एमालेका तन्नेरीभन्दा जोशिला वयोवृद्ध नेता प्रेमबहादुर [भिडियाे]

वयोवृध्द नेता प्रेमबहादुर राना मगर गएकाे माघदेखि ७८ वर्षका भए तर उनकाे सक्रियता तन्नेरी वयका नेता–कार्यकर्ताभन्दा कम छैन । एउटा हिराे स्पिलेण्डर मोटरसाइकल चढेर बर्दिबास नगरपालिकाका गाउँहरू दिनहुँ चहार्नु उनको दिनचर्या हो । दिनहुँ गाउँ चहार्नुकाे गुह्य कारण हाे - नेकपा एमालेकाे संगठन विस्तार गर्नु।

महाेत्तरीकाे बर्दिवास- ८ का वयोवृध्द नेता राना मगरलाई यतिबेला एमालेकाे गाउँ र टाेल कमिटीहरू गठनकाे चटाराे छ। अर्को महिना हुने एमालेको महाधिवेशनअघि नै बर्दिबासका सबै गाउँ र टाेलहरूमा सङ्गठन निर्माण र विस्तारलाई फत्ते गर्न लागिपरेका छन् उनी।

गत महिना ललितपुरकाे गाेदावारीमा सम्पन्न एमालेकाे प्रथम विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी बनेर फर्किएपछि उनी एमालेकाे संगठन विस्तारमा लागेका हुन्।

कम्युनिष्ट आन्दाेलनसँगकाे उनकाे साइनाे निकै पुरानाे छ। शायद् एमालेमा थोरै मात्र नेता हाेलान् उनीजत्ति पुराना । २०२६ सालबाट झापा आन्दाेलनबाट प्रभावित भएर किसान आन्दाेलनमा लागेका थिए उनी ।

२०३६ सालमा ऋषि देवकाेटा' आजाद' बाट कम्युनिष्ट पार्टीकाे सदस्यता पाएका थिए रानाले। माेहनविक्रम सिंह, निर्मल लामा, रुपलाल विश्वकर्मा, जयगाेविन्द साहसँगै  उनी कम्युनिष्ट आन्दोलनमा  सहभागी भएका थिए।

२०३६ सालमा प्रहरीसँग भिडन्त हुँदा रानामाथि प्रहरीले गाेली चलाएकाे थियाे तर अघिल्तिर रहेका उनका भतिजा कृष्णबहादुर रानाले आफ्नाे छातीमा गाेली थापे र उनलाई बचाएका थिए। प्रहरीकाे गाेली लागेर उनका भतिजा कृष्णकाे घटनास्थलमै मृत्यु भएकाे थियाे। उनी भने भाग्न सफल भएका थिए।

नेकपा (चौथो महाधिवेशन) कम्युनिष्ट पार्टीहरू टुक्रैटुक्रा बनेपछि उनी माेहन वैद्य र प्रचण्डतिर लागे। प्रचण्डकाे नेतृत्वमा भएकाे १० वर्षीय सशस्त्र आन्दाेलनमा हाेमिए।

०६९ सालमा वैद्य नेतृत्वमा माओवादी फुट्यो । राना पनि बादल, विप्लवसमेत रहेको वैद्य नेतृत्वकाे नेकपामा लागे– उनी । वैद्यसँग विप्लव अलग भएपछि उनी विप्लवसँग लागे । 

विप्लव शान्तपूर्ण राजनीतिमा आएपछि उनी अहिले बादलसँगै एमाले बनेका छन्। उनले भने, 'सबै क्रान्तिकारीहरू एमालेमा गाेलबध्द हुनेक्रममा म पनि एमालेमा लागेँ । अब सक्रिय राजनीतिमा फर्किएकाे छु।' एमाले अध्यक्ष केपी शर्मा ओलीकाे राष्ट्रवादी अडान र देश विकासकाे दृढ आकांक्षाले प्रभावित भएर एमाले बनेकाे उनकाे तर्क छ।

उनलाई एमाले भित्र्याउन पहल भने एमाले केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले गरेका हुन्, जो राना मगरसँगै विप्लवको पार्टीमा  थिए । 

बलम्पाकीले भने, '७८ वर्षकाे उमेरमा  पनि एमालेकाे सङ्गठन विस्तारमा उहाँले देखाएकाे सक्रियता युवा नेता–कार्यकर्तालाई थप उर्जा थपेकाे छ।'

प्रकाशित मिति: : 2021-10-24 12:13:00

प्रतिकृया दिनुहोस्