भन्नुभयो मेरो भाइ भएको हुनाले पो यसलाई गुमाने भन्दछु, ठूलो मानिसलाई नाम काडेर बोलाउन हुँदैन। तैंले बाजे भनेर बोलाउनुपर्छ, अबदेखि आफूभन्दा जेठो र कान्छोलाई नाता लगाएर बोलएस्।'

यो घटनाले मेरो मनमा असाध्यै गहिरो प्रभाव पायो। त्यसपछि आफूभन्दा ठूला मानिसलाई उमेर आदि विचार गरी बोलाउने वा सम्बोधन गर्ने काम गर्न थालें। साथीहरूका कारण एवं बालवुद्धिले गर्दा म यस्तो गर्न पुगेको थिएँ। बाजेको संगत एवं मेरो स्वभावको परिणामले होला मेरा उमेरका साथीहरू असाध्यै कम थिए। खेल्न पनि कम जान्थेँ। बाजेसँग अधिकांश समय बित्दथ्यो। अहिलेको जस्तो विभिन्न खेल र त्यसका सामग्रीहरू त्यतिबेला उपलब्ध थिएनन्।


हामी हिन्दू हौँ


बाजेले मलाई गाली गरेको थाहा छैन तर सचेत भने गराउनुहुन्थ्यो। गाली नगर्नका केही कारणहरू मलाई पनि थाहा छ। म ५/६ वर्षको हुँदा एक दिन नरबहादुर ओली (ज्योतिष) हाम्रो घरमा आउनुभएको थियो। उहाँले मलाई निकै निहालेर हेर्नुभयो। उहाँको मनमा के आएछ कुन्नी ? बाजेलाई भन्नुभएको थियो तपाईले नातिलाई केही नभन्नु।' केही नभन्नुको अर्थ मलाई स्वतन्त्रता दिनु वा स्वविवेकले कार्य गर्न दिनु भन्न खोज्नुभएको हो कि जस्तो लाग्छ। यही शोभाराम घर्तीमगरले मेरो बाजेलाई भन्नुभएको थियो। अर्कोतर्फ म जेठो नाति, यही कारणले मलाई स्वतन्त्रता थियो। बाजेसँग बस्दा मैले धेरै परिस्थिति र वातावरण बुझ्न, देखन र अनुभव गर्न पाएँ।

गाऊँ घरमा आफूभन्दा ठूलालाई जुनसुकै जातको भए पनि आदरभावले बोलाउने सम्बोधन गर्ने परम्परा थियो। बुबाको उमेर सरहको भए 'बा', बाजेको उमेर सरहका लागि बाजे, मामाको साथी वा गाउँले भए मामा भनी सम्बोधन गरिन्थ्यो। एक दिन नरवीर सार्कीले बाजेले लगाउने जुत्ता सिलाएर ल्याउनुभयो। नरवीरले मेरा बाजेलाई भाञ्जा भन्दथे; बाजेले मामा भनेर बोलाउनुहुन्थ्यो। बाजेलाई नरवीरले वर्षको एकजोर जुत्ता सिलाएर ल्याइदिनुहुन्थ्यो। नरवीर गएपछि मैले बाजेलाई सोधे बाजे। नरवीरलाई किन मामा भन्नुभएको ?"

बाजेले भन्नुभयो 'गाउँघरमा मिलेर बस्नुपर्छ भने अरुलाई सम्मान गर्नुपर्छ। तैले अरुलाई सम्मान गरिस् भने पो तँलाई पनि अरुले सम्मान गर्दछन्। नरवीरको घर मेरो मामली गाऊँमा पर्छ, त्यसैले म उनलाई मामा भन्दछु।'

बाजेले भनेका कुरा अहिले पनि मेरो हृदयमा अमिट छाप बनेर रहेको छ। त्यो आदत, त्यो संस्कार, त्यो परम्परालाई मैले निरन्तरता दिने प्रयास गरेको छु। यसले समाजलाई एकाकार बनाउन ठूलो सहयोग गर्दोरहेछ भन्ने विषयलाई आफैँले अनुभूत गरेको छु। यही भावलाई बुझेर पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारी भनेका रहेछन्। एउटा जातविना अर्काको अस्तित्त्व र भूमिका रहँदैन। दमाईले लुगा सिलाई दिने, कामीले कुट्टो, कोदालो, हँसिया आदि बनाइदिने, सार्कीले जुत्ता, नारा आदि बनाउने, ब्राह्मणले पूजापाठ र अन्य कर्म गरिदिने हुनाले त समाजले अहिलेसम्म जीवन पाएको छ। बाजे बराजुहरूले स्थापना गरेको नाता पछिल्लो पुस्तासम्म निरन्तर चलिरहन्थ्यो। मभन्दा ३१ पुस्ता पहिले हाम्रा पुर्खा 'गरम्पु' र विष्टका पुर्खा 'जगु'ले मित लगाएका थिए रे। यही नाता अहिलेसम्म जीवित छ। मेरो गाउँमा मगर र विष्टमा अहिले पनि उस्तै मित्रताको व्यवहार छ।

गाउँमा जसको घरमा सत्यनारायण आदिको पूजा लगाउँदा पनि सबैलाई निम्ता गरिन्थ्यो। गाउँका हरेक घरबाट एक घरी केरा र एक ठेकी दही लगी दिने चलन थियो। केही न केही लिएर जाने रीति थियो। अनुष्ठान सकिएपछि भक्तहरूलाई प्रसाद बाँड्न फलफूलको कमी हुँदैनथ्यो। प्रत्येक पण्डितजीलाई ठूलो एवं राम्रो केराको घरी, दहीको ठेकी रोजाएर दिने चलन थियो। पण्डितजीलाई घरसम्म नै कर्ताले सम्पूर्ण उपहार, दानदक्षिणा पुऱ्याइदिन्थे। कथा, पूजा, रुद्रीपाठ आदिमा पाँच जनासम्म ब्राह्मण आउँथे। पण्डितजीले शास्त्रको विधानलाई राम्रोसँग पालन गर्न लगाउँथे। यजमानले पनि त्यसलाई शिरोधार्य गर्दथे। कर्म गर्दा प्रशस्त समय खर्च हुन्थ्यो। अहिले दक्षिणा र समय तोकेर अनुष्ठान गरेको देख्दा दुःख लाग्छ। दुवै पक्षमा विश्वास भएकाले उनीहरूमा आत्मीयता, सहृदयता थियो, तब पो गाऊँ स्वर्गजस्तो थियो, मानिसहरू देवीदेवताजस्ता थिए, संस्कार र संस्कृति मौलाएको थियो। हरेक परिवारले अतिथिहरूलाई सत्कार गर्न पाउनुलाई अहो भाग्य सम्झन्थे। ब्राह्मण, क्षत्रीहरू पाहुना आए भने आफैँ पकाएर खान्थे। उनीहरूलाई चाहिने सामग्री अड्कलेर दिने चलन थिएन। घिऊ दिनुपन्यो भने हर्पे नै अगाडि राखिदिन्थे। दूध, दहीमा पनि यस्तै नियम थियो। अहिले होटल, लज, रेष्टुरेन्ट आदिको विकासले यी कार्यहरू एकादेशका कथा बन्न पुगे। अहिले गाउँमा पुग्दा कुनै नयाँ संसारमा आएको जस्तो लाग्छ।


पूर्वमन्त्रीका दशा


विरामी पर्दा, आफूले नसक्दा पनि गाउँलेको प्रशस्त सहयोग र साथ पाइन्थ्यो। छोरी, बुहारीहरू सुत्केरी हुँदा नातापाताका मानिसहरू अनिवार्य भेट्न जानुपर्दथ्यो। माइती पक्षका प्रत्येक परिवारले कुखरा, तेल, चामल, मसलाका साथसाथै काँचो बेसारसम्म पनि लगिदिन्थे। सुत्केरी हुँदा घरमा अन्नपात, माछामासु, घ्यूतेल छैन भनेर डराउनुपर्दैनथ्यो। ठूला बुबा, कान्छो बुबाका छोराहरूले समेत सुत्केरीलाई खुवाउन सम्पूर्ण सामान पुयाइदिन्थे। घरतर्फका दाजु, भाइ वा आफन्तले त लगिदिनु स्वाभाविकै हो। यसले गर्दा कोही पनि आर्थिकभार र चपेटामा पर्दैनथ्यो। सुत्केरीहरूको स्याहार संभार त्यतिबेलाको समयमा पनि उच्च सर्तकता र प्रेमका साथ गरिन्थ्यो। बच्चा जन्मदा समस्या परेमा गाउँघरका जडीबुटी खुवाइने चलन थियो। स्वस्थ्य चौकी नहुँदा पनि हाम्रा प्रविधि र औषधिले जीवन बचाउने काम गरेका थिए। संयुक्त परिवारमा बस्ने हुनाले सुत्केरीलाई निकै सजिलो हुन्थ्यो। घर, परिवार, आफन्त र गाउँलेहरुको उपस्थितिले सेवामा कमी हुने मौका थिएन। एकल परिवारमा रूपान्तरित हुँदै जाने क्रममा यो परम्परा तोडिन पुगेको जस्तो देखिन्छ।

म सानो छँदा मानिसहरूले व्यापारका लागि नभई व्यक्तिगत प्रयोजनका लागि उत्पादन गर्दथे। अन्न, पशुपक्षी आदि एक आपसमा सौटेर आफ्ना आवश्यकता पुरा गर्दथे। केही मानिसहरूले त्यतिवेला घिऊ भारीका भारी बनाएर बुटवलसम्म बेच्दथे अनि आफूलाई चाहिने कपडा, जुन र अन्य आवश्यक सामग्रीहरू ल्याउँथे। गाऊँका दाजु, काका, ठूलाबा आदि घिऊ बेच्नका लागि कोइलाबास, नेपालगञ्ज, बहादुरगन्जसम्म पुगेको मलाई थाहा छ।

गाऊँका केही मानिसहरू भारतीय आर्मी, ब्रिटिस आर्मी एवं भारतमा अन्य कामका लागि जाने गर्दथे। हाम्रो परम्परा आर्मी, अभ ब्रिटिश आर्मीमा भर्ना हुने थियो। मलाई त्यता लाग्ने अवसर परिवारबाट नै मिलेन, मनमा पनि रहर जागेन। हाम्रा केही जिजुबाजेहरू प्रथम विश्व युद्ध लड्न इटलीसम्म गएका थिए रे। उहाँहरूलाई महिनाको ३ रुपियाँ दिने सर्तमा गल्लाहरूले लगेको कुरा बाजेले सुनाउनुहुन्थ्यो। उहाँहरू युद्धबाट फर्कनुभएन। त्यसको बदलामा उहाँहरूको बुबा, आमा आदिलाई पेन्सन बापत केही रकम दिइन्थ्यो। दोस्रो विश्वयुद्ध लड्न काकाहरू जानुभएको थियो। उहाँहरू पनि फर्कनुभएन छ। उहाँहरूलाई महिनाको ११ रुपियाँ तलब दिने सर्त गरिएको थियो रे। तीन पुस्तासम्मका पुर्खाहरू विश्वयुद्धमा सहभागी बनेका थिए। प्रथम विश्वयुद्धमा जिजुबाजेका भाइ विलुभयो। दोस्रो विश्वयुद्धमा मेरा माहिलाबाजे तहवीरका छोरा अनाराम, काहिलाबाजेका छोरा धनवीर वर्माको युद्धबाट फर्किएनन्। यही कारण हामीलाई सेनामा भर्ती हुन पठाएनन्।

फरक फरक घरमा बसे पनि गाउँका हरेक सदस्यहरूबीच एउटै परिवारजस्तो थियो। ठूलाबडा र अग्रजले भनेको मान्ने, उपदेश सुन्ने असाध्यै राम्रो परम्परा थियो। आर्थिक रूपमा मात्रै होइन सम्बन्ध पनि सम्पन्न र वैभवशाली थियो। हाम्रो क्षेत्रमा बसोबासको परम्परा पनि रमाइलो र समावेशी खालको छ। हामी अहिले बसेको ठाउँमा भारतको बलरामपुरबाट आएका याम गिरी र राम गिरी दुई दाजुभाइ आएर बसेका थिए रे ग्राम गिरी विवाहित र राम गिरी अविवाहित थिए। उनीहरूभन्दा पहिले त्यहाँ चार घर कामी बस्दथे रे। त्यसपछि हाम्रा पुर्खा र मावलीहरू बसाई सरेर आएको चर्चा छ। यसरी त्यस क्षेत्रमा गिरी, कामी, मगर गरी आठ घरबाट बस्तीको श्रीगणेश भएको थियो। उनीहरू सनातन धर्म मान्ने हुनाले आफ्नो कर्मलाई निरन्तरता दिँदै मिझिङको वडा नं. ५ बाँठापँधेरानजिकै देवीमन्दिर स्थापना गरेका थिए रे। यो मन्दिर यद्यपि छँदैछ। गजुलराज्यका राजाले पनि चैते दशैंमा यहाँ बलि चढाउँथे रे। राजाले बलि चढाएपछि अरुको पालो आउँथ्यो। जनताले राजदरबारबाट बलि आइपुग्नु अगावै देवीलाई बलि चढाउन थालेछन्। यो थाहा पाएपछि राजाले बलि पठाउन छोडेछन्। अहिले चाडपर्व र तिथि विशेषमा देवीको पूजा गर्ने, भाकलहरू बुझाउने गरिन्छ। हाम्रो अरु नै संस्कृति थियो भने त देवीकै मन्दिर किन निर्माण हुन्थ्यो र ?

पछिल्लो समयमा रोल्पा जिल्लामा भित्रिएको नराम्रो रोग वा परिवर्तन भनेको परनिर्भरता हो। पहिले नुन लिन १७/१८ दिन लगाएर कोइलावास, बहादुरगञ्ज जानुपर्थ्यो। त्यो बाहेक आफूलाई आवश्यक पर्ने वस्तु तथा सेवाहरू गाउँमा नै उत्पादन गरिन्थ्यो। अरुलाई दिएर खान पाइयोस्, परमार्थलाई केही गर्नुपर्छ, अन्याय गर्न हुँदैन भन्नेहरूको संख्या अत्यधिक थियो, अहिले त्यो असाध्यै कम देख्न पाइन्छ। मानिसहरू उत्पादन गर्न भन्दा पनि किन्नका लागि उत्साही भएका, जमिन बाँझो राखेर विदेशबाट आउला, जागिरबाट चलाउँला भन्ने प्रवृत्ति निकै बढेको छ। पहिले यो देख्न त के सुन्न पनि पाइदैनथ्यो। किनेर खाने मानिसलाई राम्रो मानिदैनथ्यो। हामी त्यतिबेला निकै धनी थियौँ, परिश्रमी र उदार थियौं। पछिल्लो समयमा यी सबै गौरव, वैभव, आत्मीयता आदिलाई अवसानमा पुयाएको हो कि जस्तो अनुभव गर्दैछु। अहिले परिवर्तन भएको छ तर सन्तोष, शान्ति, सद्भाव, सरलता, संस्कृतिमा बिल्कुलै कमी आएको देखिन्छ। राजनीतिका नाममा, जातका नाममा, धर्मका नाममा, मानिसहरूबीच विभेद छ। यी सबैले मानिसलाई जोड्ने, समाजलाई एकाकार गर्न छोडेको देख्दा दुःख लाग्छ। जनचेतनाको जसरी विकास भएको छ, भौतिक उन्नति जुन रूपमा भएको छ, त्यसले मानिसमा आनन्द ल्याउन आवश्यक छ। रोल्पाबासीमा त्यही एकता र आत्मीयता रहोस्, जसलाई बाल्यकालमा मेरा आँखाले देखेका थिए, पुर्खाहरूले सिकाएका थिए।

पुराना राजनीतिज्ञ घर्तीमगरको पुस्तक 'ऐतिहासिक घटनाक्रम भाग–१'बाट

प्रकाशित मिति: : 2022-01-19 18:56:00

प्रतिकृया दिनुहोस्